शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा

शुक्रबार, ०५ असार २०८३, १८ : ३०
शुक्रबार, ०५ असार २०८३

सारांश

  • मधेस प्रदेशमा अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ, जसले गर्दा दैनिक ज्यालादारी गर्ने मजदुर, किसान, सवारी चालक, ठेला व्यवसायी तथा साना व्यापारीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
  • गर्मी बढेसँगै लु लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी हुने, झाडापखाला, ज्वरो तथा सर्पदंश जस्ता गर्मीजन्य रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
  • वातावरणविद्हरूले जलवायु परिवर्तन, रुख संरक्षणको अभाव र पोखरी तथा जलस्रोतको उचित व्यवस्थापन नहुँदा मधेसमा गर्मीको प्रभाव बर्सेनि बढ्दै गएको बताएका छन् ।

जनकपुरधाम । मधेस प्रदेशमा केही दिन यता अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । मधेस प्रदेशका अधिकांश जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन हुन थालेको छ ।

चर्को घाम र तातो हावाले दैनिक जीवन प्रभावित हुँदा सबैभन्दा बढी असर दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर, किसान, सवारी चालक, ठेला व्यवसायी तथा साना व्यापारीहरूमा परेको छ ।

गर्मी बढेसँगै बजार क्षेत्रमा चहलपहल घटेको छ भने विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयहरूमा समेत यसको प्रभाव देखिन थालेको छ । दिउँसोको समयमा सडकहरू सुनसान देखिन थालेका छन् । अत्यधिक गर्मीका कारण लु लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी हुने, झाडापखाला, ज्वरो तथा अन्य गर्मीजन्य रोगका बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गर्मी बढेसँगै सर्पदंशका घटना पनि बढ्न थालेको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा दैनिक चारदेखि पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल स्रोतले जनाएको छ । गाउँघरमा गर्मी बढेसँगै सर्पको जोखिमसमेत बढेको नगराइन नगरपालिका ५ काली मण्डलले बताए ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जनकपुर, वीरगञ्ज, जलेश्वर, राजविराज तथा सिराहालगायतका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । विशेषगरी ज्वरो, टाउको दुख्ने, झाडापखाला, रिंगटा लाग्ने तथा सर्पदंशका बिरामीको सङ्ख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

चर्को गर्मीका कारण सबैभन्दा बढी समस्यामा दैनिक श्रम गरेर परिवार पाल्ने वर्ग परेको छ । तापक्रम उच्च हुँदा पनि उनीहरू काम गर्न बाध्य छन् । काम नगरे आम्दानी रोकिने र परिवारको गुजारा चलाउन समस्या हुने भएकाले उनीहरूमा जोखिम बढ्दै गएको छ ।

1000223596

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित जिल्ला अदालत अगाडि सानो पसल सञ्चालन गर्दै आएकी ६० वर्षीया गीतादेवीले गर्मीका बाबजुद  काम नगरी छाक टार्ने विकल्प नभएको बताइन् । उनले भनिन्, 'घाम निकै चर्को हुन्छ, तर व्यापार नगरे खान समस्या हुन्छ । छोराछोरीको सहारा छैन, आफैँ काम गर्नुपर्छ । नगरपालिकाले कहिले पेटीबाट हटाइदिन्छ भन्ने डर पनि छ । एउटा राम्रो छानासमेत छैन । दिनभर पसिनाले भिजिएर बस्नुपरेको छ ।'

जनकपुरधाम–६ का हरिदेव राउत हार्डवेयर पसलमा  सिमेन्टको बोरा बोक्ने काम गर्छन् । उनले भने, 'यो गर्मीमा काम गर्नु हाम्रो रहर होइन, तर काम नगरे परिवार पाल्न सकिँदैन । एक दिन काममा नआए साहुले अर्को मानिस राख्ने डर हुन्छ । त्यसैले जति गर्मी भए पनि काम गर्नैपर्छ ।'

ठेला चालक, कुली तथा फुटपाथ व्यवसायीहरूले पनि यस्तै समस्या भोगिरहेका छन् ।

गर्मी बढेसँगै विद्युत् खपतसमेत बढेको छ । जसका कारण कतिपय स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको स्थानीयवासी बताउँछन् ।बारम्बार विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण थप समस्यामा परेका छन् ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहले गर्मीमा रिंगटा लाग्ने, झाडापखाला, शरीरमा पानीको कमी हुने तथा सर्पदंशका बिरामी बढेको भन्दै सचेत रहन आग्रह गरेका छन् । अस्पतालहरूमा उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले सबै अस्पतालसँग समन्वय गरिरहेको उनले बताए ।

1000223681

मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्किन, पर्याप्त पानी पिउन, छाता वा टोपीको प्रयोग गर्न तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न आग्रह गरेको साहले जानकारी दिए ।

यता वातावरणविद् अजित श्रीवास्तवले जलवायु परिवर्तनका कारण मधेसमा गर्मीको प्रभाव बर्सेनि बढ्दै गएको बताए ।

उनले भने, 'रुख रोप्ने काम त भइरहेको छ, तर संरक्षणमा ध्यान पुगेको छैन । एउटा बिरुवालाई कम्तीमा पाँच वर्षसम्म संरक्षण गर्न सकेमात्र त्यसको वास्तविक लाभ पाइन्छ । मधेसका धेरै पोखरी तथा जलस्रोतको उचित व्यवस्थापन हुन सके तापक्रम सन्तुलनमा मद्दत पुग्छ ।'

श्रीवास्तवले चुरे क्षेत्रको संरक्षण, गाउँगाउँमा हरियाली विस्तार तथा प्राकृतिक स्रोतको संरक्षणमा जोड दिनुपर्ने  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप