मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय

मङ्गलबार, ३० असार २०८३, २० : ५७
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै जेल सजाय र जरिवाना सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र सार्वजनिक पदमा रहेको व्यक्ति भएकाले थप ६ महिना गरी कुल २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । यस्तै, उनले गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरिएको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा बराबरको सम्पत्ति जफत हुने र सोही बराबरको थप जरिवाना पनि तिर्नुपर्ने फैसला भएको छ । यसका साथै, अपराध पीडित संरक्षण ऐन बमोजिम ५१ लाख २ हजार ८०९ रुपैयाँ ४९ पैसा क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्नेछ ।

यस मुद्दामा सुनिल पौडेलका भाइ अनिल पौडेललाई पनि प्रतिवादी बनाइएको थियो। तर, अनिल पौडेलको नाममा रहेका केही सम्पत्तिहरू ऋण र अंशबण्डाबाट प्राप्त भएको देखिएको र सुनिलको अवैध कमाइ त्यसमा प्रयोग भएको स्पष्ट आधार नपुगेको भन्दै उनको नाममा रहेका जग्गाजमिन जफत नगर्न अदालतले आदेश दिएको छ ।

पौडेल यसअघि नै पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा समेत दोषी ठहर भइसकेका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

अदालतको संक्षिप्त फैसला अनुसार पौडेलको वैध आय २ करोड २१ लाख ५७ हजार ८० रुपैयाँ ९४ पैसा मात्र देखिएको छ। तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने १४ करोड ९७ लाख २७ हजार ३१८ रुपैयाँ ३८ पैसा भेटिएको छ । उनको वैध आय र कुल खर्चबीचको अन्तर १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसाको वैधानिक स्रोत नखुलेकाले त्यसलाई गैरकानुनी आर्जन ठहर गरिएको हो ।

अदालतले पौडेलको सिंगापुरस्थित बैंक खातामा १ लाख ३५ हजार ३८२ अमेरिकी डलर मौज्दात रहेको तथ्यलाई पनि प्रमाणका रूपमा लिएको छ ।

पौडेलले उक्त खाता आफ्नो नभएको दाबी गरे पनि फरेन्सिक परीक्षण र अन्य प्रमाणका आधारमा सो रकम उनकै भएको पुष्टि भएको फैसलामा उल्लेख छ । यस्तै, विदेश भ्रमणका नाममा भएका खर्च र विभिन्न ठाउँमा गरिएका लगानीको स्रोत समेत नखुलेको अदालतको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप