आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै

आइतबार, ०७ असार २०८३, ०९ : २८
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाको चार वर्ष पुगेको अवसरमा चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ ।
  • पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले महाधिवेशनको उद्घाटन संयुक्त रूपमा गर्नेछन् ।
  • यस महाधिवेशनबाट १९ जना पदाधिकारी सहित १५८ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ, जसमा सभापतिले ५१ जना मनोनीत गर्नेछन् ।

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए ।

स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेर कीर्तिमान बनाएको छ ।

आज (आइतबार) दिउँसो १ बजे गेष्टहाउस चौरमा हुुने महाधिवेशन उदघाटन समारोहमा रास्वपाले राष्ट्रिय मान्यता प्राप्त दल तथा देशको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलका प्रमुख नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरेको छ । तर पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई बाहेक अन्य कोही पनि रास्वपाको महाधिवेशन उदघाटनसत्रमा सहभागी नहुने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले शीर्ष नेताहरू नपठाउने भएका छन् ।

देशभरिबाट झन्डै चार हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनको उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले संयुक्त रूपमा गर्ने नेताहरूले बताएका छन् । यस महाधिवेशनबाट १९ जना पदाधिकारी सहित १५८ (प्रदेश सभापति पदेन सदस्य) सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन् ।

शनिबार केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान अनुसार सभापतिले ५१ जना मनोनीत गर्ने व्यवस्था राखिएको छ । बाँकी १०० जना निर्वाचन प्रक्रियाबाट आउनेछन् । केन्द्रीय निर्वाचन आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ । सभापतिमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ दस्तुर र ५१ जनाको समर्थन अनिवार्य गरिएको छ । अन्य पदाधिकारीका हकमा ४१ हजार रुपैयाँ र त्यतिकै संख्यामा समर्थनको हस्ताक्षर चाहिने छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिन २१ हजार दस्तुर र २१ जना समर्थकको हस्ताक्षर अनिवार्य गरिएको छ ।

रवि र बालेनको रसायनले बलियो बनेको रास्वपा

पार्टी स्थापनाको बेला २१ जना केन्द्रीय सदस्य पुर्‍याउन रास्वपालाई हम्मे–हम्मे परेको थियो । निर्वाचन आयोगमा पाँच सय जनाको नागरिकता र हस्ताक्षर जुटाउन निकै सङ्घर्ष गर्नुपरेको रविले बारम्बार भन्दै आएका छन् । चितवनको भरतपुरमा शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले आफ्ना सङ्घर्षका दिन स्मरण गर्दै भने, ‘यी कोठाभित्र पार्टीका महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर भए । यी कोठाभित्र हतकडी सहित प्रहरीहरू छिरे, त्यसकारण यो बैठक पनि असाध्यै महत्त्वपूर्ण छ । जीवन भोगाइहरूको गुजुल्टो रहेछ ।’

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, नागरिकता, राहदानी प्रकरण, सहकर्मीको आत्महत्या दुरुत्साहन प्रकरणमा मुछिएका रवि आज देशकै शक्तिशाली पार्टीका सभापति बन्न सफल भएका छन् । गत वर्ष भदौमा जेनजी आन्दोलन हुँदा उनी पुर्पक्षका लागि नख्खु कारागार थिए । नेतृत्व नै विभिन्न काण्डमा मुछिएपछि पार्टी रक्षात्मक अवस्थामा पुगेको थियो ।

देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका व्यक्ति जेनजी आन्दोलनको फाइदा उठाएर शक्तिको दुरुपयोग गरी जेलबाट बाहिरिएको गम्भीर आरोप रविमाथि लाग्यो । रास्वपा रक्षात्मक अवस्थामा पुगेको बेला रवि र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेनबिच ७ बुँदे सहमति भयो । सोही सहमतिका आधारमा रास्वपा निर्वाचनमा होमियो ।

सञ्चारकर्म छोडेर रविले २०७९ असार ७ गते तामझामका साथ आफ्नै नेतृत्वमा रास्वपा गठन गरेका थिए । सुरुमा २५ सदस्यीय केन्द्रीय समिति गठन गरेका रविले अहिले ५९ जनाको समिति बनाएका छन् । त्यतिबेला उनले देशको राजनीति नै हिलो–मैलोले दुर्गन्धित भएकाले फोहोर सफा गर्न राजनीतिमा आएको दाबी गरेका थिए ।

आम युवामाझ निकै लोकप्रिय रहेका रवि र बालेनको रसायनले रास्वपा छोटो समयमै राजनीतिक उचाइमा पुगेकोमा कसैको दुईमत छैन । जेनजी आन्दोलनपछिको रास्वपामा ‘रविबिना बालेन अधुरो, बालेनबिना रवि अधुरो’ जस्तो हुने देखिन्थ्यो । रवि र बालेन एकअर्कालाई छुट्ट्याएर अहिलेको रास्वपा बन्न सम्भव देखिँदैनथ्यो भन्ने धेरैको बुझाइ छ ।

प्रथम महाधिवेशनपछि रवि शक्तिशाली सभापति बन्दैछन् । महाधिवेशनको पूर्वासन्ध्यामा विभिन्न जिल्ला अदालतले उनीविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्न अनुमति दिएकाले ठुलो राहत मिलेको देखिन्छ । 

झन्डै आठ महिना पुर्पक्षमै रहेर मुद्दा लडेका रविले काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दा झेलिरहेका छन् । यद्यपि आफूविरुद्ध तत्कालीन सत्ता र शक्तिको आडमा षड्यन्त्रपूर्वक राजनीतिक प्रतिशोध साँधिएको उनको आरोप छ ।

पार्टी स्थापनाको छोटो समयमै राजनीति छलाङ मार्नु रास्वपाको लागि ठुलो सफलता हो । तीन वर्ष सोचेअनुसार काम नभए पनि वर्षौंदेखि सत्तामा कब्जा जमाएर बसेका पुराना दलहरूलाई धक्का दिन रास्वपा सफल भएको छ । प्रश्न सोध्ने ठाउँमा तीन वर्षसम्म रहेको रास्वपा अहिले पूर्ण बहुमतको सरकारसहित जबाफ दिने ठाउँमा पुगेको छ । नीतिगत सुधार र सुशासनको पक्षमा जे–जति काम भए, त्यो रास्वपाको उपलब्धि भएको शीर्ष नेताहरूले जिकिर गरेका छन् ।

मुद्दा मामिलामै बित्यो रविको चार वर्ष

सञ्चारकर्म छोडेर रविले २०७९ असार ७ गते तामझामका साथ आफ्नै नेतृत्वमा रास्वपा गठन गरेका थिए । सुरुमा २५ सदस्यीय केन्द्रीय समिति गठन गरेका रविले अहिले ५९ जनाको समिति बनाएका छन् । त्यतिबेला उनले देशको राजनीति नै हिलो–मैलोले दुर्गन्धित भएकाले फोहोर सफा गर्न राजनीतिमा आएको दाबी गरेका थिए ।

‘यहाँ कति फोहोर छ, कति हिलो छ, मलाई थाहा छ । केही समय हिलो लागेको त्यो फोहोरी र म सफा गर्न गएको मान्छे उस्तै देखिन सक्छ । तपाईं नझुक्किनुहोला । म सफा गर्न गएको मान्छे र त्यो गन्हाएको मान्छे एउटै नठान्नुहोला,’ रविले पार्टी घोषणा सभामा भनेका थिए । प्रश्न सोध्ने सजिलो काम छोडेर जबाफ दिने कठिन काममा आफू आएको उनको जिकिर थियो ।

नयाँ र वैकल्पिक शक्तिको नेतृत्व लिएर आएका रवि तीन वर्षमा एकपछि अर्को मुद्दामामिला र झमेलामा फस्दै गए । खासमा अदालती झमेलाबाटै राजनीतिमा आएका व्यक्ति हुन् उनी ।

न्यूज २४ टेलिभिजनबाट ‘सिधा कुरा जनतासँग’ लोकप्रिय कार्यक्रम प्रस्तोताको छवि बनाएका रवि सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा २०७६ साउन ३० गते पक्राउ परे । त्यसवेला ११ दिन चितवन प्रहरीको हिरासतमा बसेर उनी धरौटीमा रिहा भएका थिए ।

रविले २०७६ माघ ५ गते अदालतबाट सफाइ पाएका थिए । यही प्रकरणले उनलाई राजनीतिमा आउन प्रेरित गरेको रविको अभिव्यक्तिबाट झल्किन्थ्यो । त्यतिवेला देश–विदेशबाट आफ्नो पक्षमा देखाइएको माया, सदभावका कारण हौसिएका उनले चितवनको नारायणी किनारमा विशाल सभा गरी राजनीतिमा आउने सङ्केत दिएका थिए ।

आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाए पनि दोहोरो राहदानी र नागरिकता लिएको विषयमा उनीमाथि प्रश्नैप्रश्न उठेको थियो । यी तमाम प्रश्नलाई मिडिया र भिडको आडमा रविले बेवास्ता गर्दै गए । २०७७ साल पुसमा न्यूज २४ टेलिभिजन छोडेका उनले फागुन ११ गते जीबी राईसँग मिलेर ‘ग्यालेक्सी फोर के’ टेलिभिजन खोले । ग्यालेक्सी टेलिभिजनमा १६ महिना काम गरेर उनले छोडेका थिए ।

पार्टी स्थापना गरेको ६ महिनामै आम निर्वाचनमा होमिएको रास्वपाले देशभर ११ लाख ३० हजार मत ल्याएर पुराना दलहरूलाई चुनौती दियो । रवि चितवन–२ बाट ४९ हजार ३०० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री उमेश श्रेष्ठ ३४ हजार ३१२ मतान्तरले पराजित भएका थिए । श्रेष्ठले १४ हजार ९८८ मत पाउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

नागरिकता सम्बन्धी प्रक्रिया पूरा गरेपछि चितवन–२ मा २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा रवि फेरि उम्मेदवार बने । उनी पहिलेको तुलनामा लोकप्रिय मत बढाउँदै ५४ हजार २७६ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जित्यो । रास्वपाको अस्वाभाविक मत र सिट प्राप्ति पुराना दलहरूलाई ठुलो धक्का थियो । तेस्रो स्थानमा रहेको माओवादी झन्डै चौथो स्थानमा पुगेको थियो । निर्वाचन लगत्तै २०७९ पुस १० गते प्रचण्ड नेतृत्वको सरकारमा चार मन्त्रीको नेतृत्व गर्दै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा गएका थिए । तर दोहोरो नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि सोही वर्ष माघ १३ गते उनी पदमुक्त भए ।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता प्राप्तिका लागि प्रक्रिया नमिलेको सर्वोच्चको फैसलाका कारण उनले पार्टी र सरकारको पद गुमाएका थिए ।

नागरिकता सम्बन्धी प्रक्रिया पूरा गरेपछि चितवन–२ मा २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा रवि फेरि उम्मेदवार बने । उनी पहिलेको तुलनामा लोकप्रिय मत बढाउँदै ५४ हजार २७६ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।

लोकप्रिय मतको आधारमा अबको वैकल्पिक शक्ति रास्वपा नै भएको रास्वपाले निष्कर्ष निकालेको थियो । १३ महिनापछि रवि पुरानै हैसियतमा २०८० फागुन २१ गते सरकारमा सहभागी भए । त्यतिवेला रास्वपाले महत्त्वपूर्ण चार वटा मन्त्रालय पाएको थियो । २०८२ सालमा भएको निर्वाचनमा रविले चितवन–२ बाटै ५४ हजार ४०२ मत ल्याएर तोस्रो पटक विजयी भएका थिए ।

नागरिकतासम्बन्धी मुद्दा किनारा लागे पनि रविको टाउकोमाथि दोहोरो राहदानीसम्बन्धी कसुरमा अदालतमा फेरि मुद्दा पर्ने स्थिति बन्यो । तर राहदानीसम्बन्धी कसुरमा अदालतमा मुद्दा अभियोजन नहुने निर्णय महान्यायाधिवक्ताको कार्यालयले फाइल बन्द गरिदिएपछि रविलाई राहत मिलेको थियो ।

यद्यपि सहकारी ठगी प्रकरणमा रविसमेत संलग्न रहेको आरोप लगाउँदै उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित तत्कालीन प्रमुख प्रतिपक्ष दल कांग्रेसले २०८० फागुनको अन्तिमबाट लगातार संसद् अवरुद्ध गर्‍यो । अन्ततः सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन भयो ।

उक्त समितिले चार वटा सहकारीबाट बचत रकम हिनामिना गरी ६७ करोड रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको प्रतिवेदन सभामुखलाई बुझाएको थियो । गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको टेलिभिजनमा रवि प्रबन्ध निर्देशक, जीबी राई अध्यक्ष र छविलाल जोशी उपाध्यक्ष थिए ।

सोही संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रविलाई प्रहरीले २०८१ कात्तिक २ गते पक्राउ गरी हिरासतमा राखेको थियो । कास्की, चितवन, रुपन्देही, काठमाडौँ अदालतको आदेशमा धरौटी रकम बुझाए रिहा भएका उनलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।

उच्च अदालतको आदेश बदर गर्न सर्वोच्च अदालतमा पुनरावेदन गरे पनि उनको पक्षमा आदेश आएन । अहिले सहकारी ठगी मुद्दामा रविसहित छविलाल र जीबी राईलाई राहत मिल्नेगरी विभिन्न जिल्ला अदालतले आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप