बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा

बिहीबार, २५ असार २०८३, १६ : २९
बिहीबार, २५ असार २०८३

काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का वडा सचिव हिरालाल काफ्लेले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सरकारी सेवामा नियुक्ति र बढुवा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। 

काफ्लेले अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएको र सोही आधारमा वडा सचिव पदमा कार्यरत रहेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा काफ्लेले अर्जुनचौपारी गाउँ विकास समितिको कार्यालय स्याङ्जामा विभिन्न समयमा नियुक्ति र बढुवा लिन नक्कली कागजात पेस गरेको पुष्टि भएको छ। उनले मिति २०५७ जेठ २ गते कार्यालय सहायक (रा.प.अनं. तृतीय) पदमा अस्थायी नियुक्ति लिन र मिति २०६४ साउन ६ मा खरिदार पदमा पुनः अस्थायी नियुक्ति लिन सोही प्रमाणपत्र प्रयोग गरेका थिए। 

यसैगरी, मिति २०६७ कात्तिक १५ मा सहायकस्तर तेस्रो तह (मुखिया) पदमा स्थायी नियुक्ति हुन, मिति २०७२ माघ १ गते सहायकस्तर चौथो तह खरिदार पदमा बढुवा हुन र मिति २०७९ माघ १० मा गाउँ कार्यपालिकाको कार्यालय अर्जुनचौपारीमा सहायकस्तर पाँचौ तहमा तहवृद्धि हुनका लागिसमेत सोही झुट्टा प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको छ।

काफ्लेले भारतको आसाम प्रदेशको गुहाटीस्थित ‘बोर्ड अफ सेकेन्डरी एजुकेसन आसाम’ बाट सन् १९९८ मा एसएलसी सरहको परीक्षा ‘एचएसएलसी (रिपिटर्स)’ उत्तीर्ण गरेको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। सरकारी सेवामा नियुक्ति तथा पदोन्नति लिई आफूले नपाउने ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप