चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको ५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचारसहित हाजिर भएका छौँ-
१.संसद् बैठक
गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएकामध्ये चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।
चारवटै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निणयार्थ प्रस्तुत गरेका थिए ।
२. संसद छुट्टी
प्रतिनिधि सभा बैठक ६ दिनका लागि स्थगित भएको छ । शुक्रबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा हुँदैछ । प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ ।
सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको हो ।
३. मन्त्रिपरिषद् बैठक
सरकारले संघीय संसदमा चार वटा प्रतिस्थापन विधेयक पेस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।
४. रास्वपा महाधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढेको छ। चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरु गरिएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आउने ७, ८ र ९ गते चितवनमा हुँदै छ।
५. मौसम
नेपालमा यस वर्षको मनसुन प्रणाली शुक्रबार (असार ५ गते) कोशी प्रदेशको केही भू–भागमा प्रवेश गरेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको छ भने देशका अन्य भू–भागमा फैलिन अझै केही दिन लाग्ने देखिएको छ।
६.रविको मुद्दा
काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागअनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् । जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । उक्त इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ ।
७. कोशीमा तरंग
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा गए राति प्रहरी टोली पुगेको घटनाले तरङ्ग उत्पन्न भएको छ।
यस घटनालाई लिएर मन्त्रीको सचिवालयले छापा मारिएको भन्दै आपत्ति जनाएको छ भने अर्कोतर्फ प्रहरी र स्थानीय प्रशासनले फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको बताएका छन्।
८. झमेलामा आरजु
राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ आरजु राणा देउवालाई दिएको म्याद पूरा भएको छ । अख्तियारले असार २ मा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवाको बुढानीलकण्ठस्थित घर ठेगानामा म्याद टाँस गरेको थियो ।
म्याद टाँस गरेपछि आरजुले अख्तियारमा इमेल गरेकी छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठेगानामा इमेल गर्दै भनेकी छन्, ‘म विदेशमा छु, ३ दिनभित्र आउन सक्दिनँ ।’
आरजुको इमेल पाएपछि आयोगका अनुसन्धान अधिकृतहरूले भर्चुअल माध्यमबाट बयान लिने प्रयास गरिरहेका छन् । इमेलमा प्रश्न पठाएर बयान लिने सकिने विकल्पमा छलफल भइरहेको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
९. १२ को नतिजा
कक्षा १२ को परीक्षामा एक लाख चार सय ७१ जना नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) सार्वजनिक गरेको नतिजा अनुसार कुल परीक्षार्थी मध्ये एक लाख चार सय ७१ जना नन ग्रेडेड भएका हुन् ।
सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । यस्तै, ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । दुई जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको बोर्डले जनाएको छ ।
१०. राप्रपा बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक तीन पूर्वअध्यक्षसहितका नेताहरूले बहिष्कार गरेका छन् ।
पार्टीका एक नेताले पूर्वअध्यक्षत्र पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह–महामन्त्री रीना गुरुङलगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेको जानकारी दिए । बैठक शुक्रबारदेखि राजधानीमा सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण