बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विश्वकपको पहिलो प्रशिक्षण सत्र : मेस्सीले एक्लै गरे अभ्यास

बुधबार, २० जेठ २०८३, १२ : ४१
बुधबार, २० जेठ २०८३

सारांश

  • विश्वकपअघि बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकानबाट पुनःस्थापना भइरहेका लियोनल मेसीले अर्जेन्टिनाको प्रशिक्षण शिविरमा पहिलो अभ्यास सत्रमा एक्लै प्रशिक्षण गरेका छन् ।
  • हालको विश्वकप विजेता अर्जेन्टिनी फुटबल टिम यस सातादेखि विश्वकप तयारीका लागि अमेरिकामा भेला भएको छ ।
  • मेसी मे २४ देखि बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानको समस्याबाट गुज्रिरहेका छन्, तर अल्जेरिया विरुद्धको पहिलो खेलमा मैदान उत्रन उनी तयार हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ । विश्वकपअघि बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकानबाट पुनःस्थापना भइरहेका लियोनल मेसीले अमेरिकामा रहेको अर्जेन्टिनाको प्रशिक्षण शिविरमा भएको टोलीको पहिलो अभ्यास सत्रमा एक्लै प्रशिक्षण गरेका छन् ।

हालको विश्वकप विजेता अर्जेन्टिनी फुटबल टिम यस सातादेखि विश्वकप तयारीका लागि अमेरिकामा भेला भएको छ । टोलीले सोमबार अमेरिकाको क्यानसस सिटीमा प्रतियोगिताअघिको पहिलो प्रशिक्षण सत्र सम्पन्न गरेको थियो ।

इन्टर मियामीका कप्तान मेसी मे २४ देखि बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानको समस्याबाट गुज्रिरहेका छन् । यद्यपि, जुन १६ मा क्यान्सस सिटीमै हुने अर्जेन्टिनाको पहिलो खेलमा अल्जेरिया विरुद्ध मैदान उत्रन उनी तयार हुने अपेक्षा गरिएको छ ।

अर्जेन्टिनाको फुटबल सङ्घले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सामान्य चोटपटक र शारीरिक समस्याबाट गुज्रिरहेका खेलाडीहरूले फिजियोथेरापी टोलीसँग मैदानमा विशेष अभ्यास जारी राखेका छन् र उनीहरूको अवस्थामा सकारात्मक सुधार देखिएको छ ।’

विश्व वरीयतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले विश्वकपअघि अन्तिम तयारी खेल जुन ९ आइसल्याण्ड विरुद्ध खेल्नेछ ।

दुई पटकका एमएलएस उत्कृष्ट खेलाडी (एमभीपी) तथा आठ पटकका बेलोन डि’योर विजेता मेस्सी आफ्नो कीर्तिमानी छैटौँ विश्वकप खेल्दैछन् । सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता उनी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै खेल (१९८) खेल्ने तथा सर्वाधिक गोल (११६) गर्ने खेलाडी बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप