मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीकाे अभिव्यक्तिकाे ‘साइड इफेक्ट’

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत : कांग्रेस

‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको दाबी कमजोर बनायो’
आइतबार, १७ जेठ २०८३, २१ : २८
आइतबार, १७ जेठ २०८३

सारांश

  • कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भएको आरोप लगाएको छ ।
  • कांग्रेसले प्रधानमन्त्रीको भनाइले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाउने दाबी गरेको छ ।
  • कांग्रेसले प्रधानमन्त्री शाह तथा सरकारसँग उक्त अभिव्यक्तिबारे संसद् र आम नेपाली जनतासमक्ष तत्काल स्पष्टीकरण दिन माग गरेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसद्‌मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भनाइ भएको आरोप लगाएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाउने दाबी गरिएको छ ।

कांग्रेसले नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य तथा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभागमा नेपालको दाबीलाई कमजोर पार्ने गरी प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु दुःखद भएको जनाएको छ । 

विज्ञप्तिमा यस्ता विषयमा सरकार प्रमुखले संसद्मा बोल्ने प्रत्येक शब्दलाई राज्यको आधिकारिक धारणा मानिने भएकाले प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिएको छ ।

त्यसैगरी, प्रधानमन्त्रीले सीमा समस्याका विषयमा बेलायतसँग पनि संवाद भइरहेको दाबी गरेको विषयलाई कांग्रेसले थप आपत्तिजनक र भ्रमपूर्ण भएको उल्लेख गरेको छ। स्थापित कूटनीतिक संयन्त्र र द्विपक्षीय संवाद प्रक्रियालाई बेवास्ता गर्दै गरिएको यस्तो अभिव्यक्तिले नेपालको अन्तर्राष्ट्रिय छवि र कूटनीतिक विश्वसनीयतामाथि प्रश्न उठाएको कांग्रेसको भनाइ छ ।

विज्ञप्तिमा कांग्रेसले सीमा समस्या ऐतिहासिक तथ्य, सन्धि, प्रमाण तथा कूटनीतिक वार्ताका माध्यमबाट समाधान हुनुपर्ने आफ्नो पुरानै अडान दोहोर्याएको छ। साथै छिमेकी राष्ट्रहरूसँगको आत्मीय र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै आपसी समझदारी र संवादमार्फत विवाद समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले प्रधानमन्त्री शाह तथा सरकारसँग उक्त अभिव्यक्तिबारे संसद् र आम नेपाली जनतासमक्ष तत्काल स्पष्टीकरण दिन माग गर्दै प्रधानमन्त्रीको भनाइप्रति खेद व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप