मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्व दुग्ध दिवस

दुध उत्पादनमा आत्मनिर्भरतातर्फ नेपाल, निर्यात बढाउने तयारी

सोमबार, १८ जेठ २०८३, १३ : ०३
सोमबार, १८ जेठ २०८३

सारांश

  • नेपालले २६औँ विश्व दुग्ध दिवस मनाउँदैछ, जसको नारा 'दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार' रहेको छ ।
  • नेपालमा करिब ३ लाख ८० हजार परिवार दुग्ध उत्पादनमा संलग्न छन् र वार्षिक करिब २८ अर्ब रुपैयाँ ग्रामीण अर्थतन्त्रमा प्रवाह हुन्छ ।
  • नेपाल दुध उत्पादनमा बिस्तारै सुधार गर्दैछ र दुग्धजन्य पदार्थको निर्यात बढाउने प्रयास गरिरहेको छ ।

काठमाडौँ । ‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज नेपालभर विभिन्न कार्यक्रम गरी २६औँ विश्व दुग्ध दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ बाट विश्वभर यो दिवस मनाउन सुरु गरेकोमा नेपालले भने सन् २०११ बाट औपचारिक रूपमा यसलाई निरन्तरता दिँदै आएको छ ।

  • ३ लाख ८० हजार परिवार दुध उत्पादनमा

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको भूमिका महत्त्वपूर्ण छ, जसमा पशुपालन क्षेत्रले मात्रै करिब २५ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । दुग्ध व्यवसायलाई नेपालको ग्रामीण अर्थतन्त्रको क्यास फ्लो सिस्टम (नगद प्रवाह प्रणाली) मानिन्छ ।

हाल नेपालका करिब ३ लाख ८० हजार परिवार प्रत्यक्ष रूपमा दुध उत्पादनमा संलग्न रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । यो क्षेत्रले ग्रामीण रोजगारी सिर्जना मात्र नगरी सहरको पुँजीलाई गाउँसम्म पुर्‍याउने पुलको कामसमेत गरेको डेरी एसोसिएसन अफ नेपालको तर्क छ । एसोसिएसनका अनुसार वार्षिक करिब २८ अर्ब रुपैयाँ सहरबाट ग्रामीण क्षेत्रमा दुधको खरिद–बिक्री मार्फत प्रवाह हुने गरेको छ ।

  • दुध उत्पादनमा बिस्तारै सुधार

पछिल्लो पाँच वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा दुध उत्पादनको दरमा क्रमिक सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/८२ को प्रक्षेपित विवरणअनुसार नेपालमा दुध दिने गाईको सङ्ख्या १० लाख ५५ हजार ८२८ र दुध दिने भैँसीको सङ्ख्या ९ लाख ६५ हजार ९२० पुगेको छ ।

उत्पादनतर्फ आव २०८१/८२ मा गाईको दुध १३ लाख २ हजार ९४ मेट्रिक टन र भैँसीको दुध १४ लाख १६ हजार ८३ मेट्रिक टन गरी कुल २७ लाख १८ हजार १७७ मेट्रिक टन दुध उत्पादन भएको छ । आव २०७७/७८ मा कुल उत्पादन २४ लाख ७९ हजार ८९९ मेट्रिक टन रहेकोमा हालको उत्पादन क्षमताले औसत वार्षिक ३.४ प्रतिशतको वृद्धि दर देखाएको छ । प्रतिबेत दुध उत्पादनको हिसाबले गाईले औसत १ हजार २३३ लिटर र भैँसीले १ हजार ४६६ लिटर दुध दिने गरेका छन् ।

  • अनौपचारिक क्षेत्रमै दुधको बजार

राष्ट्रिय दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार नेपालमा उत्पादित कुल दुधको करिब १५ प्रतिशत (११ लाख ३९ हजार लिटर) मात्र औपचारिक क्षेत्र (डेरी उद्योगहरू) ले सङ्कलन गर्ने गरेका छन् भने ३५ प्रतिशत दुध अनौपचारिक क्षेत्रबाट खपत हुने गरेको अनुमान छ ।

दुग्ध विकास बोर्डका अनुसार दुधको विविधीकरण र मौसमी (सिजनल) बचतलाई व्यवस्थापन गर्न नेपालमा धुलो दुध (पाउडर मिल्क) उत्पादनमा पनि वृद्धि भइरहेको छ । हाल विराटनगर, चितवन, पोखरा, शिवपुरी, सूर्योदय, बागमती, सगरमाथा, माता मनकामना र हेटौँडा गरी ९ वटा धुलो दुध कारखानाहरू सञ्चालनमा छन् । वर्ष २०८२ मा यी उद्योगहरूले ४ करोड ९७ लाख ९८ हजार ८६० लिटर दुधलाई प्रशोधन गरी करिब ४ हजार १५० मेट्रिक टन धुलो दुध उत्पादन गरेका छन् ।

  • निर्यातको प्रयास बढ्दै

दुग्धजन्य पदार्थको आयात र निर्यातको अवस्थालाई विश्लेषण गर्दा पछिल्लो चार वर्षमा यस क्षेत्रको कारोबारमा ७१ प्रतिशतले वृद्धि भएको छ । आव २०८१/८२ को तथ्याङ्कअनुसार नेपालले १ लाख ४२ हजार ४८५ (रुपैयाँ हजारमा) बराबरको दुग्धजन्य पदार्थ आयात गर्दा ४६ लाख ३८ हजार ९९१ (रुपैयाँ हजारमा) बराबरको निर्यात गर्न सफल भएको छ, जुन अन्य कृषिजन्य उत्पादनको तुलनामा सन्तोषजनक मानिन्छ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो व्यापारिक पद्धतिमा आमूल परिवर्तन गर्दै बजार विस्तार र निर्यातलाई प्राथमिकता दिने जनाउँदै आएको छ । महाप्रबन्धक डा. शरणकुमार पाण्डे डीडीसीलाई परम्परागत शैलीबाट मुक्त गर्दै आधुनिक र प्रतिस्पर्धी संस्थाको रूपमा विकास गर्ने बताउँछन् ।

‘आन्तरिक बजार विस्तारका लागि डीडीसीले अब उपभोक्ताको रुचि र गुणस्तरलाई मुख्य आधार बनाउने नीति लिएका छौँ । अब बजारमा डीडीसीको हिस्सा बढ्ने र उपभोक्ताको विश्वास थप मजबुत हुने विश्वास लिएका छौँ,’ उनी भन्छन् । जापान, अमेरिका र युरोपेली मुलुकहरूजस्ता नेपालीको बाहुल्य रहेका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ब्रान्डिङ र प्याकेजिङ गरी आफ्ना उत्पादन पठाउने तयारी भइरहेको महाप्रबन्धक पाण्डे बताउँछन् ।

  • दुधमा के पौष्टिक तत्त्व पाइन्छ ?

मानव स्वास्थ्यका लागि दुध एक ‘पूर्ण भोजन’ हो । यसमा पाइने प्रोटिन, ल्याक्टोज, क्याल्सियम र भिटामिन ए, डी, ई, के र बी–१२ ले शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन् । विशेषगरी बालबालिकामा देखिने कुपोषण, पुड्कोपन र कम तौलको समस्या न्यूनीकरण गर्न ‘स्कुल मिल्क प्रोग्राम’ जस्ता अभियानहरू प्रभावकारी देखिएका छन् । १०० ग्राम प्रशोधित दुधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुने भएकाले यसले पोषण सुरक्षामा ठूलो टेवा पुर्‍याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप