मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

के देवदासको ‘डोला रे डोला’ छायांकनका बेला माधुरी दीक्षित चार महिनाकी गर्भवती थिइन् ?

आइतबार, १७ जेठ २०८३, १६ : १५
आइतबार, १७ जेठ २०८३

सारांश

  • माधुरी दीक्षितले फिल्म देवदासको 'डोला रे डोला' गीत छायांकनका बेला आफू चार महिनाकी गर्भवती रहेको भन्ने चर्चाको खण्डन गरेकी छन् ।
  • माधुरीले आफ्नो जेठो छोरा अरिनको जन्म सन् २००३ मा भएको र देवदास २००२ मा प्रदर्शन भएकाले उक्त दाबी तथ्यहीन भएको बताइन् ।
  • छायांकनका क्रममा आफू अस्वस्थ भने रहेको तर त्यो गर्भावस्थाका कारण नभएको माधुरीले स्पष्ट पारिन् ।

चर्चित बलिउड अभिनेत्री माधुरी दीक्षितले फिल्म देवदास को लोकप्रिय गीत ‘डोला रे डोला’ को छायांकनका क्रममा आफू चार महिनाकी गर्भवती रहेको भन्ने चर्चालाई अस्वीकार गरेकी छन् ।

पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा फैलिएको उक्त दाबीबारे उनले पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी हुन् ।

हालै दिएको एक अन्तर्वार्तामा माधुरीले आफ्नो जेठो छोरा अरिन नेनेको जन्ममितिलाई आधार बनाउँदै उक्त दाबी तथ्यहीन भएको बताइन् । ‘अरिनको जन्म सन् २००३ मा भएको हो । त्यसैले हिसाब आफैं मिलाउनुहोस्,’ उनले भनिन् ।

माधुरीका अनुसार देवदास सन् २००२ जुलाई १२ मा प्रदर्शनमा आएको थियो भने उनका छोरा अरिनको जन्म सन् २००३ मार्च १७ मा भएको थियो । यस आधारमा डोला रे डोला गीतको छायांकनका बेला आफू चार महिनाकी गर्भवती रहेको दाबी मिल्न नसक्ने उनले स्पष्ट पारिन् ।

यद्यपि छायांकनका क्रममा आफूलाई स्वास्थ्यसम्बन्धी केही समस्या भएको कुरा भने उनले स्वीकार गरिन् । 

‘म धेरै यात्रा गरिरहेकी थिएँ । लगातार यता–उता आवतजावत गर्नुपथ्र्यो। अधिकांश छायांकन राति हुन्थे । त्यसैले काम निकै कठिन थियो । म अलि अस्वस्थ थिएँ, तर गर्भावस्थाका कारण भने होइन,’ उनले भनिन् ।

यो विवाद दिवंगत नृत्य निर्देशक सरोज खानकी पूर्व सहकर्मी रुबिना खानले दिएको एक अन्तर्वार्तापछि सुरु भएको थियो । उनले युट्युब च्यानलमा बोल्दै डोला रे डोला गीतको एक दृश्य बारम्बार खिच्नुपरेको र त्यसबेला माधुरी चार महिनाकी गर्भवती भएकाले चक्कर आउने तथा ज्वरोसमेत रहेको दाबी गरेकी थिइन् ।

डोला रे डोला गीतमा माधुरीसँगै ऐश्वर्या रायको पनि अभिनय रहेको छ । गीतमा संगीत ईस्माली डार्बरले दिएका हुन् भने शब्द नुसरत बदरका हुन् । गीतमा स्वर कविता कृष्णमूर्ति, श्रेया घोषल र केकेको रहेको छ ।

संजय लिला भन्सालीद्वारा निर्देशित देवदास साहित्यकार सरद चन्द्र चटोपाध्यायको चर्चित उपन्यासमा आधारित फिल्म हो । फिल्ममा शाहरुक खान मुख्य भूमिकामा देखिएका थिए । आफ्नो समयकै महँगो भारतीय फिल्ममध्ये एक मानिएको देवदासले अन्तर्राष्ट्रिय स्तरमा समेत उल्लेखनीय सफलता हासिल गरेको थियो ।

यसैबीच माधुरी आफ्नो आगामी नेटफ्लिक्स फिल्म ‘मा बेहन’को प्रचारमा व्यस्त छिन् । निर्देशक सुरेश त्रिभेनीद्वारा निर्देशित उक्त डार्क कमेडी–थ्रिलरमा तृप्ती दिमरी, रवि किसन लगायतको अभिनय रहेको छ । फिल्म जुन चारमा नेटफ्लिक्समार्फत सार्वजनिक हुने तयारीमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप