मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'

मङ्गलबार, २६ जेठ २०८३, १० : ०५
मङ्गलबार, २६ जेठ २०८३

लन्डन । नेपाल आफ्नो प्राकृतिक सौन्दर्य, गौतम बुद्धको जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा र वीर गोर्खालीहरूको वीरगाथाले विश्वभरि एक विशिष्ट पहिचान बनाएको मुलुक हो। यही मौलिक नेपाली पहिचान, संस्कृति र परम्परालाई बेलायतको वेल्समा जीवन्त राख्ने उद्देश्यका साथ ‘नेपाली भिलेज यूके’को परिकल्पना गरिएको छ।

‘नेपाली भिलेज यूके’का प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ (एमभीओ) का अनुसार यो कुनै एक व्यक्ति, संस्था, जात, धर्म वा क्षेत्रविशेषको परियोजना नभई सम्पूर्ण नेपालीहरूको साझा सपना हो। 

यसको लक्ष्य बेलायतमा बसोबास गर्ने नेपाली, उनीहरूका भावी पुस्ता, स्थानीय बेलायती समुदाय र विश्वभरका पर्यटकहरूका लागि नेपालको संस्कृति, इतिहास, परम्परा र जीवनशैली चिनाउने सांस्कृतिक, शैक्षिक तथा मनोरञ्जनात्मक केन्द्र बन्नु हो।

बेलायत र युरोपका विभिन्न मुलुकहरूमा ठूलो संख्यामा नेपाली समुदाय बसोबास गरिरहेका छन्। ब्रिटिस सेनाका पूर्व गोर्खाली सैनिक, विद्यार्थी, व्यवसायी तथा रोजगारीका सिलसिलामा यहाँ स्थापित भएका नेपालीहरूले युरोपको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

 यद्यपि, लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका नेपालीहरूको मनमा एउटा साझा चाहना थियो: बिदा मनाउन, परिवारसँग समय बिताउन, आफ्ना बालबालिकाहरूलाई नेपाली संस्कृतिसँग परिचित गराउन र नेपालको झल्को दिने आफ्नै एक थलो होस्। यही चाहनालाई आधार बनाएर 'नेपाली भिलेज' निर्माणको अवधारणाले मूर्तरूप लिएको हो।

मेजर गुरुङका अनुसार नेपाली भिलेज यस्तो ठाउँ हुनेछ, जहाँ जो कोहीले पनि व्यस्त दैनिकीबाट केही समय विश्राम लिएर ग्रामीण नेपालको अनुभव गर्न सक्नेछन्। हरियाली, पैदलयात्रा, नेपाली शैलीका संरचना, मौलिक संस्कृति, ध्यान, मेला, चाडपर्व, पारिवारिक जमघट र नेपालको झल्को दिने वातावरण यस परियोजनाका मुख्य आकर्षण हुनेछन्।

नेपाली भिलेज यूके समुदायमा आधारित व्यावसायिक तथा दीर्घकालीन परियोजना हो। यस परियोजनामा भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, चौतारी, ऐतिहासिक ढुंगेधारा, धरहरा, पशुपतिनाथ, बौद्धनाथ र मुक्तिनाथको १०८ धाराजस्ता नेपालका प्रमुख धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको झल्को दिने संरचना निर्माण गर्ने योजना छ। यसका साथै ध्यान केन्द्र, होटल, विवाह तथा सभा समारोहका लागि सुविधासम्पन्न हल, पूजाआजा, मेला तथा विभिन्न नेपाली चाडपर्व मनाउन मिल्ने स्थानहरू पनि निर्माण गर्ने योजना अघि सारिएको छ।

यस परियोजनाको मुख्य उद्देश्य वेल्समा नेपाल चिनाउने मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्र स्थापना गर्नु हो। नेपाली भिलेज यस्तो गन्तव्य बन्ने लक्ष्य राखिएको छ, जहाँ नेपाली र गैरनेपाली दुवै समुदायले नेपाली संस्कृति, इतिहास, परम्परा र ग्रामीण जीवनशैलीलाई नजिकबाट बुझ्न सक्नेछन्। यहाँ शान्त वातावरणमा बिदा मनाउने, स्थानीय वेल्स संस्कृति र नेपाली संस्कृतिबारे जानकारी लिने, पदयात्रा गर्ने र सामुदायिक गतिविधिमा सहभागी हुने अवसर पनि प्राप्त हुनेछ।

तीन चरणमा अघि बढाइएको यस परियोजनाको पहिलो चरण लगभग पूरा भइसकेको छ भने दोस्रो र तेस्रो चरण एकसाथ अघि बढाउने योजना छ। पहिलो चरणअन्तर्गत शेयर रकम संकलन गरी करिब १९५ रोपनी अर्थात् २४ एकड जग्गा खरिद गरिसकिएको छ।

मेजर गुरुङका अनुसार १० वर्षे योजनाका रूपमा अघि सारिएको यस परियोजनाको पहिलो चरण अपेक्षाभन्दा चाँडै सम्पन्न भएको छ। करिब पाँच महिनाको अवधिमै आवश्यक रकम जुटाइएको छ भने हालसम्म ४६१ शेयर बिक्री भइसकेका छन्। उनका अनुसार वर्तमान प्रगतिका आधारमा १० वर्षका लागि तय गरिएको योजना ६ देखि ७ वर्षभित्रै सम्पन्न हुने सम्भावना देखिएको छ।

मेजर गुरुङले शेयरधनीहरूमा बेलायतमा बसोबास गर्ने नेपालीहरूका साथै अमेरिका, माल्टा लगायतका देशमा रहेका नेपाली र स्थानीय मेयरसमेत सामेल रहेको बताए। उनका अनुसार यसले परियोजनाप्रतिको विश्वास र अन्तर्राष्ट्रिय स्तरको चासोलाई देखाउँछ।

परियोजनाको दोस्रो चरणमा प्लानिङ अनुमति र संरचना निर्माणसम्बन्धी कार्य अघि बढाइएको छ। खरिद गरिएको जग्गा राष्ट्रिय निकुञ्ज क्षेत्रमा परेकाले स्थानीय प्लानिङ प्रक्रियामा केही समय लागेको हो। यद्यपि, स्थानीय निकायमा योजना स्वीकृतिका लागि आवश्यक तयारी गरी पेस गर्ने कार्य सम्पन्न भइसकेको छ। बेलायतमा सामान्यतया प्लानिङ अनुमति प्राप्त गर्न ३ देखि ४ वर्षसम्म लाग्ने गर्दछ।

प्लानिङ अनुमति प्राप्त भएपछि नयाँ प्रवेशद्वार, कार पार्क, ठूलो चौतारी, पोखरी, ऐतिहासिक ढुंगेधारा, नेपाली र वेल्स दुवै शैलीमा बनाइएका पर्यटकीय घर, प्रदर्शनी हल, कार्यालय, क्याफे र जैविक फार्म निर्माण गर्ने योजना छ। नेपाली भिलेजको सबैभन्दा माथिल्लो भागमा सगरमाथाको प्रतीक स्थापना गरिनेछ। साथै पूर्वी क्षेत्रमा नेपालका पूर्वी भागका धार्मिक तीर्थस्थल र पश्चिमी क्षेत्रमा नेपालका पश्चिमी भागमा पाइने धार्मिक संरचनाहरूको झल्को प्रस्तुत गर्ने योजना रहेको छ। जस अन्तर्गत उक्त क्षेत्रमा नेपालका विभिन्न स्थानमा पाइने महत्वपूर्ण सम्पदाको स्थापना गरिनेछ।

यसैगरी प्रदर्शनी हल निर्माण गरि नेपाल र वेल्सका संस्कृति, इतिहास र कलाकृतिहरू प्रदर्शित गरिनेछन्। भविष्यमा यस क्षेत्रमा रहेको हालको घरलाई नेपाली शैलीमा पिँढीसहित पुनर्निर्माण गर्ने, नेपाली र वेल्सका ऐतिहासिक सामग्री प्रदर्शन गर्ने वा क्याफेका रूपमा सञ्चालन गर्ने योजना पनि छ। यस क्षेत्रमा पानीघट्टा राख्ने सोचसमेत अघि सारिएको छ। पैदलयात्राका लागि उपयुक्त ठूलो क्षेत्र भएकाले यस परियोजनाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक अनुभवलाई एकै ठाउँमा जोड्ने उद्देश्य राखेको छ।

तेस्रो चरणमा होटल, विवाह तथा अन्य समारोह स्थल, तालिम तथा सेमिनार हल, ध्यान केन्द्र र वेलनेस सेन्टरजस्ता संरचना निर्माण गर्ने योजना छ। तर, राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नयाँ र ठूला संरचना निर्माण गर्दा स्थानीय प्लानिङ अनुमति दिने निकायले संवेदनशीलता अपनाउने भएकाले आयोजकहरूले वैकल्पिक सम्भावनाहरूको पनि अध्ययन गरिरहेका छन्।

यसै सन्दर्भमा नेपाली भिलेज यूके परिसर नजिकै बिक्रीमा रहेको २२ कोठे भवन खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ। उक्त भवन परियोजनाको तेस्रो चरणका लागि अत्यन्त उपयुक्त देखिएको छ। सो भवनलाई होटल, मेडिटेसन सेन्टर, वेलनेस सेन्टर तथा समारोह स्थलका रूपमा विकास गर्न सकिने सम्भावना देखिएपछि खरिद प्रक्रिया अघि बढाइएको हो।

नेपाली भिलेजले केवल भौतिक संरचना निर्माण गर्ने लक्ष्य मात्र राखेको छैन। यसको मुख्य उद्देश्य भावी पुस्तालाई नेपाली इतिहास, संस्कृति र परम्परासँग जोड्नु पनि हो। बेलायतमा जन्मेका र हुर्केका नेपाली मूलका युवापुस्ताले नेपाललाई केवल कथामा मात्र नभई प्रत्यक्ष अनुभवमा बुझ्न सकून् भन्ने सोचले यो परियोजना अघि सारिएको हो।

यस परियोजनाले रोजगारी सिर्जना गर्ने, वातावरणमैत्री गतिविधि सञ्चालन गर्ने, जैविक विविधताको संरक्षण गर्ने तथा वेल्स र नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य पनि राखेको छ। आयोजकहरूका अनुसार यो स्थान भविष्यमा शुभ विवाह, सांस्कृतिक कार्यक्रम, मेला, पूजा, ध्यान शिविर, सामुदायिक भेला तथा शैक्षिक भ्रमणका लागि उपयुक्त केन्द्र बन्नेछ।

परियोजनाका लागि स्थानीय समुदाय, काउन्सिल, नेपाल दूतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालयलगायत विभिन्न निकायहरूसँग निरन्तर संवाद भइरहेको छ। वेल्स सरकारले पनि यस परियोजनाप्रति सकारात्मक चासो देखाएको जानकारी प्राप्त भएको छ। आयोजकहरूको प्रमुख चाहना नेपाली भिलेजलाई वेल्स र नेपालबीचको सांस्कृतिक सम्बन्ध थप बलियो बनाउने माध्यमका रूपमा विकास गर्नु हो।

परियोजनाका सम्पूर्ण कार्य सम्पन्न गर्न थप पूँजी आवश्यक भएकाले नयाँ शेयर सदस्यहरूलाई परियोजनामा सामेल गराउने अभियान पनि सुरु गरिएको छ। यस अभियानअन्तर्गत आगामी डिसेम्बरसम्मका लागि नयाँ शेयर बिक्रीमा राखिएका छन्। प्रति शेयरको मूल्य ५ हजार ५ सय पाउण्ड तोकिएको छ भने एउटा शेयरमा दुई जनाको नाम समावेश गर्न सकिनेछ। निकट भविष्यमा निर्माण गरिने ढुंगेधारामा मार्बल राखी शेयर होल्डरहरूको नाम कुँद्ने योजना रहेको छ।

मेजर खुशीमान गुरुङले नेपाली भिलेज यूकेलाई सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेका छन्। उनका अनुसार यो परियोजनाले बेलायतमा नेपालको परिचय स्थापित गर्ने मात्र होइन, नेपालको संस्कृति, पर्यटन, पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने सशक्त माध्यमको भूमिका निर्वाह गर्नेछ।

मेजर गुरुङका अनुसार यस क्षेत्रमा वार्षिक करिब ४० लाख पर्यटक आउने गरेका छन्। वेल्सको सर्वोच्च शिखर पनि यस क्षेत्रको आसपासमा अवस्थित भएकाले पर्यटकीय दृष्टिकोणले पनि यो स्थानलाई विशेष महत्त्वपूर्ण मानिन्छ।

लन्डनबाट करिब तीन घण्टाको यात्रामा रहेको नेपाली भिलेज वेल्स भविष्यमा नेपाली समुदायका लागि गौरवपूर्ण केन्द्र, आउँदो पुस्ताका लागि सांस्कृतिक पाठशाला र विश्व समुदायमाझ नेपालको परिचय दिने जीवन्त संग्रहालय बन्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप