शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पिके’ की अभिनेत्रीलाई आएको थियो कास्टिङ काउचको अफर

शुक्रबार, ०५ असार २०८३, १४ : २४
शुक्रबार, ०५ असार २०८३

सारांश

  • अभिनेत्री मानभी गागरुले बलिउडमा काम पाउनका लागि शारीरिक सम्झौता गर्नुपर्ने अफर आएको खुलासा गरेकी छन् ।
  • उनले एक कोअर्डिनेटरले 'बजेट १ लाख र साथमा कम्प्रोमाइज' भन्दै म्यासेज पठाएको र पछि त्यसको अर्थ बुझेको बताइन् ।
  • मानभीले बलिउडमा कास्टिङ काउचको यो पहिलो घटना नभएको र धेरै अभिनेत्रीले यस्तै अनुभव भोग्नुपरेको उल्लेख गरिन् ।

मुम्बई । ‘पिके’, ‘किल दिल’ र ‘शुभ मंगल ज्यादा सावधान’ जस्ता चर्चित बलिउड चलचित्रहरूमा अभिनय गरिसकेकी अभिनेत्री मानभी गागरुले कास्टिङ काउचको विषयमा एउटा सनसनीपूर्ण खुलासा गरेकी छन् । 

उनले आफ्नो करिअरको सुरुवाती दिनमा काम पाउनका लागि शारीरिक सम्झौता गर्न भन्दै प्रलोभन र अफरहरू आउने गरेको बताएकी हुन् ।

हालै ‘टु गर्ल्स विथ टु कप्स’ को पडकास्टमा कुराकानी गर्दै मानभीले आफू इन्डस्ट्रीमा नयाँ हुँदा एकजना कोअर्डिनेटरले पठाएको सन्देशबारे चर्चा गरिन् । उनका अनुसार ती व्यक्तिले म्यासेजमा ‘बजट १ लाख र साथमा कम्प्रोमाइज’ भनेर लेखेका थिए । 

सुरुमा त उनलाई त्यो बजेट थपघट गर्ने वा जीएसटी (कर) सँग जोडिएको व्यापारिक सम्झौता होला भन्ने लागेको थियो । उनले कौतुहलतावश म्यासेजमै ‘कम्प्रोमाइज भनेको के हो ?’ भनेर सोधिन्, तर पछि मात्र उनले ती व्यक्तिले कति सहजै यस्तो आपत्तिजनक कुरा लेख्न सकेका रहेछन् भन्ने बुझिन् ।

यस घटनापछि उनी आफूले काम गरिरहेका एक कास्टिङ डाइरेक्टरकहाँ गइन् र त्यो म्यासेज देखाउँदै यसको वास्तविक अर्थबारे सोधिन् । कास्टिङ डाइरेक्टरले उनलाई तत्कालै ती व्यक्तिलाई ब्लक गर्न सल्लाह दिएका थिए । 

यो पुराना कुरा सेयर गर्दै मानभीले भनिन्, ‘मलाई पहिले साच्चै कम्प्रोमाइज भनेको बजेट वा जीएसटीसँग जोडिएको केही कुरा होला जस्तो लागेको थियो । चलचित्र क्षेत्रमा पारिवारिक पृष्ठभूमि नभएका (नन् नेपो किड्स) कलाकारहरूसँग यस्ता घटनाहरू सधैँ भइरहन्छन् ।’

बलिउडमा कास्टिङ काउच वा कामको बदलामा शारीरिक सम्बन्धको माग गरिने यो पहिलो घटना भने होइन । मानभी भन्दा अघि र पछि पनि धेरै नाम चलेका अभिनेत्रीहरूले यस्ता दुर्व्यवहार र तितो अनुभव भोगिसकेका छन् ।

चर्चित अभिनेत्री राधिका आप्टेले पनि एउटा चलचित्रमा भूमिका दिने बहानामा आफूलाई कस्ता सर्त राखिएका थिए भन्ने खुलासा गरेकी थिइन् । उनलाई चलचित्रमा रोल चाहिएमा निर्देशक वा सम्बन्धित व्यक्तिसँग सुत्न तयार छ कि छैन भनेर सोधिएको थियो । राधिकाका अनुसार फिल्म उद्योगमा धेरै मानिसहरू यस्ता पीडादायी अनुभवबाट गुज्रिए पनि डरका कारण खुलेर बोल्न सक्दैनन् ।

त्यसै गरी अभिनेत्री सुरवीन चावलाले सन् २०२५ मा दिएको एउटा अन्तर्वार्तामा आफ्नो डरलाग्दो अनुभव सुनाएकी थिइन् । एकजना निर्देशकले भेटघाटका क्रममा अचानक आफूलाई जबरजस्ती किस गर्ने प्रयास गरेको उनले बताएकी थिइन् । यो घटना आफ्नो विवाह भइसकेपछि घटेको र यसले आफूलाई निकै मानसिक तनाव र असहजता दिएको सुरवीनको भनाइ थियो ।

आफ्नो बोल्ड अभिनयका लागि चिनिने अभिनेत्री मल्लिका शेरावतले पनि कयौँ पटक बलिउडको यो कालो पक्षबारे आवाज उठाएकी छन् । कतिपय मानिसहरूले चलचित्रमा काम दिने बहानामा व्यक्तिगत र शारीरिक सम्बन्धको अपेक्षा गर्ने गरेको उनले बताएकी छन् । उनका अनुसार यदि कुनै अभिनेत्रीले उनीहरूको यस्तो गलत मागलाई अस्वीकार गरिन् भने उनलाई तत्कालै सम्बन्धित प्रोजेक्ट वा चलचित्रबाट निकालिन्छ ।

यसै गरी शक्तिशाली अभिनयका लागि चिनिने ऋचा चड्ढाले पनि आफ्नो सुरुवाती करिअरमा पाएको आपत्तिजनक अफरहरूको चर्चा गरेकी छन् । नयाँ र सङ्घर्ष गरिरहेका कलाकारहरूले सधैँजसो यस्तो खराब परिस्थितिको सामना गर्नुपर्ने उनको अनुभव छ । अर्की अभिनेत्री ईशा कोपिकरले पनि एक नाम चलेका ठुला अभिनेताले आफूलाई चलचित्रमा काम पाउनका लागि निर्मातासँग ‘नजिकको मित्रता’ बढाउन सल्लाह दिएको दाबी गरेकी थिइन् । उनको यो बयानले पनि त्यस समय बलिउडमा ठुलो खलबल मच्चाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप