प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
सारांश
- त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै एक युवाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्, जसको स्वास्थ्य अवस्था गम्भीर छ ।
- यो घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनालाई स्मरण गराएको छ ।
- तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रेमप्रसादको घटनालाई 'राज्यको चरम असफलता' भनेका थिए, तर अहिले उनी प्रधानमन्त्री छन् र गणेश नेपालीको घटनामा मौन छन् ।
काठमाडौँ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको एक घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ ।
जहाँ एक २५ वर्षे युवा (गणेश नेपाली) ले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेका नेपालीको ५० प्रतिशत भन्दा बढी शरीर जलेको उपचारमा संलग्न प्लास्टिक सर्जन डा.पीयूष दाहालले जनाएका छन् ।
दाहालले रातोपाटीसँग भने,‘हात घाँटी, टाउकोमा जलन भएको छ । ५० प्रतिशत भन्दा बढी जलेको छ । उहाँको सघन कक्षमा उपचार भइरहेको छ ।’
यस्तै घटना २०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले सङ्घीय संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । सोही कारण उनको ज्यान गएको थियो । संयोग नै मान्नुपर्छ तीन वर्षअघिको बानेश्वर घटना र आज त्रिपुरेश्वरमा भएको घटना पनि काठमाडौँ महानगरपालिकाभित्र नै हुन पुगेका छन् ।
त्यतिबेला काठमाडौँ महानगरको मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाह थिए । प्रेमप्रसाद आचार्यको घटनापछि तत्कालीन मेयर शाहले आक्रोश पोखेका मात्रै थिएनन्, राज्यको चरम असफलता भनेका थिए ।
‘सबैभन्दा ठुलो कारण राज्य हो र सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो’, प्रेमप्रसादको घटनापछि बालेनले फेसबुकमा लेखेका थिए ।
अहिले तिनै बालेन मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) पदमा आसीन छन् । उनै बालेन नेतृत्वको सरकार र सरकार मातहत रहेको नगर प्रहरीको कायैशैलीका कारण युवा गणेश नेपालीले आफैँमाथि आगो लगाउन पुगेका छन् ।
प्रेमप्रसादले आत्मदाह प्रयासलाई विद्रोह भन्ने बालेनले गणेशको सवालमा भने मुख खोलेका छैनन् ।मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका गणेश कृषि विषयमा स्नातक उत्तीर्ण युवा भएको बताइएको छ ।
देशमा रोजगारी नपाएपछि विगत दुई वर्षदेखि काठमाडौँमा पठाओ चलाएर परिवार पाल्दै आएका उनलाई बिहीबार महानगरको नगर प्रहरीले सडक छेउमा पार्किङ गरेकै भरमा मोटरसाइकल लक गरेको बताइन्छ । त्यसपछि उनले अप्रिय निर्णय गर्न बाध्य भएका थिए ।
प्रेमप्रसादको घटनापछि त्यसबेला बालेनले लेखेका थिए, ‘कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचना निर्माण गर्नेछ ।’
के लेखेका थिए बालेनले त्यसबेला ?
एक जना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् ।
एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।
नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चारमाध्यमका रूपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन ।
जनप्रतिनिधिका रुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शङ्कामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाका रुपमा त्यो सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्ता स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमका रुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौँ महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुँदैछन् । नागरिक तहदेखि सङ्घीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण