फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
सारांश
- सन् २०२६ को फिफा विश्वकपको सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दैछन्, जसलाई प्रतियोगिताकै सबैभन्दा ठुलो भिडन्तका रूपमा हेरिएको छ ।
- फ्रान्सले समूह चरणदेखि आक्रामक प्रदर्शन गर्दै निरन्तर जित हात पारेको छ भने स्पेनले उत्कृष्ट बल नियन्त्रण र सन्तुलित खेलका कारण सहज रूपमा अन्तिम चारमा स्थान बनाएको छ ।
- फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने स्पेनले फ्रान्सविरुद्ध पछिल्ला दुई भेटमा जित निकालेको छ ।
सन् २०२६ को फिफा विश्वकपको सेमिफाइनल चरण डलासबाट सुरु हुँदै छ, जहाँ प्रतियोगिताअघि उपाधिका प्रमुख दाबेदार मानिएका फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् ।
विश्व फुटबलका शीर्ष चार वरीयताका टोलीमध्ये दुई टोलीबिच हुने यो प्रतिस्पर्धालाई प्रतियोगिताकै सबैभन्दा ठुलो भिडन्तका रूपमा हेरिएको छ । दुवै टोलीले यस विश्वकपमा आफ्नो क्षमता प्रमाणित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका हुन् ।
फ्रान्सले समूह चरणदेखि नै आक्रामक र प्रभावशाली प्रदर्शन गर्दै निरन्तर जित हात पारेको छ भने स्पेनले उत्कृष्ट बल नियन्त्रण, सन्तुलित खेल र अनुशासित रणनीतिका कारण सहज रूपमा अन्तिम चारमा स्थान बनाएको छ ।
स्पेनको बलियो रक्षा, फ्रान्सको घातक आक्रमण
स्पेनले यस विश्वकपमा हालसम्म केवल एक गोल मात्र व्यहोरेको छ । बल नियन्त्रण, छोटो पास र सामूहिक खेलमा ‘ला रोजा’ले विपक्षीलाई अवसर नै नदिने शैली अपनाएको छ । तर सेमिफाइनलमा उसको रक्षापंक्तिको सबैभन्दा कठिन परीक्षा फ्रान्सको आक्रमणविरुद्ध हुनेछ किलियन एम्बाप्पेको नेतृत्वमा रहेको ‘ले ब्लुज’को आक्रमणलाई धारिलो, रमाइलो र अप्रत्याशित बताएका छन् ।
लगातार तेस्रो विश्वकप फाइनलको लक्ष्य
फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ । उसले सन् २०१८ मा विश्वकप जितेको थियो भने २०२२ मा अर्जेन्टिनासँग भएको ऐतिहासिक फाइनलमा उपविजेता बनेको थियो । कतिपय विश्लेषकहरूले फेरि अर्जेन्टिना–फ्रान्स फाइनल हुने अनुमान गरिरहेका छन् । तर वर्तमान युरोपियन च्याम्पियन स्पेनलाई कमजोर आँक्नु ठूलो भूल हुने उनीहरूको भनाइ छ । स्पेनविरुद्ध जुनसुकै टिमले पनि खुलेर खेल्न र गोल निकाल्न गाह्रो पर्छ ।
स्पेनसँग पुरानो हिसाब बराबर गर्ने अवसर
स्पेनले फ्रान्सविरुद्ध पछिल्ला दुई भेटमा लगातार जित निकालेको छ । त्यसमा युरो २०२४ को सेमिफाइनलमा २–१ को जित पनि समावेश छ । त्यो हारलाई युरोपेली फुटबलमा नयाँ शक्तिको उदयका रूपमा हेरिएको थियो । तर दुई वर्षपछि फ्रान्स फेरि आफू नै युरोपको नम्बर एक टोली भएको प्रमाणित गर्ने लक्ष्यमा मैदान उत्रिनेछ ।
क्वार्टरफाइनल प्रदर्शन
फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दा पूर्ण क्षमतासमेत प्रदर्शन गर्नुपरेन । उता स्पेनले बेल्जियमसँग संघर्षपूर्ण खेल खेलेको थियो । बेल्जियमका गोलरक्षक सेन्ने लामेन्सको गल्तीको फाइदा उठाउँदै मिकेल मेरिनोले निर्णायक गोल गरेपछि स्पेन सेमिफाइनलमा पुगेको थियो ।
खेलको सम्भावित नतिजा
स्पेनले बल नियन्त्रणमा विश्वकै उत्कृष्ट टोलीमध्ये एकको परिचय दिएको छ । लामिन यामाल अझै आफ्नो उत्कृष्ट लय खोजिरहेका छन् भने चोटबाट फर्किएका निको विलियम्स पनि पूर्ण फिट भइसकेका छैनन् । यद्यपि टोलीको सामूहिक समन्वय निकै प्रभावशाली देखिएको छ ।
तर फ्रान्ससँग खेलको दिशा एकैक्षणमा बदल्ने क्षमता छ । एम्बाप्पे, डेम्बेले, माइकल ओलिसे र डिजिरे डुएजस्ता आक्रमणकारीले कुनै पनि क्षण खेलको परिणाम उल्ट्याउन सक्छन् ।
किन फ्रान्स हाबी हुन सक्छ ?
स्पेनको यो केवल दोस्रो विश्वकप सेमिफाइनल हो । उसले यसअघि सन् २०१० मा मात्र सेमिफाइनल खेलेर उपाधि जितेको थियो । फ्रान्स भने विश्वकप इतिहासमा आठौं पटक सेमिफाइनल खेल्दैछ, जुन प्रतियोगिताको दोस्रो सर्वाधिक हो ।
अर्जेन्टिनाले १७ गोल गरेपछि फ्रान्सले यस विश्वकपमा १६ गोल गर्दै दोस्रो सर्वाधिक गोल गरेको टोली बनेको छ । फ्रान्सले नकआउट चरणमा हालसम्म कुनै गोल खाएको छैन । फ्रान्सले जित निकालेमा सन् १९३० को दशकपछि लगातार सात विश्वकप खेल जित्ने पहिलो युरोपेली टोली बन्नेछ ।
फ्रान्सको सम्भावित सुरुआती टोली (४–२–३–१) : गोलरक्षकः माइक मेन्यान, रक्षकः जुल्स कुण्डे, दायोट उपामेकानो, विलियम सालिबा, लुकास डिन्ये, मिडफिल्डः औरेलियन चुआमेनी, एड्रियन राबियो, आक्रामक मिडफिल्डः उस्मान डेम्बेले, माइकल ओलिसे, डिजिरे डुए, स्ट्राइकरः किलियन एम्बाप्पे ।
एम्बाप्पे क्वार्टरफाइनलमा सामान्य चोटका कारण अन्तिम समयमा बाहिरिए पनि उनले आफू पूर्ण रूपमा फिट रहेको बताएका छन् । चुआमेनी पनि प्रशिक्षणमा फर्किएकाले सुरुआती टोलीमा रहने अपेक्षा गरिएको छ ।
स्पेनको सम्भावित सुरुआती टोली (४–२–३–१) : गोलरक्षकः उनाइ सिमोन, रक्षकः पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्टे, मार्क कुकुरेया, मिडफिल्डः रोड्री, फाबियान रुइज आक्रमक मिडफिल्डः लामिन यामाल, डानी ओल्मो, एलेक्स बाएना, स्ट्राइकरः मिकेल ओयारजाबाल ।
मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका फाबियान रुइजलाई फेरि सुरुआती टोलीमै राख्ने सम्भावना छ । मिकेल मेरिनो फेरि पनि दोस्रो हाफमा खेलको नतिजा बदल्ने खेलाडीका रूपमा प्रयोग हुन सक्छन् । चोटबाट फर्किरहेका निको विलियम्स पूर्ण रूपमा फिट नभएकाले बायाँ विंगमा एलेक्स बाएनाले सुरुआती अवसर पाउने सम्भावना बढी छ ।
डलासको एटी एन्ड टी स्टेडियममा हुने यो खेललाई विश्वकप २०२६ को सबैभन्दा आकर्षक भिडन्तमध्ये एक मानिएको छ । स्पेन आफ्नो अनुशासित र प्राविधिक फुटबललाई निरन्तरता दिने प्रयासमा हुनेछ भने फ्रान्स आफ्नो घातक आक्रमणको भरमा लगातार तेस्रो विश्वकप फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण