टुङ्ग्याइसकेको विषयलाई लिएर चरित्रहत्या गर्न खोजियो : डा. घिमिरे
सारांश
- त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक डा. केदारनाथ घिमिरेले रातोपाटीमा प्रकाशित समाचारको खण्डन गर्दै आफूमाथि लागेका आरोपहरू कानुनी रूपमा पुष्टि नभएको र अख्तियारले समेत टुंग्याइसकेको विषयमा चरित्रहत्या गर्न खोजिएको बताएका छन् ।
- डा. घिमिरेले आफूलाई बौद्धिक चोरीमा दोषी, कालोसूचीमा परेको वा प्राज्ञिक बेइमानी गरेको जस्ता आरोपहरू तथ्यगत रूपमा पुष्टि नभएको र अख्तियारले समेत प्रमाण नपुगेको भनी जानकारी गराइसकेको स्पष्ट पारेका छन् ।
- उनले आफ्नो लामो शैक्षिक योगदानलाई बेवास्ता गरी अपुष्ट व्याख्याका आधारमा चरित्रहत्या हुने गरी सामग्री प्रकाशन गरिएकोमा आपत्ति जनाउँदै प्रकाशित अंश सच्याउन र स्पष्टीकरण समान महत्त्वका साथ प्रकाशित गर्न अनुरोध गरेका छन् ।
काठमाडौँ । रातोपाटी डटकममा प्रकाशित ‘विवादमा त्रिविका उपकुलपतिको रोष्टर : बौद्धिक चोरीका आरोपीदेखि विदेशी नागरिकसम्म समावेश’ शीर्षकको समाचारप्रति त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागका पूर्वप्राध्यापक डा. केदारनाथ घिमिरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन पठाएका छन् ।'
डा. घिमिरेले आफूमाथि लागेका आरोपहरू कानुनी रूपमा पुष्टि नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रमाण नपुगेको भनी टुङ्ग्याइसकेको विषयलाई लिएर चरित्रहत्या गर्न खोजिएको भन्दै स्पष्टीकरण दिएका हुन् ।
यस्तो छ घिमिरेद्वारा पठाइएको खण्डन तथा स्पष्टीकरण :
श्री सम्पादकज्यू,
रातोपाटी डटकम, काठमाडौँ, नेपाल ।
विषय: खण्डन तथा स्पष्टीकरण ।
महोदय,
तपाईंको सञ्चारमाध्यममा प्रकाशित “विवादमा त्रिविका उपकुलपतिको रोष्टर : बौद्धिक चोरीका आरोपीदेखि विदेशी नागरिकसम्म समावेश” शीर्षकको समाचारमा मेरो नाम र प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित विषयवस्तु एकतर्फी, अपूर्ण तथा तथ्यको समुचित परीक्षणबिनै प्रकाशित गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
समाचारमा मलाई ‘बौद्धिक चोरीमा दोषी ठहर भएको’, ‘कालोसूचीमा परेको’ तथा ‘प्राज्ञिक बेइमानी गरेको’ व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ। यस्ता आरोपहरू वर्तमान अवस्थामा कानुनी तथा तथ्यगत रूपमा पुष्टि भएका होइनन्। सम्बन्धित विषयमा विगतमा विभिन्न निकायमा उजुरी तथा प्रश्न उठाइए तापनि त्यसलाई अन्तिम कानुनी सत्यका रूपमा स्थापित गरिएको छैन।
विशेष रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उक्त विषयमा उजुरी परेको अवस्थामा आयोगले अनुसन्धान तथा आवश्यक परीक्षणपश्चात् थप प्रमाणबाट आरोप स्थापित हुन नसकेको जानकारी सम्बन्धित निकायलाई गराइसकेको तथ्य अभिलेखमा विद्यमान छ। त्यसैले आयोगबाट दोषी ठहर नभएको व्यक्तिलाई सार्वजनिक सञ्चारमाध्यममार्फत दोषी सरह चित्रण गर्नु प्राकृतिक न्यायको सिद्धान्त तथा पत्रकारिताको आचारसंहिताविपरीत हुन्छ।
त्यसैगरी, समाचारमा प्रयोग गरिएका ‘बौद्धिक चोरीका आरोपी’, ‘कालोसूचीमा परेका’, ‘गम्भीर नैतिक पतन भएका’ जस्ता निष्कर्षात्मक अभिव्यक्तिहरूले मेरो लामो शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानमूलक योगदानमाथि अनावश्यक आघात पुर्याएको छ। कुनै पनि व्यक्तिलाई सम्बन्धित अदालत वा सक्षम निकायबाट अन्तिम रूपमा दोषी प्रमाणित नभएसम्म दोषीको रूपमा चित्रण गर्नु न्यायसंगत हुँदैन।
मैले त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा दशकौँदेखि पुर्याएको योगदान, अनुसन्धान, प्रकाशन तथा नेतृत्व अनुभवलाई बेवास्ता गर्दै अपुष्ट तथा विवादित व्याख्याका आधारमा मेरो चरित्रहत्या हुने गरी सामग्री प्रकाशन गरिएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु।
अतः तपाईंहरूको सञ्चारमाध्यमलाई मसँग उपलब्ध सम्पूर्ण प्रमाण, आधिकारिक पत्राचार, अनुसन्धानसम्बन्धी अभिलेख तथा सम्बन्धित कागजातहरूको अध्ययन गर्न विनम्र अनुरोध गर्दछु। सत्यतथ्यको निष्पक्ष मूल्याङ्कनका लागि आवश्यक सम्पूर्ण कागजात यहाँ उपलब्ध गराएको जानकारी पनि गराउन चाहन्छु।
साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकारिताको निष्पक्षता, सन्तुलन र तथ्यपरकताको मर्मअनुसार निम्न विषयमा हार्दिक अनुरोध गर्दछु:
१. प्रकाशित समाचारमा मेरो सम्बन्धमा प्रस्तुत गरिएका अपुष्ट, एकतर्फी तथा भ्रामक अंशहरू सच्याउन,
२. मेरो यस खण्डन तथा स्पष्टीकरणलाई समान महत्त्वका साथ प्रकाशित गर्न,
३. भविष्यमा यस्ता विषयमा सम्बन्धित पक्षको धारणा नलिई निष्कर्षात्मक सामग्री प्रकाशन नगर्न ।
अन्यथा मेरो व्यक्तिगत प्रतिष्ठा, व्यावसायिक छवि तथा संवैधानिक अधिकारमा पुगेको क्षतिका सम्बन्धमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्न बाध्य हुने जानकारी गराउन चाहन्छु। धन्यवाद।
भवदीय,
डा. केदारनाथ घिमिरे
पूर्व प्राध्यापक, रसायनशास्त्र केन्द्रीय विभाग
त्रिभुवन विश्वविद्यालय
मिति: २०८३/०२/१९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण