नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
सारांश
- नेपालको विद्यालय शिक्षामा छात्र र छात्राबिचको भिन्नता बढ्दो छ, जहाँ सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या बढी छ भने निजी विद्यालयमा छात्रको सङ्ख्या उल्लेख्य छ ।
- सामुदायिक विद्यालयमा प्रति १९ विद्यार्थी बराबर १ शिक्षक उपलब्ध छन् भने संस्थागत विद्यालयमा प्रति ३७ विद्यार्थी बराबर १ शिक्षकको अनुपात रहेको छ ।
- विद्यार्थीको कक्षा छोड्ने दर बढे पनि यसको कारणबारे प्रस्ट निष्कर्ष नआइसकेको र यसका बहु कारण रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
पोखरा । निःशुल्क गुणस्तरीय शिक्षाको बहस आजभोलि खासै सुनिँदैन । समानता र समताको बहस पनि मधुरो भइसकेको छ । तथ्याङ्कले चाहिँ यो खाडललाई झनै बढाएको देखाउँछ ।
नेपालको विद्यालय शिक्षामा छात्र र छात्राबिचको भिन्नता बढ्दो छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा १ देखि १२ सम्म सरकारी र संस्थागत निजी विद्यालयलाई लैङ्गिक हिसाबले छुट्ट्याएको छ । सरकारी विद्यालयहरू छात्राले धानिरहेका छन् भने निजीमा छात्रको सङ्ख्या उल्लेख्य देखिएको छ ।
कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा हाल ४३ लाख ८३ हजार ६५५ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये छात्राको सङ्ख्या ५१ प्रतिशतभन्दा बढी अर्थात् २२ लाख ५५ हजार ९ २५ छ भने छात्रको सङ्ख्या २१ लाख २७ हजार ७३० छ । अर्कोतर्फ, निजी विद्यालयमा यही अवधिमा १ देखि १२ कक्षासम्म २६ लाख ५७ हजार १७० विद्यार्थी अध्ययनरत छन् । यसमा छात्रको सङ्ख्या १५ लाख ५२ हजार २ सय अर्थात् करिब ५८.४ प्रतिशत छ । छात्राको सङ्ख्या ११ लाख ४ हजार ९७० अर्थात् करिब ४१.६ प्रतिशतमात्र छ ।
देशभर प्रारम्भिक बाल विकास केन्द्रको सङ्ख्या ४२ हजार ६१९ छ भने कक्षा १–१२ सम्म पठनपाठन हुने विद्यालय ३५ हजार ९५१ वटा छन् । यसमध्ये सामुदायिक विद्यालय २७ हजार १०, संस्थागत विद्यालय ८ हजार ९४१ र धार्मिक विद्यालयको सङ्ख्या १ हजार ३८७ छ । तहगत रूपमा हेर्दा आधारभूत तहसम्म अध्यापन हुने विद्यालयको सङ्ख्या सबैभन्दा बढी अर्थात् १७ हजार ५७३ वटा छ ।

- सामुदायिकमा १ शिक्षकलाई १९ विद्यार्थी, संस्थागतमा ३७ विद्यार्थीको जिम्मा
सामुदायिक विद्यालयको आधारतभूत तहमा १९ विद्यार्थी बराबर १ जना शिक्षक उपलब्ध छन् । संस्थागत विद्यालयमा भने प्राथमिक तहमा प्रति ३७ विद्यार्थी बराबर १ शिक्षक छन् । उच्च माध्यमिक तहमा विद्यार्थी–शिक्षक अनुपात निकै चुनौतीपूर्ण देखिन्छ । सामुदायिक विद्यालयको कक्षा ११–१२ मा प्रति ५० विद्यार्थी बराबर १ शिक्षक र संस्थागतमा प्रति ६० विद्यार्थी बराबर १ शिक्षक कार्यरत छन् ।
यस्तै, आजभोलि विद्यार्थीको कक्षा छोड्ने दर पनि उस्तै बढेको छ । आधारभूत तहमा औसत कक्षा वृद्धिदर ८९.३ प्रतिशत छ भने कक्षा दोहोर्याउने दर ८.४ र विद्यालय छाड्ने दर २.३ प्रतिशत छ । विशेषगरी कक्षा १ मा कक्षा दोहोर्याउने दर १६ प्रतिशत र छोड्ने दर ४.४ प्रतिशत देखिन्छ । माध्यमिक तहमा कक्षा वृद्धि दर ९३.१ प्रतिशत, कक्षा दोहोर्याउने दर ५.१ प्रतिशत र छोड्ने दर १.८ प्रतिशत छ ।
कक्षा छोड्ने दर बढे पनि यसको कारणबारे अझै प्रस्ट निष्कर्ष नआइसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी निमप्रसाद सिंह राठौरले बताए । ‘यसका कारण एकमात्रै छैनन्, बहु कारण छन्,’ उनले भने, ‘स्थानीय रूपमै कारण खोजी गर्न केन्द्रले अभियान गरिरहेको छ ।’
राठौरले विद्यार्थीको सङ्ख्या भने खासै बढ्ने अवस्था नरहेको सुनाए । ‘नेपालको जन्मदर कन्स्ट्यान्ट छ । त्यसैले विद्यार्थी पनि अब धेरै बढ्ने भन्ने सम्भावना कम छ,’ उनले भने, ‘भइरहेका विद्यालयलाई व्यवस्थित र चुस्त हिसाबले चलाउन सकियो भने नै राम्रो हो ।’
अहिले धेरै पहाडी र हिमाली विद्यालयहरू विद्यार्थी सङ्ख्याको अभावमा मर्ज हुने क्रममा छन् । कतिपय मर्ज भइसकेका पनि छन् । सामान्य विद्यालयमात्रै होइन, सरकारले नै निकै चासोका साथ खोलेको प्राविधिक विद्यालयहरूको अवस्था पनि दयनीय अवस्थामा पुगेको तथ्याङ्कले देखाउँछ ।
देशभर प्राविधिक धारतर्फ कुल ५६९ विद्यालय सञ्चालनमा छन्, जसमध्ये केन्द्र सरकारबाट ५३५, प्रदेशबाट १ र स्थानीय तहबाट ३३ वटा विद्यालय सञ्चालित छन् । राठौरका अनुसार केही विद्यालय अहिले नै खारेज गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । प्रादेशिक रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ११५ र कर्णाली प्रदेशमा सबैभन्दा कम ३८ प्राविधिक धारका विद्यालयहरू सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीको उपाधि विक्रमनाथलाई
-
खुला प्रतिस्पर्धाबाट नियुक्त कर्मचारीको ज्येष्ठता नियुक्ति पाएको मितिबाटै कायम हुने
-
बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुषमा अशोक भण्डारी र महिलामा पूजा साउँद ‘सुदूरपश्चिम आइकन’
-
कर्मचारी नपठाएर मौलापुरको बजेट ‘फ्रिज’ गराउन खोजिएको मेयर साहको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण