सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन

सोमबार, २९ असार २०८३, १९ : २१
सोमबार, २९ असार २०८३

सारांश

  • हेटौँडाबाट काठमाडौँ जाने सवारी साधनलाई पहिरो र सडक अवरोधको जोखिम बढेपछि हेटौँडामै रोकिएको छ।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारी आवागमन स्थगित गरिएको छ।
  • मौसममा सुधार आएपछि र सडकको अवस्था सुरक्षित देखिएपछि मात्रै सवारी सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

मकवानपुर । लगातारको अविरल वर्षासँगै पहिरो र सडक अवरोधको जोखिम बढेपछि हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई सोमबार साँझदेखि हेटौँडामै रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा हेटौँडा–भैँसे–भीमफेदी–देउराली हुँदै काठमाडौँ जाने सबै सवारी साधनलाई हेटौँडा–१ चौकीटोलमा होल्ड गरिएको हो।

प्रशासनले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन स्थगित गरेको जनाएको छ।

लगातारको वर्षाका कारण भीमफेदी, भैँसे, देउराली तथा सिस्नेरी क्षेत्रका पहाडी सडकमा जुनसुकै बेला पहिरो खस्न सक्ने तथा सडक अवरुद्ध हुन सक्ने जोखिम बढेपछि सवारी सञ्चालन रोकिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार सडकमा यात्रु अलपत्र पर्ने, दुर्घटना हुने तथा उद्धारमा कठिनाइ हुने अवस्था आउन नदिन पूर्वसावधानीका रूपमा सवारी साधनलाई चौकीटोलमै रोक्ने व्यवस्था गरिएको छ।

निर्णय लागू भएसँगै काठमाडौँ गन्तव्य बनाएका लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन, मालवाहक ट्रक तथा अन्य सवारी चौकीटोल क्षेत्रमा रोकिएका छन्। प्रहरी टोलीले प्रशासनको निर्णय कार्यान्वयन गराउँदै चालक तथा यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मौसममा सुधार आएपछि तथा सडकको अवस्था सुरक्षित देखिएपछि मात्रै सवारी सञ्चालन गरिने बताए। 

उनले मौसम र सडकको अवस्थाको निरन्तर अनुगमन भइरहेको जानकारी दिँदै अनावश्यक यात्रा नगर्न र प्रशासनले जारी गरेका सूचनाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप