रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनबाट पारित विधान अनुसार वरिष्ठ नेतामा बालेन शाहसँगै अर्का नेतालाई मनोनीत गर्ने तयारी थालेको छ ।
चितवनमा सम्पन्न प्रथम महाधिवेशनले विधान संशोधन गरी दुई वा दुईभन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था गरेको थियो । विधान अनुसार पार्टीको नीति निर्माण र सांगठनिक सुदृढीकरणमा लामो समयदेखि विशेष योगदान पुर्याएका तथा उच्च राजनीतिक अनुभव हासिल गरेका नेतालाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले वरिष्ठ नेतामा मनोनीत गर्ने व्यवस्था छ ।
वरिष्ठ नेताको व्यवस्था प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र (बालेन) शाहलाई मनोनीत गर्ने हिसाबले विधानमा गरिएको हो । तर संशोधित विधानमा दुई वा दुईभन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था भएकाले बालेन बाहेक अन्य नेताको पनि चासो देखिएको छ ।
यस पदका लागि डा. अमरेश कुमार सिंहको चर्चा छ । पछिल्लो समय सरकारप्रति असन्तुष्ट रहेका सिंह महाधिवेशनमा पनि सहभागी भएनन् । सरकारको कार्यशैलीलाई लिएर उनले संसद् र मिडियामा खुलेर विरोध गरेका थिए । सरकार गठनको बेला गृहमन्त्री बन्न चाहेका उनी बालेनको रोजाइमा पर्न सकेनन् । बालेनले सुधन गुरुङलाई गृहमन्त्री बनाएर सिंहलाई उद्योगमन्त्रीमा प्रस्ताव गरेका थिए । गृहमन्त्री नपाए परराष्ट्रमन्त्री बनाउनुपर्ने प्रस्ताव उनले रवि–बालेनसँग राखेका थिए । तर परराष्ट्रमन्त्रीमा पहिले नै शिशिर खनाललाई बनाउने सहमति भएपछि सिंह असन्तुष्ट थिए ।
चारदिने चीन भ्रमणमा रहेका सिंह शनिबार स्वदेश फर्किंदैछन् । पुराना राजनीतिज्ञ तथा भारत निकटस्थ मानिने सिंहलाई वरिष्ठ नेता बनाइएमा शक्ति सन्तुलनमा मद्दत पुग्ने भएकाले उनको सम्भावना रहेको एक नेताले बताए । ती नेताका अनुसार सिंहले वरिष्ठ उपसभापति बन्ने चाहना राखेका थिए । संशोधित विधानमा यो पदको व्यवस्था छैन ।
‘सरकारको कार्यशैलीप्रति सिङ्गो मधेस असन्तुष्ट छ । बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेकै कारण निर्वाचनमा मधेसका ३२ सिटमध्ये ३० सिट जित्न रास्वपा सफल भएको हो । तर मधेसी समुदायबाट एक जना पनि पदाधिकारीमा प्रतिनिधित्व हुन सकेन’, रातोपाटीसँग ती नेताले भने, ‘अमरेशजी पुराना अनुभवी र परिपक्व राजनीति राजनीतिज्ञ भएकाले उहाँलाई वरिष्ठ नेता बनाइएमा मधेसको असन्तुष्टि रोक्न र भारतसँग सम्बन्ध विस्तारमा थप मद्दत पुग्नेछ ।’
महाधिवेशनपछि सिंहले रवि र बालेनसँग भेट गरेको विषयमा उनको सचिवालयले स्विकारे पनि छलफलको विषय थाहा नभएको बताएको छ ।
‘महाधिवेशनपछि सभापति र वरिष्ठ नेतासँग भेट गर्नुभएको छ । तर के–के विषयमा छलफल भयो भन्ने थाहा भएन’, सिंहको सचिवालयले भन्यो ।
यता महामन्त्री विपिन कुमार आचार्यले सिंहलाई वरिष्ठ नेता बनाउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । यदि त्यस्तो भएको भए आगामी केन्द्रीय समिति बैठकमा थाहा हुने उनले प्रस्ट पारे ।
विधान अनुसार वरिष्ठ नेता प्रधानमन्त्री बालेनमात्र रहेको आचार्यले जनाए । ‘सहमति भएको भए केन्द्रीय समिति बैठकमा थाहा हुन्छ । यसमा मेरो स्पष्ट विचार छ । वरिष्ठ नेता प्रधानमन्त्री बालेनमात्र हो र हुनुपर्छ’, उनले भने ।
विधानको ञ(२) अनुसार पार्टीको सांगठनिक मर्यदाक्रम तथा केन्द्रीय समितिको बैठक लगायत सम्पूर्ण औपचारिक कार्यक्रमहरुमा वरिष्ठ नेताको वरीयता सभापतिपछिको दोस्रो स्थानमा रहने व्यवस्था छ ।
दुई वा दुईभन्दा बढी वरिष्ठ नेता भएको अवस्थामा निजहरूको वरीयता केन्द्रीय समितिले निर्णय गरे बमोजिम हुने भनिएको छ । वरिष्ठ नेतामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको पनि चर्चा चलेको छ । एक जना मनोनीत सभापतिमा भौतिक पूर्वाधारमन्त्री रहेका सुनिल लम्सालको सम्भावना बलियो छ । महामन्त्रीमा भूपदेव शाह र प्रधानमन्त्रीका नीति, प्रशासन र सुशासन सल्लाहकार सुदिप ढकालको चर्चा छ । पछिल्लो समय ढकालको सम्भावना बलियो बन्दै गएको अर्का एक नेताले बताए ।
‘प्रथम महाधिवेशन एकताको महाधिवेशन पनि भएकाले ५१ जना मनोनयन गर्ने अधिकार दिएको हो । विश्वभरिको अभ्यास बढीमा १० प्रतिशतसम्म मनोनीत गर्ने भन्ने छ’, ती नेताले भने, ‘महाधिवेशनमा महत्त्वपूर्ण व्यक्ति पनि पराजित हुन सक्छन् । विभिन्न समूह मिलेर रास्वपा ठुलो पार्टी बनेको हो । वरिष्ठ नेतामा बालेन, उपसभापतिमा सुनिल र महामन्त्रीमा भूपदेवलाई नै छुट्ट्याइएको हो । तर सुदिपको सम्भावना बलियो देखिन्छ ।’
रवि र बालेनलाई मिलाउन महत्त्वपूर्ण भूमिका खेलेको हिसाबले महामन्त्रीमा गृहमन्त्री सुधन गुरुङलाई बनाउनुपर्ने लविङ भइरहेको बुझिएको छ । रास्वपाका साधारण सदस्यमात्र रहेका अमरेश, बेन, सुनिल, भूपदेव र सुधनले महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवारी दिएका थिएनन् । तर ढकाललाई महामन्त्री बनाउँदा निवर्तमान महामन्त्री रहेका भूपदेवलाई कहाँ व्यवस्थापन गर्ने भन्नेमा ठोस निष्कर्ष निस्केको छैन ।
‘महामन्त्रीमा भूपदेव र सुदिपबिच शीतयुद्ध जस्तै चलेको छ । कार्यक्षमतामा सुदिप अगाडि छन् । भूपदेव महामन्त्री भइसकेकाले कहाँ व्यवस्थापन गर्ने भन्नेमा निष्कर्षमा पुगेको छैन । सुनिललाई वरिष्ठ नेता बनाएर उपसभातिमा भूपदेवलाई लैजानुपर्ने पनि हुन सक्छ’, ती नेताले भने ।
उनीहरू सबै बालेन समूहबाट रास्वपामा प्रवेश गरेका थिए । यस समूहले मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची उपलब्ध नगराउँदा केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको संस्थापन पक्षको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण