आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने

आइतबार, ०३ साउन २०८३, ०८ : २७
आइतबार, ०३ साउन २०८३

सारांश

  • नेकपा (एमाले) ले सङ्घीय संसद्‌मा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ।
  • कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्‌मा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका बारेमा प्रशिक्षण दिनेछन्।
  • कार्यक्रममा संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसदीय समितिहरूको अधिकार क्षेत्र र उठाउनुपर्ने विषयहरूका बारेमा जानकारी गराउनेछन् ।

काठमाडौँ । नेकपा (एमाले) ले सङ्घीय संसद्‌मा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ।

पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजेदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्‌मा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

पार्टी सचिव एवं संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार कार्यक्रममा संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयको काम, कर्तव्य, अधिकार तथा संसदीय समितिहरूको अधिकार क्षेत्र र उठाउनुपर्ने विषयहरूका बारेमा जानकारी गराउनेछन् ।

त्यसैगरी, महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनेछन्। सांसदहरूले पार्टी नीति अनुरूप संसद्‌मा भूमिका निर्वाह गर्नुपर्ने र सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्ने विषयमा महासचिव पोखरेलले स्पष्ट पार्ने अर्यालले जानकारी दिइन्।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा दुवै सदनका सांसदहरूका साथै पार्टीका सबै विभाग प्रमुख र पूर्व सदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ। कार्यक्रमकै अवसरमा सम्बन्धित विभागहरूले सिफारिस गरेका विषय विज्ञहरूको 'रोस्टर' तयार पारिनेछ, जसले सांसदहरूलाई संसदीय विषयवस्तुमा आवश्यक परेका बेला विशेषज्ञ परामर्श उपलब्ध गराउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप