मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन

मङ्गलबार, ३० असार २०८३, १४ : ०८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य नभएको बताएको छ ।
  • कांग्रेस सांसद रीना उप्रेती केसीले होल्डिङ सेन्टरको नाजुक अवस्था र अधिकारका लागि आवाज उठाउनेहरूमाथि प्रहरी प्रशासन परिचालन गरी बल प्रयोग र कुटपिट गरिएको घटनाप्रति आपत्ति जनाइन् ।
  • सांसद उप्रेतीले राज्य शक्तिको दुरुपयोग गरेर प्रेस स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न नपाइने, सञ्चार गृह र नेताको निवास अगाडि भएका शङ्कास्पद गतिविधिहरूको तत्काल निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिन् ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य नभको बताएको छ । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रीना उप्रेती केसीले होल्डिङ सेन्टरको नाजुक अवस्था र आफ्नो अधिकारका लागि आवाज उठाउनेहरूमाथि प्रहरी प्रशासन परिचालन गरी बल प्रयोग र कुटपिट गरिएको घटनाप्रति  आपत्ति जनाइन् ।

 राज्यका कमी–कमजोरी देखाउने सञ्चारकर्मी, सञ्चार गृह र राजनीतिक दलहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको उनको आरोप छ।

 कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरूको व्यवस्थापनप्रति पनि उनले गम्भीर आपत्ति जनाइन्। सुकुम्वासीहरूलाई सुरक्षित र सम्मानजनक आवास दिनुको साटो भैँसी बस्ने जस्तो डुबान क्षेत्रमा राखिएको र त्यहाँ ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरू कष्टकर जीवन बिताउन बाध्य भएको उनले बताइन्।

‘राज्य शक्तिको दुरुपयोग गरेर प्रेस स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न पाइँदैन। मिडियालाई चाहे विज्ञापन नीतिमार्फत होस् वा सडकमा गाडी तेर्स्याएर भयभीत बनाउने शैलीमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब सिर्जना गर्ने कार्य बन्द गरिनुपर्छ,’ सांसद उप्रेतीले भनिन् । 

सांसद उप्रेतीले सञ्चार गृह र नेताको निवास अगाडि भएका शङ्कास्पद गतिविधिहरूको तत्काल निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र नागरिक तथा सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरिन् । 

सांसद उप्रेतीले हालै काठमाडौँमा राइडसेयरिङ चालक गणेश नेपालीले गरेको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई राज्यको कठोर र अव्यवहारिक नीति तथा संवेदनहीन व्यवहारको परिणाम भएको टिप्पणी गरिन्। 

‘कानुन कार्यान्वयनको नाममा नागरिकको अपमान गर्ने वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने कार्य स्वीकार्य हुन सक्दैन,’ उनले भनिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप