सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलभित्रका होटल र क्याफेमाथि कारबाही, १२ लाख जरिवानासहित गुणस्तरहीन खाद्यान्न नष्ट

मङ्गलबार, १९ जेठ २०८३, १६ : २५
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित चार होटल तथा रेस्टुरेन्टलाई गुणस्तरहीन खाद्यान्न बिक्री गरेको आरोपमा जनही ३ लाखका दरले १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
  • साई किरण इन्टरप्राइजेज, टी-थ्री थकाली ग्रुप प्रा.लि., ओरिएन्टल होटल्स प्रा.लि. र सान इन्टरप्राइजेजले अधिकतम खुद्रा मूल्य भन्दा बढी मूल्य लिएर उपभोक्ता ठगी गरेको पाइएको छ ।
  • ओरिएन्टल होटल्स प्रा.लि.को गुणस्तरहीन तेल र समोसा तथा टी-थ्री थकाली ग्रुपको म्याद नाघेका खाद्य रङ र फ्लेभर नष्ट गरिएको छ ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टहरूमाथि  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ । विभागले गरेको आकस्मिक अनुगमनका क्रममा कैफियत भेटिएपछि चारवटा व्यावसायिक फर्मलाई जनही ३ लाखका दरले कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

प्रधानमन्त्री कार्यालय र  विभागको संयुक्त टोलीले विमानस्थल भित्रका खाद्य पसलहरूको निरीक्षण गरेको थियो । अनुगमनका क्रममा साई किरण इन्टरप्राइजेज, टी-थ्री थकाली ग्रुप प्रा.लि., ओरिएन्टल होटल्स प्रा.लि. र सान इन्टरप्राइजेजले अधिकतम खुद्रा मूल्य भन्दा बढी मूल्य लिएर उपभोक्ता ठगी गरेको पाइएको विभागले जनाएको छ । वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती प्रत्येक फर्मलाई ३/३ लाख रुपैयाँ तत्काल जरिवाना गरेको छ ।
 ओरिएन्टल होटल्स प्रा.लि. को भान्सामा प्रयोग भइरहेको फ्राइङ तेलको गुणस्तर  मापदण्ड विपरित पाइएकाले ३ लिटर तेल र सोही तेलमा पकाइँदै गरेको २ केजी समोसा नष्ट गरिएको छ । साथै, टी-थ्री थकाली ग्रुपको भण्डार कक्षमा म्याद नाघेका खाद्य रङ र फ्लेभरका ४ बट्टा फेला परेपछि ती सामग्रीहरू समेत नष्ट गरिएको विभागले जनाएको छ ।

त्यसैगरी, होटल सोनिग र होराइजन क्याफेमा पनि सरसफाइ र लेबल सम्बन्धी समस्या भेटिएको छ । विभागले यी दुवै स्थानबाट 'बटर मफिन' र बेकरीजन्य वस्तुका नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको छ । होराइजन क्याफेले खाद्य वस्तुमा अनिवार्य लेबल नलगाई बिक्री गरेको पाइएकाले अनिवार्य लेबल राख्न निर्देशन दिइएको छ ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले कतिपय होटलहरूको भान्सामा डस्टबिन खुला छाडिएको, सरसफाइ सन्तोषजनक नरहेको र खाद्य वस्तुहरू छोपेर नराखिएको पाइएको भनत्दै ती व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न निर्देशन दिँदै आगामी दिनमा सुधार नभए थप कारबाही गर्ने चेतावनी दिइएको जानकारी गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप