सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
धम्कीको भाषा

प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !

सोमबार, ०१ असार २०८३, १७ : १८
सोमबार, ०१ असार २०८३

सारांश

  • मन्त्री सुनिल लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन् ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने धम्की दिएका छन् ।
  • प्रधानमन्त्री बालेन शाहको शैलीमा मन्त्रीहरूको अभिव्यक्ति विवादमा आएपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका छन् ।

काठमाडौँ । ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो’, हालका प्रधानमन्त्री बालेन शाहले गत फागुनमा धनगढी पुगेर भनेका थिए, ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्छ ।’

चुनावी प्रचार प्रसारका क्रममा सुदूरपश्चिमको धनगढी पुगेर ‘रुखमा बाँधेर भएपनि बाटो बनाउनुपर्छ’ भन्ने बालेनको अभिव्यक्ति त्यतिबेला विवादमा तानिएको थियो । त्यसवेला बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो ।

जतिवेला शाहले दिएको उक्त अभिव्यक्तिप्रति निर्माण व्यवसायीसहित सरोकारवालाहरूले आपत्ति जनाउँदै सार्वजनिक रूपमा ‘माफी’ माग्नुपर्ने अडान राखेका थिए ।

अहिले ठिक त्यही बालेन शैलीमा उनकै नेतृत्वको सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ठेकेदारको 'खुट्टा भाँच्नु भनेर' जारी अभिव्यक्ति दिएका छन् । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा त्यहाँ पुगेर मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएका हुन् । उनको यस्तो अभिव्यक्तिको चर्को आलोचना हुनुका साथै विवादमा मुछिएका छन् ।

मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भन्ने सार्वजनिक निर्देशन दिएको भन्दै लम्सालको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

‘यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू’,मन्त्री लम्सालले निर्देशन दिने क्रममा भनेका थिए, ‘त्यसलाई पनि यहाँ राख्नू । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन ।’ उनले चाँडो भन्दा चाँडो पोल सार्नुपर्नेमा जोड दिँदै सर्वसाधारणले धेरै दुःख पाएको बताएका थिए ।

मन्त्री लम्सालले यसअघि पनि निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली प्रयोग गरेर नियन्त्रणमा लिन लगाएका थिए ।

त्यसो त बालेन सरकारका मन्त्री लम्साल मात्र होइन, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा मुछिएका छन् । मन्त्री वाग्लेले केही दिनअघि करका दरमा हेरफेर भएकोबारे प्रतिपक्षले प्रश्न गर्दा प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने 'धम्की' दिन पुगेका थिए ।

गत बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै डा. वाग्लेले आफूलाई पनि प्रश्न गर्नेका काण्डहरूको बारेमा थाहा भएको र ती काण्ड खुल्ने चेतावनी दिएपछि उनको अभिव्यक्तिको संसद बैठकमै विपक्षीहरूले विरोध जनाइरहेका छन् ।

‘आज मैले सार्वजनिक लेखा समितिमा पनि भने एक दुइटा खोस्टाहरूले लेखे, कि दुई अर्बको आशङ्का इत्यादि भनेर, दुई अर्ब होइन दुई रुपैयाँ बदमासी बेइमानी म बाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु’,मन्त्री वाग्लेको भनाइ यतिसम्म ठिकै थियो । तर उनी एक कदम अघि सर्दै भने, ‘दुई रुपैयाँ र यो नैतिक आँट, नैतिक उचाइ म प्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ । तर तपाईंहरूका काण्डबारे हामी अनविज्ञ हो र ? ती पनि खुल्नेछन् ।’

मन्त्री वाग्लेको धम्कीलाई चुनौती दिँदै सोमबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले सरकारले रचनात्मक आलोचनालाई दबाउन धम्कीको राजनीति सुरु गरेको बताइन् ।

साथै उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटको जबाफ दिने क्रममा गैरजिम्मेवारपूर्ण शैली अपनाएको भन्दै अर्यालले विपक्षीको फाइल खोल्न चुनौती नै दिइन् ।

‘फाइल खोल्ने धम्की दिनुभएको छ । पूर्ववक्ता माननीयहरूले पनि हिजोअस्ति बोल्नुभएको छ, म आजका दिनमा पनि भन्छु, नम्बर वान टी–इस्टेटको फाइल एक नम्बरमा खोलियोस्,’ अर्यालले भनिन्, ‘प्रतिपक्षसित जोडिएका ओम्नी हुन् कि, वाइडबडी हुन् कि, के–के फाइल हुन्, तपाईंहरूको हातमा छ, सरकारलाई म भन्न चाहन्छु यो सदनमार्फत, ती खोलियोस् । साँचो कुरा जे हो, त्यो बाहिर ल्याइयोस् ।’ अर्यालले प्रतिपक्ष कुनै पनि छानबिनबाट नभाग्ने दाबी समेत गरिन् ।

विगतमा पुराना भनिएका राजनीतिक दल र उनीहरूका कामकारबाहीप्रति प्रश्न उठाउँदै र गाली गर्दै राजनीतिमा स्थापित भएको रास्वपाका सांसद र मन्त्रीहरूको अभिव्यक्ति र व्यवहारबाट स्वयं रास्वपा र सर्वसाधारण नागरिक लज्जित बन्ने अवस्था आएको छ ।

मन्त्री लम्सालको खुट्टा भाँच्ने अभिव्यक्ति सार्वजनिक भएपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले त प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव नै दिएका छन् ।

‘हामी यस्तै समाजतर्फ जाँदैछौं प्रधानमन्त्रीज्यू ?’, शर्माले प्रश्न गर्दै भिडियो सन्देशमा भनेका छन्, ‘यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस् ।’ शर्माले चुनावका बेला प्रधानमन्त्री स्वयंले समेत ‘रुखमा बाँध्नु’ भनेर दिएको अभिव्यक्तिको स्मरण समेत गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप