बेवास्तामा परेको युवा पुस्ता
सारांश
- नेपालका हजारौँ घरपरिवारले युवापुस्तामा बढ्दो तनाव, चिन्ता, निराशा र लागूपदार्थको दुर्व्यसनको समस्या भोगिरहेका छन् ।
- किशोरावस्था जीवनको संवेदनशील अवस्था हो, जसमा परिवारको भावनात्मक सुरक्षा र अपनत्वको कमीले युवाहरू गलत संगतमा लाग्न सक्छन् ।
- सरकारी तथ्याङ्क अनुसार नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या करिब एक लाख ३० हजार पुगेको छ र यो संख्या प्रतिवर्ष ११.३६ प्रतिशतले बढ्दै छ ।
आज नेपालका हजारौँ घरपरिवारले भोगिरहेको एउटा प्रमुख समस्या भनेको युवापुस्तामा बढ्दो तनाव, चिन्ता, निराशा र लागूपदार्थको दुर्व्यसन हो । कतिपय अवस्थामा समस्याको सही समाधान पहिल्याउन नसक्दा युवाहरू गलत मार्ग रोज्न बाध्य भइरहेका देखिन्छन् ।
यो केवल एउटा सामाजिक टिप्पणी मात्र होइन, वस्तुगत तथ्याङ्कले पनि यस भयावह स्थितिलाई पुष्टि गरेको छ । तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ– के युवा पुस्ता साँच्चै बिग्रिएकै हो त ? कि हाम्रो परिवार र समाजले उनीहरूलाई सही समयमा सही तरिकाले बुझ्न र मार्गनिर्देशन गर्न नसकेको हो ?
मानव जीवनको सबैभन्दा लचिलो, अस्थिर र संवेदनशील अवस्था भनेको किशोरावस्था हो । यो एक स्वाभाविक प्रक्रिया पनि हो । जब परिवारमा भावनात्मक सुरक्षा र अपनत्वको कमी हुन्छ, तब किशोर–किशोरीहरू अन्यत्रै आफ्नो अस्तित्व खोज्न थाल्छन् । उनीहरू जुनसुकै समूहमा पनि आफूलाई स्वीकार्य बनाउन लालायित हुन्छन् । यस्तो अवस्थामा घरपरिवारबाट उचित परामर्श र रेखदेख नपाउँदा उनीहरू बाह्य समूह वा गलत संगतमा सजिलै घुलमिल हुन पुग्छन् ।
के पढ्ने ? कस्तो संगत गर्ने ? सही र गलत के हो ? भन्ने ठम्याउन नसकिने उमेरमा परिवार र समाजको सल्लाह नै जीवनको निर्णायक मोड बन्न सक्छ । किशोरावस्था पार नगरेसम्म उनीहरूलाई निरन्तर अभिभावकत्व र निगरानीको खाँचो पर्छ । अन्यथा, बेवास्ता गरिएका युवाहरूले आवेशमा लिएका गलत निर्णयले उनीहरूको बाँकी जीवनको दिशा नै अन्धकारतर्फ धकेलिदिन सक्छ ।
छोराछोरीको व्यवहारमा सामान्य परिवर्तन आउने बित्तिकै ‘बिग्रियो’ भन्ने निष्कर्षमा पुग्नु अभिभावकको कमजोरी हो । त्यसको सट्टा ‘उसको जीवनमा के भइरहेको छ ?’ भनेर बुझ्ने प्रयास गर्नुपर्छ । अभिभावकको एउटै सकारात्मक प्रयासले पनि सन्तानको जीवन बदल्न सक्छ । त्यसैले युवाहरू गलत बाटोमा लाग्नुमा परिवारको भूमिका र जिम्मेवारी पनि उत्तिकै रहन्छ ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या करिब एक लाख ३० हजार पुगेको छ र यो संख्या प्रतिवर्ष ११.३६ प्रतिशतका दरले बढ्दै गएको छ । विडम्बना, यो आँकडा सरकारी फाइलमा मात्र सीमित देखिन्छ । सडक, विद्यालय र स्वयम् अभिभावक तहमा आगामी पुस्ताप्रति जुन गम्भीरता र चिन्ता हुनुपर्ने हो, त्यो अझै प्रभावकारी रूपमा देखिएको छैन ।
अर्कोतर्फ, युवाहरूलाई डिजिटल लतले पनि मानसिक रूपमा अस्वस्थ बनाउँदै लगेको छ । जसरी लागूपदार्थको लत हानिकारक हुन्छ, त्यसरी नै सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग पनि घातक बन्दैछ । डिजिटल प्लेटफर्ममा के हेर्ने र कसलाई पछ्याउने भन्ने कुरामा सचेत हुन जरुरी छ ।
अश्लील सामग्रीको सहज पहुँच र त्यसलाई व्यवहारमा उतार्ने प्रवृत्तिले गर्दा समाजमा अनैतिक क्रियाकलाप र जघन्य अपराध बढिरहेका छन् । तर, हाम्रो समाजले डिजिटल लतलाई अझै पनि गम्भीर समस्याका रूपमा स्वीकार गरिसकेको छैन ।
देशको अस्थिर राजनीति, फितलो कानुन, बेरोजगारी र भ्रष्टाचारले पनि युवाहरूमा चरम निराशा पैदा गरेको छ । राजनीतिक दलका नेताहरूले जनअपेक्षा सम्बोधन गर्न नसक्दा बढ्दो असन्तुष्टिले युवाहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको विज्ञहरूको भनाइ छ । राज्यको युवालाई विदेश पठाउने अदृश्य नीतिले उनीहरूमा आत्मविश्वास होइन, बरु हीनताबोध जन्माइरहेको छ ।
विशेषगरी ग्रामीण क्षेत्रबाट सहर वा विदेश पलायन हुने युवाहरू आफ्नो मौलिक पहिचान र संस्कृतिबाट एक्कासि नयाँ परिवेशमा पुग्दा थप मानसिक समस्यामा पर्ने गरेका छन् । सांस्कृतिक रिक्तता र पहिचानको संकटले उनीहरूलाई थप अन्योलमा पारेको छ ।
निष्कर्षमा, आजको युवा पुस्तालाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको संवाहक बनाउन जरुरी छ । साहस र सृजनशीलताले भरिपूर्ण यो वर्गलाई राष्ट्र निर्माणको मानवीय पुँजीका रूपमा राज्यले परिचालन गर्नुपर्छ । तर यो तब मात्र सम्भव छ, जब परिवारले युवालाई ‘दोषी’ देख्नुको सट्टा ‘बुझ्ने’ प्रयास गर्छ ।
विद्यालयले केवल परीक्षाको प्राप्ताङ्कलाई मात्र महत्व नदिई व्यावहारिक र नैतिक शिक्षामा जोड दिनुपर्छ । राज्यले युवामैत्री कार्यक्रमहरूलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्छ ।
युवाहरूलाई मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सिर्जनात्मक गतिविधिमा संलग्न गराउनु आजको अनिवार्य आवश्यकता हो । यो कुनै एउटा निकायको मात्र जिम्मेवारी होइन, परिवार, विद्यालय, समुदाय र सरकारको एकीकृत प्रयास हो ।
समाजमा युवाहरूको प्रत्यक्ष सहभागिता हुने खेलकुद तथा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिनुपर्छ । आज युवापुस्तामा गरिने सही लगानी र सद्भाव नै भोलिको समुन्नत राष्ट्रको आधारशिला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण