आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन

आइतबार, २१ असार २०८३, ०८ : ५०
आइतबार, २१ असार २०८३

सारांश

  • देशभरका ७ सडकखण्ड बाढी, पहिरो, सडक मर्मत र वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
  • बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्ड सम्भावित बाढीका कारण बन्द छ भने मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्ड मर्मतका लागि साउन २५ गतेसम्म बन्द रहनेछ।
  • कर्णाली प्रदेशको भेरी करिडोर दुई स्थानमा र सुदूरपश्चिमको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण अवरुद्ध छ।

काठमाडौं । देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण आइतबार बिहान ८ः३० बजेसम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी समस्या देखिएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक साउन २५ गतेसम्म बन्द रहने जनाइएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

गण्डकी प्रदेशमा कास्कीको पोखरा–२२ क्षेत्रमा रहेको सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द छ।

लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाएर सवारी सञ्चालन सुचारु गरिएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा रहेको घोराही–रुकुम शहीद मार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप