मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण

मङ्गलबार, ३० असार २०८३, ०७ : १७
मङ्गलबार, ३० असार २०८३

सारांश

  • मधेस प्रदेशका गृहमन्त्रीले ३ महिना अघि जनकपुरका सडकपेटी र फुटपाथ अतिक्रमणमुक्त गराएका थिए ।
  • गृहमन्त्री आफैँ फिल्डमा खटिएपछि सडक व्यवस्थित भए पनि अहिले पुनः पुरानै अवस्थामा फर्किएको छ ।
  • स्थानीय तहको असहयोग र कामलाई निरन्तरता दिन नसक्दा समस्या पुनः बल्झिएको बताइएको छ ।

जनकपुरधाम । ३ महिना अघि मधेस प्रदेशका गृहमन्त्री फकिरा महतो आफैँ सक्रिय रुपमा खटिएर जनकपुर नगरभित्रका मुख्य सडक पेटी र फुटपाथलाई अतिक्रमणमुक्त बनाएका थिए । उनी सडक पेटी र फुटपाथ कब्जा गरेर व्यापार व्यवसाय गर्नेहरुमाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

गृहमन्त्री नै सक्रिय भएर फिल्डमा उत्रिएपछि सडक छेउको फुटपाथ कब्जा गर्ने कतिपयले आफैँ ती क्षेत्र खाली गरे भने कतिपयलाई जबर्जस्ती खाली गराउन प्रहरी सक्रिय भएका थिए । परिणामस्वरुप जानकी मन्दिर वरपरका क्षेत्र, अस्पताल रोड, रामानन्द चोक, शिव चोक, जनक चोक, पिडारी चोक सफासुग्घर र व्यवस्थित भएसँगै यो मार्ग प्रयोग गर्ने धार्मिक पर्यटक, विद्यार्थी तथा सर्वसाधारणलाई निकै सहज भएको थियो ।

त्यसै पनि जनकपुर फोहरले बदनाम भएको सहर हो । स्थानीय तहले उचित ढंगबाट फोहर व्यवस्थापन गर्न नसक्दा नगरभित्र जहीँतहीँ फोहरको डङ्गुरमात्र देखिने गरेको छ । एकातर्फ फोहर र अर्कातर्फ सडक पेटी नै कब्जा गरेर व्यापार व्यवसाय गरिदिँदा पैदल यात्रीले समेत मूल सडक प्रयोग गर्नुपर्ने बाध्यता थियो, जसका कारण सवारी दुर्घटना पनि बढ्ने गरेको थियो ।

फुटपाथ र सडक पेटी अतिक्रमित भएकै कारण ईरिक्सा व्यवस्थापन हुन नसक्दा नगर क्षेत्रभित्र पैदल र साईकल यात्रुहरुको कन्तविजोग नै हुने गरेको थियो । जनकपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय लगायतका निकायसँगको समन्वयमा प्रदेश सरकारका गृहमन्त्री महतो आफैँ फिल्डमा उत्रिएपछि अतिक्रमित क्षेत्र खाली गराउन सफल भएका थिए ।

विश्वमै प्रख्यात जनकपुरको जानकी मन्दिरमा विगतको तुलनामा अहिले भारतीय पर्यटकको आवागमन निकै बढेको छ । दिनहुँ हजारौँको सङ्ख्यामा भक्तालुहरु मन्दिर दर्शन गर्न आउने गरेका छन् । मन्दिर नजिकको सडक पेटी विगतमा खाली गराइएका कारण निकै आकर्षक देखिनुका साथै मन्दिर दर्शन गर्न आउने दर्शनार्थीलाई समेत सहज भएको थियो । तर ३ महिना नबित्दै जनकपुरका फुटपाथ तथा सडक पेटी उही पुरानै ढर्रामा फर्किएका छन् ।

रामानन्द चोकदेखि जानकी मन्दिर जाने मूल बाटोमै जनकपुर प्रादेशिक अस्पताल छ । अस्पताल भएका कारण यो सडकमा निकै भिडभाड हुने गर्दछ । दिउँसो यो सडकखण्डमा सधैँ जाम हुन्छ । ‘गृहमन्त्री महतो आफैँ सक्रिय भएर फिल्डमा खटिएपछि यो सडकको अवस्था निकै सुध्रिएको थियो’, जनकपुर-१३ का ईरिक्सा चालक रामलाल पासवानले भने, ‘अहिले यो सडकको अवस्था पुनः पुरानै अवस्थामा फर्किएको छ ।’

sadak-atikraman

पासवानका अनुसार प्रदेशको गृहमन्त्री आफैँ सक्रिय भएर लागेपछि राम्रो भइसकेको कामलाई निरन्तरता दिलाउन नसक्नु उनकै कार्यक्षमता माथिको प्रश्न पनि हो ।

अहिले मुख्यगरी रामानन्द चोक, पिडारी चोक र अस्पताल रोडको सडकको आधा भाग नै कब्जा हुने गरी फलफूल, तरकारीका ठेलाले ढाकिएको हुन्छ । जसका कारण सडक भएर हिँडडुल गर्नेहरु समस्यामा पर्ने गरेका त छन् नै, सडकको व्यस्तता झनै बढेको छ ।

अस्पताल रोडमा सडकको दायाँबायाँ दर्जनौँको सङ्ख्यामा ४ पाङ्ग्रे ठेला बिहानैदेखि राति ८-९ बजेसम्म राखिएको हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिका-१० देवी चोकका संजीव कर्णले भने, 'अहिले यो सडक भएर गृहमन्त्री हिँड्दैनन् होला र ? आफैँ सक्रिय भएर राम्रो भइसकेको अवस्थालाई निरन्तरता दिलाउन ध्यान दिनुपर्दैन ?’

sadak-atikraman-12

जनकपुरको भानु चोकमा भेटिएका एक सरकारी कर्मचारीले मधेसको सबैभन्दा कमजोर पक्ष भनेकै कुनै पनि कामलाई निरन्तरता नदिनु रहेको बताए । 'आफूलाई अब्बल देखाउन स्टन्टबाजीको रुपमा काम गर्ने, पछि त्यसलाई निरन्तरता दिलाउन नसक्ने मधेसको मुख्य समस्या हो,' उनले भने, 'राज्यले एकपटक गरिसकेको कामलाई निरन्तरता दिन नसक्नुमा अरुको भन्दा बढी दोष राज्यकै हुन्छ ।'

जनकपुर रेल्वे स्टेशनमा भेटिएका बब्लु गुप्ताले सरकार परिवर्तन भएको अवस्थामा पुरानो सरकारको कामलाई नयाँ सरकारले निरन्तरता नदिएका उदाहरण भए पनि आफैँले गरेका निर्णय र कामलाई सरकारले निरन्तरता दिन नसक्नु अनौठो रहेको बताए । 'अनुगमन, नियमन गर्ने कुरामा मन्त्रीको सचिवालयमा बसेकाहरुले ध्यान दिनुपर्ने हो नि,’ उनले भने ।

sadak byapar

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रायका प्रवक्ता राधेशंकर प्रसाद पालले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूको काममा जनकपुर उपमहानगर पालिकाका मेयरसाबले सहयोग गर्नुभएन । हरेक पटक असहयोगमात्रै गरेका कारण सडक व्यवस्थापनको काममा अवरोध हुन पुगेको हो ।’

उनका अनुसार यो काममा स्थानीय तहले सहयोग गर्नुपर्नेमा विभिन्न कानुनी अड्चन देखाउँदै असहयोग हुँदा मन्त्रीले यसलाई निरन्तरता दिन नसकेका हुन् ।

जनकपुरलाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेस प्रदेश सरकार लगायत स्थानीय तहले विभिन्न कार्यक्रम अगाडि बढाएको छ । नगरको सरसफाइ र सौन्दर्यीकरणका काम अगाडि बढाइएको छ, जसमा लाखौँ बजेट पनि खर्चिएको छ, तर विकास, पूर्वाधार र जनताको मुद्दालाई स्थानीय र प्रदेश सरकारले आपसमा समन्वय गरेर अगाडि लानुको साटो एकले अर्कालाई असहयोग गर्नुले जनतामाथि नै अन्याय भइरहेको स्थानीयबासीको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप