अश्लील भिडियो देखाएर ब्ल्याकमेल गर्ने र सम्बन्ध टुटेपछि चरित्र हत्या गर्ने पक्राउ
सारांश
- साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाहरूको चरित्र हत्या गर्ने तथा ब्ल्याकमेल गर्ने कार्यमा संलग्न एक नेपाली र एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।
- पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गरी ब्ल्याकमेल गर्ने र चरित्र हत्या गर्ने भारतीय नागरिक जावरुल हकलाई काठमाडौँबाट पक्राउ गरिएको छ।
- सम्बन्ध छुटेपछि महिलाको चरित्र हत्या गर्ने उद्देश्यले अश्लील सामग्री पोस्ट गर्ने नेपाली नागरिक सरोज कार्कीलाई पनि काठमाडौँबाट पक्राउ गरिएको छ।
काठमाडौँ । साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाहरूको चरित्र हत्या गर्ने तथा ब्ल्याकमेल गर्ने कार्यमा संलग्न एक नेपाली र एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।
ब्युरोले फरक–फरक दुईवटा घटनामा संलग्न उनीहरूलाई काठमाडौँबाट पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाएको हो।
पहिलो घटनामा पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गरी ब्ल्याकमेल गर्ने र दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब दिने कार्यमा संलग्न भारतीय नागरिक पक्राउ परेका छन्। पीडकको अभीष्ट पूरा नभएपछि उक्त अश्लील भिडियो तथा तस्बिर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न भारतको गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरुल हकलाई ब्युरोको टोलीले पक्राउ गरेको हो।
उनलाई असार २६ गते काठमाडौँ महानगरपालिका वडा नम्बर २७ बाट पक्राउ गरिएको हो। उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी दोस्रो घटनामा अध्ययनको सिलसिलामा चिनजान भई साथी बनी प्रेम सम्बन्धमा रहेको र सम्बन्ध छुटेपछि महिलाको चरित्र हत्या गर्ने अर्का एक नेपाली नागरिक पक्राउ परेका छन्। सम्बन्ध छुटेपछि पीडकले बारम्बार चरित्र हत्या गर्ने उद्देश्यले महिलाकै फेसबुक आईडीमार्फत अश्लील सामग्रीहरू पोस्ट गरी दुःख हैरानी र मानसिक तनाव दिने कार्य गरेका थिए।
उक्त कार्यमा संलग्न ओखलढुङ्गा जिल्ला, चम्पादेवी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौँ बस्ने २४ वर्षीय सरोज कार्कीलाई ब्युरोको टोलीले असार २६ गते काठमाडौँबाट पक्राउ गरेको हो।
कार्कीलाई पनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जनाएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण