शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

भारतीय सहयोगमा पुनर्निर्माण भएको ज्येष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण

शुक्रबार, १९ असार २०८३, ११ : ००
शुक्रबार, १९ असार २०८३

सारांश

  • भारत सरकारको सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारलाई युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्रदान गरिएको छ।
  • युनेस्कोले यस परियोजनाको अनुकरणीय समुदाय–केन्द्रित दृष्टिकोण, ऐतिहासिक नेवारी काष्ठकला र परम्परागत वास्तुकलाको संरक्षणसँगै आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई सफलतापूर्वक सन्तुलन मिलाएको भन्दै पुरस्कार दिएको हो।
  • भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत १३ करोड ७८ लाख रुपैयाँ लागतमा यस महाविहारको संरक्षण कार्य गरेको थियो।

ललितपुर । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित ऐतिहासिक ज्येष्ठ वर्ण महाविहारले प्रतिष्ठित २०२५ युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ। 

महाविहार परिसरमा आयोजित एक विशेष समारोहका बिच उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा धातुको पट्टिका र आधिकारिक प्रमाणपत्र ज्येष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गरे। कार्यक्रममा स्थानीय समुदायका सदस्य, इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद् र नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत १३ करोड ७८ लाख रुपैयाँ लागतमा यस महाविहारको संरक्षण कार्य गरिएको हो। पुनर्निर्माणका लागि भारत सरकारले प्राविधिक विशेषज्ञता उपलब्ध गराउन भारतको ‘इन्ट्याक’ लाई परियोजना व्यवस्थापन परामर्शदाता नियुक्त गरेको थियो। 

WhatsApp Image 2026-07-02 at 22.56.17

इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको थियो। यस परियोजनाको उद्घाटन २०८० चैत्र ९ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र तत्कालीन सहरी विकास मन्त्री धनबहादुर बुढाले संयुक्त रूपमा गरेका थिए।

युनेस्कोले यस संरक्षण परियोजनाको अनुकरणीय समुदाय–केन्द्रित दृष्टिकोण, जटिल ऐतिहासिक नेवारी काष्ठकला र परम्परागत वास्तुकलाको संरक्षणसँगै आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई सफलतापूर्वक सन्तुलन मिलाएको भन्दै यो पुरस्कार प्रदान गरेको हो। संरक्षण प्रक्रिया चलिरहँदा पनि नेवार बौद्ध समुदायको जीवन्त सम्पदा, दैनिक अनुष्ठान र सांस्कृतिक अभ्यासहरू बिना कुनै अवरोध निरन्तर सञ्चालन भएका थिए।

२०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत सरकारले १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो। सोहीअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० वटा विद्यालय, एक पुस्तकालय, १२२ वटा स्वास्थ्य संस्था र १७ वटा सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ। अहिले थप १४ विद्यालय, ११ स्वास्थ्य संस्था र १३ वटा सांस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणको विभिन्न चरणमा छन्।

भारत सरकारले नेपालका ८ जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र गोरखा) मा रहेका ३० वटा सांस्कृतिक सम्पदा परियोजनाहरूको संरक्षण र पुनर्स्थापनामा सहयोग गरिरहेको छ। यसमा काठमाडौँको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर र ज्येष्ठ वर्ण महाविहार, भक्तपुरको जंगम मठ र सिन्धुपाल्चोकको तार्केघ्याङ गुम्बा जस्ता उल्लेखनीय सम्पदाहरू समावेश छन्।

WhatsApp Image 2026-07-02 at 22.56.14 (1)

हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय दूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले सरोकारवालाहरूलाई बधाई दिँदै ज्येष्ठ वर्ण महाविहार परियोजनाको सफलताले भारत र नेपालबीचको गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रस्ट पारेको बताए। भारत सरकार साझा सांस्कृतिक पहिचानको संरक्षणमा नेपालसँग साझेदारी गर्न निरन्तर प्रतिबद्ध रहेको उनले दोहोर्‍याए।

WhatsApp Image 2026-07-02 at 22.56.15

यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ज्येष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको भूमिकाको चर्चा गर्दै यसले बलियो भारत–नेपाल विकास साझेदारीलाई प्रतिबिम्बित गरेको बताए। उनले ललितपुरका अन्य सम्पदाहरूको पुनर्स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार प्रकट गरे। ज्येष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति हार्दिक आभार प्रकट गर्दै पुनर्स्थापना गरिएको महाविहार समुदायको उत्थानशीलता र द्विपक्षीय मित्रताको गौरवशाली प्रतीकका रूपमा खडा रहेको उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप