बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘ओलीका समकालीनबाट नेतृत्व असम्भव’

बुधबार, ०३ असार २०८३, १४ : ४८
बुधबार, ०३ असार २०८३

सारांश

  • नेकपा एमालेको कोशी प्रदेशस्तरीय बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओली र समकालीन नेताहरूले विश्राम लिनुपर्ने बताएका छन् ।
  • अधिकांश सहभागीहरूको मत छ कि वर्तमान नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने र नेतृत्व पुनर्गठन आवश्यक छ ।
  • गत चुनावमा लज्जास्पद हारपछि एमालेमा नेतृत्व पुनर्गठनको बहस तीव्र बनेको छ ।

काठमाडौँ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलनसहित छलफलमा जुटेको नेकपा एमालेमा बागमतीपछि कोशी प्रदेशका नेताहरूले पनि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नखोजे पार्टी अघि बढ्न नसक्ने औँल्याएका छन् । 

कोशी प्रदेशको विराटनगरमा मङ्गलवार भएको प्रदेशस्तरीय समीक्षा बैठकमा नेताहरूले अहिलेकै नेतृत्वबाट अब एमाले चल्न नसक्ने भन्दै अध्यक्ष ओलीसहित समकालीन नेताहरूले विश्राम लिनुपर्ने बताएका हुन् । 

‘अहिलेको नेतृत्वबाट मानिस अवाक भैसकेका छन्’, अधिकांश भेलामा सहभागीहरूको मत रहेको बताउँदै एक नेताले भने, ‘वर्तमान कार्यकारी नेतृत्वको पुनःनिर्माणसहित अग्रसरता लिनुपर्छ ।’

ती नेताका अनुसार वर्तमान एमाले अध्यक्ष ओली र समकालीन अरू कुनै पनि पात्रबाट अबको नेतृत्व सम्भव नहुने बताएका छन् । 

‘अध्यक्ष ओलीका समकालीन सबै नेताहरूबाट एमालेको नेतृत्व सम्भव छैन । बरु अब उहाँहरूले विश्राम लिनुपर्छ’, भेलामा बोल्ने अधिकांश नेताहरूको भनाई उद्धृत गर्दै सहभागी अर्का नेताले भने, ‘भदौ २३ गतेको घटना हुनुमा आफ्नो तर्फबाट महसुस भए मात्र २४ गतेको सन्दर्भमा अरूलाई दोष दिनु उपयुक्त हुन्छ ।’  

भेलामा सहभागीहरूले केन्द्रदेखि स्थानीय तहसम्मकै नेतृत्व पुनर्गठन गरेर अघि बढ्न आवश्यक रहेको बताएका थिए । कोशीको भेलामा झापाका केही नेताले भने अहिलेको अवस्थामा नेतृत्वमा ओलीको विकल्प खोज्न नहुने मत राखेका थिए । 

एमाले कोशी प्रदेश अध्यक्ष विनोद ढकालले पार्टी पुनर्गठनको पक्षमा अधिकांश सहभागीहरूले धारणा राखेको बताए । जेठ ३० गते बागमतीबाट सुरु भएको एमाले प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन सहितको छलफल मङ्गलवार कोशीमा सम्पन्न भएको हो । 

त्यस्तै, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश, असार १३ गते मधेस प्रदेश, असार १६ गते राजधानी, असार १७ गते सम्पर्क समन्वय, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीहरूसँग सुझाव सङ्कलन गर्ने एमालेको कार्यतालिका रहेको छ । 

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहँदै आएको छ । 

गत चुनावमा लज्जास्पद हार खाएको एमालेमा नेतृत्व पुनर्गठनको बहस तीव्र बन्दै गएको छ । सचिवालय बैठकमै ओली अल्पमतमा परे पनि उनले सहजै नेतृत्व नछाड्ने बरु केन्द्रीय कमिटी बैठक फेस गर्ने संकेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप