सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
देउवा समूहको बैठक

वरिष्ठ नेता बनाउने विश्वप्रकाशको प्रस्ताव अस्वीकार गरेको पूर्णबहादुरको ब्रिफिङ

सोमबार, २२ असार २०८३, १६ : २०
सोमबार, २२ असार २०८३

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई वरिष्ठ नेता बनाउने संस्थापनको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
  • उपसभापति विश्वप्रकाश शर्माले संस्थापनका तर्फबाट वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको खड्काले बैठकमा ब्रिफिङ गरेका हुन् ।
  • खड्काले आफू र डा. शेखर कोइरालासहित १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरेको पनि जानकारी दिए ।

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई वरिष्ठ नेता बनाउने संस्थापनको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा ब्रिफिङ गर्दै खड्काले उपसभापति विश्वप्रकाश शर्माले संस्थापनका तर्फबाट वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको बताएका हुन् । 

‘विश्वप्रकाश शर्माले मलाई र डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति बनेको छ भन्नुभयो,’ खड्काले बैठकमा भने, ‘उक्त प्रस्ताव मैले अस्वीकार गरे ।’

उपसभापति शर्मा र संस्थापनका अन्य नेताहरूले आफूलाई गरेका प्रस्तावबारे ब्रिफिङ गर्दै खड्काले त्यस्तो बताएका हुन् । 

पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा आफूले आफू र डा.शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरेको ब्रिफिङ गरेका हुन् । 

शर्माले संस्थापनका तर्फबाट पठाएको ७ बुँदे प्रस्तावको लिखित जवाफ आफूले बुझाइसकेको खड्काले बताए । शर्माले जसरी आफूले पनि ह्वाट्सअपमा टाइप गरेर जवाफ सुनाएको खड्काले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

खड्काले त्यसपछि शर्माले महामन्त्री गगन थापालाई सबै कुरा सुनाउने र आफूलाई पनि इतर समूहका नेताहरूलाई जानकारी गराउन आग्रह गरेका थिए। साथै गगन थापासँग प्रत्यक्ष छलफल गर्न पनि सुझाव दिएका थिए।

खड्काले त्यसपछि अर्को दिन बिहान ९ बजेसम्म कुनै औपचारिक जानकारी नआएको र त्यसको केही समयपछि महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ भन्ने समाचार सार्वजनिक भएको पनि बैठकमा ब्रिफिङ गरे । 

खड्काले त्यसपछि पनि विश्वप्रकाश शर्माले संवाद भइरहेका बेला संवाद नभएको भनिएको भन्दै आपत्ति जनाएको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप