नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
सारांश
- सांसद पर्शुराम तामाङले नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।
- उनले बीमाको पहुँच ५१ प्रतिशत पुगेको सरकारी दाबी विपरीत व्यवहारमा २० प्रतिशत मात्र रहेको बताए।
- तामाङले सीमित व्यक्तिद्वारा अर्थतन्त्रको नियन्त्रण र स्वार्थको द्वन्द्वले वित्तीय जोखिम बढाएको भन्दै नीतिगत सुधारको माग गरे।
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।
संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले स्वास्थ्य बीमाको असफलता, बीमाको तथ्याङ्क र व्यावसायिक घरानाको एकाधिकारका कारण सिर्जना हुन सक्ने वित्तीय जोखिमबारे सरकार र नियामक निकायको ध्यानाकर्षण गराएका हुन् ।
सांसद तामाङले बीमाको पहुँचका सम्बन्धमा सरकारी दाबी र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको उल्लेख गरे। बीमाको पहुँच ५१ प्रतिशत पुगेको भनिए पनि व्यवहारमा २० प्रतिशतको हाराहारीमा मात्र देखिएको तर्क गर्दै उनले पहुँच विस्तारका लागि ठोस योजना आवश्यक रहेको बताए।
बैठकमा उनले नेपालको अर्थतन्त्र सीमित व्यक्तिको नियन्त्रणमा रहेको भन्दै चिन्ता व्यक्त गरे। एउटै समूहले बैंक, बीमा र उद्योग गरी तीनवटै क्षेत्रमा लगानी गर्दा स्वार्थको द्वन्द्व सिर्जना भएको उनको भनाइ छ। करिब १०० परिवारले नेपालको अर्थतन्त्रलाई विभिन्न माध्यमबाट नियन्त्रणमा लिएको विश्लेषण सुनाउँदै उनले इजाजतपत्र (लाइसेन्स) दिने बेलामा नै यी क्षेत्रहरूलाई अलग गर्नुपर्नेमा जोड दिए।
बैठकमा बोल्दै उनले भने, ‘मैले सबै क्षेत्रमा बुझ्दा नेपालको स्वास्थ्य बीमा असफल भएको पाएको छु। यो किन असफल भयो ? यसको जवाफ चाहिन्छ।’ एउटै व्यक्तिले उद्योग, बैंक र बीमामा हात हाल्दा एउटा क्षेत्र डुब्दा त्यसको असर अरू क्षेत्रमा पनि पर्ने उनले औँल्याए।
उनले थपे, ‘उद्योग घाटामा जाँदा बीमा र बैंक पनि प्रभावित हुने जोखिम छ। त्यसैले एउटा क्षेत्रमा संलग्न व्यक्तिलाई अर्को क्षेत्रमा लगानी गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नु आवश्यक छ, ताकि एउटा क्षेत्रको असफलताले समग्र अर्थतन्त्रमा मल्टिपल असर नपरोस्।’
कृषि बीमाको पहुँच न्यून रहेको विषयमा अन्य सांसदहरूले उठाएको धारणामा समर्थन जनाउँदै उनले बीमा क्षेत्रको समग्र सुधारका लागि नीतिगत स्पष्टताको माग गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
-
गगनको घर अगाडि भेटिएको गाडी नछोड्न कांग्रेस समर्थकको दबाब
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण