नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
सारांश
- आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा नेपाली भाषा र साहित्यमा उहाँको योगदानलाई स्मरण गरिएको छ ।
- भानुभक्तले नेपाली भाषामा रामायण अनुवाद गरी साहित्यलाई जनताको पहुँचमा पुर्याएकाले उहाँ नेपाली भाषा र साहित्यका अमर विभूति हुनुहुन्छ ।
- पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत भावात्मक एकीकरण गरेका हुन् ।
आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती हो । वि.सं. १८७१ असार २९ गते जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पुर्याएका कारण उनी नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा सुपरिचित छन् ।
उनका कृतिले नेपाली भाषाको विकासमा पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुन् । धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रका रूपमा उनको जन्म तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो ।
उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए । उनलाई आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए । उनका बुबा धनञ्जय राणा शासनकालमा सरकारी जागिरे थिए । भानुभक्तका हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू सङ्कलन र लेखन गरेका थिए ।
मोतिराम भट्टले भानुभक्तलाई पहिलोपटक नेपाली भाषाका ‘आदिकवि’ को उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् । नेपाली वाङ्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक थिए । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक, रागीवन र मृत्युका प्रतीक मानिने राजमहलबाट रामले गरेको वनवास यात्राले 'लोकहितका निम्ति जस्तोसुकै त्याग पनि गर्नुपर्छ' भन्ने आदर्श उनले प्रचार गरेका थिए ।
नेपाली जगत्मा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूतिको जस्तो सम्मान पाएका हुन् । भानुभक्त आचार्यको जन्मजयन्तीको उपलक्ष्यमा हरेक वर्ष भानुजयन्ती मनाइने गरिन्छ । हरेक वर्ष नेपाल सरकार र नेपाली जनताका साथै विश्वभर छरिएर रहेका नेपालीभाषीले यो पर्व मनाउने गर्दछन् । भानुजयन्ती विश्वभर छरिएर रहेका नेपालीमाझ प्रचलित सांस्कृतिक पर्वसमेत हो । प्रत्येक वर्ष भानुजयन्तीका अवसरमा नेपाली लेखक, उपन्यासकार तथा अन्य साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा साहित्यिक गोष्ठी र कार्यक्रमहरूका साथ यसलाई एक विशाल समारोहका रूपमा मनाउने गरिन्छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीको भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत भावात्मक एकीकरण गरेका हुन् । उनलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको कुरा हामी विभिन्न ऐतिहासिक एवम् साहित्यिक दस्तावेजहरूमा पाउँछौँ ।
‘वधूशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायतका कृतिहरू रहेका छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्य सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी थिए । उनले कवितामार्फत भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन तथा राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता हो । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तर तहमा थुप्रै शोधग्रन्थहरू लेखिएका छन् ।
आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि बेलाबेलामा उठ्ने गरेका छन् । तर रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकतामा महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित नै हुन्छ । रामायण ग्रन्थले नै भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ । आदिकवि आचार्यको निधन वि.सं. १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मा, अमेरिकालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
तसर्थ, नेपाली काव्य संसारमा भानुभक्त आचार्यको महत्त्वपूर्ण स्थान रहेको छ । उनको नेपालमा भन्दा भारतमा बढी महत्त्व रहेको कतिपयको बुझाइ छ । विभिन्न भारतीय भाषामा रामायणको विशिष्ट स्थान रहेजस्तै भारतीय भाषाकै रूपमा भानुभक्तको रामायणको पनि उच्च स्थान रहेको पाइन्छ । संस्कृत, गुजराती, मराठी, मैथिली, ओडिया, तमिल, तेलुगु, कन्नड, हिन्दी आदि भाषाहरूमा रामायणका अनेक कृतिहरू प्रकाशित छन् । नेपालीमा पनि रामकाव्य परम्पराका लगभग तीसवटा जति काव्य र पुस्तक प्रकाशित भएका हामी पाउँछौँ । तीमध्ये भानुभक्तको रामायणलाई सर्वोत्तम मानिन्छ । रामायणलाई भानुभक्तले खुबै दक्षताका साथ रोचक बनाएका छन् । मूल कथावस्तुलाई नबिगारी सारभूत कथावस्तु लिएर उनले यसलाई पाठकसामु प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण