सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
इरान युद्ध

अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र

इरानद्वारा बहराइन र जोर्डनका सैन्य अखडामा निसाना
सोमबार, २९ असार २०८३, ०८ : ४५
सोमबार, २९ असार २०८३

सारांश

  • अमेरिकी सेनाले इरानमाथि गरेको आक्रमण सकिएको बताएको छ।
  • स्ट्रेट अफ होर्मुजबाट हुने पानीजहाजको आवतजावतमा इरानले गर्दै आएको आक्रमण रोक्न यो कदम चालिएको थियो।
  • इरानको आईआरजीसीले अमेरिकी आक्रमणको जवाफमा जोर्डन र बहराइनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ।

तेहरान । अमेरिकी सेनाले इरानमाथि गर्दै आएको पछिल्लो शृङ्खलाको आक्रमण हाललाई सकिएको बताएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथिको ‘नयाँ चरणको आक्रामक हमला पूरा गरेको’ जनाएको हो। 

स्ट्रेट अफ होर्मुजबाट हुने अन्तर्राष्ट्रिय पानीजहाजको आवतजावतमा इरानले गर्दै आएको आक्रमणलाई रोक्न यस्तो कदम चालिएको सेन्टकमको भनाइ छ। यसका लागि ‘विभिन्न स्थानका दर्जनौँ निसानामा सटिक हतियार प्रहार गरिएको’ विज्ञप्तिमा उल्लेख छ।

सेन्टकमले इरानको ‘हवाई रक्षा प्रणाली, तटीय राडार स्थल, क्षेप्यास्त्र र ड्रोन क्षमता तथा साना डुङ्गाहरू’ लाई निसाना बनाएको जनाएको छ। आक्रमणमा अमेरिकी लडाकु विमान, नौसेनाका जहाज, एकतर्फी आक्रमण गर्ने हवाई ड्रोन र पहिलोपटक समुद्री ड्रोनसमेत प्रयोग गरिएको थियो। 

अमेरिकी सेनाले आक्रमण सकिएको घोषणा गर्नुभन्दा केही बेरअघि मात्र इरानको दक्षिणी होर्मोज्गान प्रान्तस्थित बन्दर अब्बासमा कम्तीमा दुईवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी इर्नाले जनाएको छ।

यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफ दिने क्रम सुरु गरेको छ। आईआरजीसीले पहिलो चरणअन्तर्गत जोर्डनस्थित प्रिन्स हसन हवाई अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणबाट त्यहाँ रहेका इन्धन भण्डार र हतियार राख्ने गोदाममा आगो लागेको बताइएको छ। 

होर्मुज जलमार्गमा ट्र्याकिङ प्रणाली बन्द गरेर अवैध रूपमा यात्रा गरेको आरोपमा इरानी नौसेनाले दुईवटा जहाज रोकेपछि अमेरिकाले इरानी तटीय सैन्य अखडामा आक्रमण गरेको थियो। सोही अमेरिकी कदमको जवाफमा जोर्डनमा आक्रमण गरिएको इरानको दाबी छ।

त्यसैगरी, आईआरजीसीले आफ्नो प्रत्याक्रमणको दोस्रो चरणअन्तर्गत बहराइनको सेख इसा हवाई अखडाका विभिन्न संरचनामा निसाना बनाएको दाबी गरेको छ। एक विज्ञप्ति जारी गर्दै आईआरजीसीले आफ्नो एयरोस्पेस बलले हेलिकोप्टर मर्मत केन्द्र, पी–८ विमान राखिने ह्याङ्गर र अमेरिकी सेनाको ड्रोन कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा प्रहार गरेको जनाएको छ। अमेरिकाले इरानमाथि निरन्तर सैन्य कारबाही गरेपछि त्यसको जवाफमा यस्तो आक्रमण गरिएको र यो क्रम अझै जारी रहने इरानले स्पष्ट पारेको छ।

इरानको नुर न्युज एजेन्सीले पनि इरानी सेना र आईआरजीसीले ‘क्षेत्रीय रूपमा रहेका शत्रुहरूका अखडामा’ ठुलो परिमाणमा क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ। 

एक इरानी सैन्य अधिकारीलाई उद्धृत गर्दै नुर न्युजले विगत ४८ घण्टामा ‘शत्रुका गतिविधि’ पहिचान गरिएका स्थानहरूलाई लक्षित गर्दै कारबाही अघि बढाइएको उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप