युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती
काठमाडौँ । डिफेन्डिङ युरोपेली च्याम्पियन स्पेनले विश्वकप २०२६ को अन्तिम १६ मा अस्ट्रियाको सामना गर्दै क्वार्टरफाइनल प्रवेशको लक्ष्य राखेको छ ।
लगातार तेस्रो विश्वकपमा नकआउट चरण पुगेको स्पेन विश्वकप जित्दै डिफेन्डिङ युरोपेली च्याम्पियनका रूपमा विश्व विजेता बन्ने इतिहास रच्ने अभियानमा छ । यदि स्पेनले यसपटक उपाधि जित्यो भने डिफेन्डिङ युरोपेली च्याम्पियन रहँदै विश्वकप जित्ने तेस्रो टोली बन्नेछ ।
समूह ‘एच’ को विजेता बनेको स्पेनले तीन खेलबाट सात अंक जोडेको थियो । पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गरेको थियो ।
स्पेन उत्कृष्ट लयमा छ । मार्च २०२४ यता उसले खेलेका लगातार ३३ खेलमा हार बेहोरेको छैन । यस अवधिमा स्पेनले २४ खेल जितेको छ भने नौ खेल बराबरीमा टुंगिएका छन् । यस विश्वकपमा पनि स्पेनले अहिलेसम्म कुनै गोल खाएको छैन । यता, अस्ट्रियाले सन् १९८२ पछि पहिलो पटक विश्वकपको समूह चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । उसले पहिलो खेलमा जोर्डनलाई ३–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग २–० ले हार बेहोरेको थियो ।
निर्णायक तेस्रो खेलमा भने अस्ट्रियाले अल्जेरियाविरुद्ध नाटकीय पुनरागमन गर्दै नकआउट चरणको यात्रा तय गर्यो । अल्जेरियाले ९३औं मिनेटमा गोल गरेपछि अस्ट्रिया प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । तर इन्जुरी समयको छैटौं मिनेटमा सासा कालाज्दिचले हेडमार्फत बराबरी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याएका हुन् ।
यद्यपि अस्ट्रियाको रक्षापंक्ति भने चिन्ताको विषय बनेको छ । समूह चरणका तीन खेलमा उसले कुल ६ गोल खाएको थियो, जुन नकआउट चरणमा पुगेका ३२ टोलीमध्ये संयुक्त रूपमा चौथो धेरै हो ।
बेटिङ बजारले स्पेनलाई स्पष्ट फेभरेट मानेको छ । तथ्यांकमा स्पेनको जित्ने सम्भावना अस्ट्रियाको तुलनामा निकै बलियो छ । स्पेन समूह विजेता बने पनि आफ्नो सामान्य स्तरअनुसार पूर्ण रूपमा प्रभावशाली प्रदर्शन गर्न नसकेको टोली हो ।
स्पेन सहज रूपमा क्वार्टरफाइनल पुग्ने सम्भावना भए पनि खेलमा धेरै गोल नहुने खेल विश्लेषकहरूले विश्लेषण गरेका फक्स स्पोर्ट्सले लेखेको छ । स्पेनले प्रतियोगिताभर कुनै गोल नखाएको तथा अस्ट्रियाले अर्जेन्टिनालाई पनि दुई गोलमा सीमित राखेको तथ्यलाई आधार मान्दै विश्लेषकहरूले कुल २.५ गोलभन्दा कम हुने सम्भावना औंल्याएका छन् ।
अर्जेन्टिनाविरुद्ध अस्ट्रियाले खाएका दुई गोलमध्ये एक पेनाल्टीबाट आएको थियो भने अर्को इन्जुरी समयमा लियोनेल मेस्सीको उत्कृष्ट व्यक्तिगत प्रयासबाट सम्भव भएको थियो । व्यक्तिगत गोलकर्ताको सम्भावनामा स्पेनका मिकेल ओयार्जाबाल, बोर्जा इग्लेसियास, लामिन यामाल र फेरान टोरेसलाई अग्रस्थानमा राखिएको छ भने अस्ट्रियाका अनुभवी फरवार्ड मार्को अर्नाउटोभिच टोलीका मुख्य गोल आशा मानिएका छन् ।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस स्टेडियममा हुने यस खेलको विजेताले क्वार्टरफाइनलमा पोर्चुगल र क्रोएसियाबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खेल नेपाली समअनुसार बिहीबार राति पौने १ बजे (आइतबार बिहान) हुँदै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण