बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बीपी स्मृति दिवस

म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?

बुधबार, ०६ साउन २०८३, ०९ : ५८
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औं स्मृति दिवस मनाउने क्रममा आन्तरिक द्वन्द्वका कारण फरक–फरक कार्यक्रम आयोजना गरेको छ ।
  • एक पक्षले बीपीको तस्बिर अंकित टिसर्टसहित पाँच किलोमिटरको 'ग्रिन रन' म्याराथन दौड आयोजना गर्दा अर्को पक्षले कर्मकाण्डी परम्परा धानिरहेको छ ।
  • लेखकले कांग्रेसले बीपीको विचारलाई सहरिया फेसनमा संकुचित पारेको र भुइँमान्छेसँगको सम्बन्ध टुटेको आरोप लगाएका छन् ।

आज साउन ६ गते, युगपुरुष जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस । यस दिनलाई राजनीतिक वृत्तमा र विशेष गरी बीपी स्वयंले स्थापना गरेको पार्टी नेपाली कांग्रेसले टोलदेखि केन्द्रीय कार्यसमितिसम्म विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी उहाँप्रति श्रद्धासुमन अर्पण गर्छ ।

तर, यस वर्ष नेपाली कांग्रेसका नयाँ र पुराना संस्थापन पक्षबिचको आन्तरिक द्वन्द्वले स्वयं बीपीलाई दुई चिरामा विभाजन गरिदिएको छ । दुवै पक्षले फरक–फरक कार्यक्रमको आयोजना गरिरहेका छन् । यसरी समसामयिक अवस्थामा हेर्दा यसपटकको स्मृति दिवस बीपीको वैचारिक विरासतको उत्सवभन्दा बढी विचलन र उपहास प्रतीत हुन्छ ।

नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादको जग बसाल्ने र राष्ट्रिय मेलमिलापको दूरदर्शी मार्गचित्र कोर्ने नेताको सम्झनामा उहाँकै अनुयायीहरूले तय गरेका कार्यक्रमहरूको रूपरेखा हेर्दा लाग्छ, आजको कांग्रेस बीपीको विचार होइन, उहाँको नामलाई आधुनिक बजारमा ‘ब्रान्ड’का रूपमा बेच्न उद्यत छ ।

विशेष महाधिवेशनपछि आएको नयाँ संस्थापन पक्ष आज ललितपुरको यूएन पार्कदेखि जावलाखेलसम्म पाँच किलोमिटरको ‘ग्रिन रन’ (Green Run) म्याराथन दौड आयोजना गरेर युवाहरूमाझ सेलिब्रिटी बन्ने होडमा छ ।

दौडका सहभागीहरूका लागि बाँडिने टिसर्टको अगाडि बीपीको तस्बिर र पछाडि ‘ग्रिन रन’को लोगो छापेर कालोपत्रे सडकमा दौडनु र त्यसको भोलिपल्टै त्यो टिसर्ट कतै कुनामा थन्काउनु नै आजको सतही राजनीतिको प्रतिविम्ब हो ।

दौडलगत्तै जावलाखेलको फल्चामा बसेर जलवायु परिवर्तनका विषयमा गरिने भनिएको फेसनदार ‘राउन्ड टेबल टक’ र अर्को दिन प्रज्ञा प्रतिष्ठानको भव्य हलमा हुने शक्ति प्रदर्शनले बीपीको आत्मालाई कति शान्ति देला, त्यो बहसको विषय हो ।

अर्कोतर्फ, इतर पक्ष पनि के कम ? उनीहरू पनि प्रज्ञा प्रतिष्ठानको भव्य हलभित्र बीपीको तस्बिरमा अबिर–माला घसेर कर्मकाण्डी परम्परा धान्ने र आफ्नो अस्तित्वको सौदाबाजी गर्ने धुनमा छन् । पार्टीले भर्खरैको निर्वाचनमा आफ्नो परम्परागत करिब १० लाखभन्दा बढी जनमत (भोट) स्वात्तै गुमाएर इतिहासकै गम्भीर साङ्गठनिक धक्का बेहोरेको छ । ठीक यति नै बेला कांग्रेसका दुई शीर्ष धारहरू बीपीकै स्मृति दिवसमा समेत एउटै मञ्चमा बस्न नसक्नु र गुटगत अहङ्कारका कारण छुट्टाछुट्टै मञ्च खडा गर्नु बीपीको ‘राष्ट्रिय मेलमिलाप’ नीतिकै चीरहरण हो भन्दा फरक पर्दैन ।

यो बुझ्न गाह्रो छैन कि पाँच किलोमिटरको म्याराथन दौडमा केवल सहरिया तन्दुरुस्त युवाहरू मात्र दौडन सक्छन् । तर नेतृत्वले के बिर्सियो भने, राजनीतिक दल केवल एउटा उमेर समूहको क्लब होइन, हुनु पनि हुँदैन ।

बीपीको विचारको विकास बुझ्न उहाँको बाल्यकाल र सङ्घर्षको पृष्ठभूमिमा पुग्नैपर्छ, जसको जीवन्त चित्रण उहाँका संस्मरणात्मक कृतिहरू ‘आफ्नो कथा’, ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’मा कोरिएको छ ।

यो त समाजका हरेक उमेर, वर्ग र तप्कालाई समेट्ने एउटा साझा चौतारी हो । इतिहास साक्षी छ, कांग्रेस निर्माणमा र लोकतन्त्रको सङ्घर्षमा लट्ठी टेक्दै बुथ कुर्ने वृद्धदेखि हलो जोत्ने प्रौढ र भान्सा सम्हाल्ने महिलाहरूको उत्तिकै पसिना बगेको छ ।

आजको नेतृत्वले बीपीको विचारलाई ललितपुरका चिल्ला सडक र सहरिया मध्यमवर्गको फेसनमा सङ्कुचित गरिदिँदा भुइँमान्छेसँगको जैविक सम्बन्ध पूर्ण रूपमा चुँडिन्छ । बीपी कोइरालाको वैचारिक चेत र अन्यायविरुद्ध लड्ने स्वभाव कुनै वातानुकूलित कोठाको बौद्धिक विलास वा सडकको प्रतीकात्मक दौडबाट झट्ट जन्मिएको थिएन ।

बीपीको विचारको विकास बुझ्न उहाँको बाल्यकाल र सङ्घर्षको पृष्ठभूमिमा पुग्नैपर्छ, जसको जीवन्त चित्रण उहाँका संस्मरणात्मक कृतिहरू ‘आफ्नो कथा’, ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’मा कोरिएको छ ।

पिता कृष्णप्रसाद कोइरालाले राणा शासकलाई गरिब किसानको फाटेको दौरा पार्सल गरेर पठाइदिएपछि सुरु भएको कोइराला परिवारको निर्वासन नै बीपीको राजनीतिको पहिलो पाठशाला थियो ।

भारतको बनारसमा बाल्यकाल बिताउँदै गर्दा गरिबी, अभाव र प्रवासी जीवनको हिलोबाट बीपीले अन्यायविरुद्ध लड्ने पहिलो कखरा सिक्नुभयो । बनारसको त्यो बसाइ केवल शरणार्थी जीवन मात्र थिएन, त्यो त विश्वभरि उठिरहेका वैचारिक तरङ्गहरूलाई मन्थन गर्ने थलो थियो ।

भारतीय स्वतन्त्रता सङ्ग्रामको राप र ताप, महात्मा गान्धीको सत्याग्रह, जयप्रकाश नारायण, राममनोहर लोहिया र जवाहरलाल नेहरूको समाजवादी चिन्तनको सामीप्यताले उहाँमा प्रजातन्त्रप्रतिको अगाध आस्था निर्माण गरेको थियो ।

ती महान् व्यक्तिहरूसँगको सान्निध्य, सहयात्रा र तात्कालिक परिस्थितिको चक्रबाट बीपीले के बुझ्नुभएको थियो भने स्वतन्त्रता मानिसको नैसर्गिक अधिकार हो । र, यसका लागि जुनसुकै शक्तिसँग पनि भिड्न डराउनु हुँदैन ।

नेपालमा जहानियाँ राणा शासनको अन्त्यका लागि नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्दा होस् वा ००७ सालको क्रान्तिको कमान्ड सम्हाल्दा, उहाँभित्रको त्यो विद्रोही र लोकतान्त्रिक चेत सधैँ उच्चतम रह्यो ।

विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनको अग्रमोर्चामा उभिएर श्रमको सम्मान खोज्ने बीपीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेसम्मका हरेक साङ्गठनिक सिँढीहरू जनताको पसिना र भरोसाको जगमा चढ्नुभएको थियो ।

उहाँको यो चिन्तन केवल राजनीतिमा मात्र सीमित थिएन, साहित्यमा त उहाँ अझ बढी दूरदर्शी र प्रगतिशील देखिनुहुन्छ ।

२०१५ सालको आमनिर्वाचनमा दुईतिहाइ बहुमत प्राप्त गरेपछि उहाँले लागू गर्न खोज्नुभएको बिर्ता उन्मूलन र भूमिसुधारजस्ता कदमहरू वास्तवमै भुइँमान्छेलाई केन्द्रमा राखेर बुनिएका समाजवादका व्यावहारिक नीति थिए । यसले सदियौँदेखि थिचिएका सीमान्तकृत किसानलाई जमिनको मालिक बनाउने सपना बोकेको थियो ।

तर, ०१७ सालको शाही ‘कू’पछि बीपीको जीवनमा जुन कठोर अध्याय सुरु भयो, त्यसले उहाँको लोकतान्त्रिक समाजवाद र राष्ट्रियताप्रतिको विचारलाई अझ बढी परिपक्व र अकाट्य बनायो । ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल : जेल डायरी’मा लिपिबद्ध उहाँका दैनिकीहरू केवल एक कैदीका संस्मरण होइनन्, ती त राज्यको क्रूरता र क्यान्सरजस्तो असाध्य रोगसँग लड्दै गर्दा पनि आफ्नो सिद्धान्तमा रत्तिभर सम्झौता नगर्ने अडानका दस्तावेज हुन् ।

उहाँको यो चिन्तन केवल राजनीतिमा मात्र सीमित थिएन, साहित्यमा त उहाँ अझ बढी दूरदर्शी र प्रगतिशील देखिनुहुन्छ । आजको राजनीतिले चर्को रूपमा उठाउने गरेको ‘समावेशीकरण’ र ‘नारी सशक्तीकरण’को जग बीपीले दशकौँपहिले आफ्ना आख्यानहरूमा हालिसक्नुभएको छ ।

बीपीको उपन्यास ‘सुम्निमा’मा आर्य र किराँत संस्कृतिको जुन संवाद छ, त्यो वास्तवमा नेपालको बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई स्वीकार गर्ने समावेशी दर्शनको जेठो रूप हो । त्यस्तै, ‘तीन घुम्ती’की इन्द्रमायाका माध्यमबाट उहाँले महिलाको आफ्नो शरीरमाथिको अधिकार, निर्णय लिन पाउने स्वतन्त्रता र पुरुषसत्तात्मक बन्धनविरुद्धको जुन विद्रोह प्रस्तुत गर्नुभयो, त्यो आजको आधुनिक समाजका लागि समेत एउटा मार्गदर्शक बनेको छ ।

विडम्बनाको कुरा, साहित्यमा मानव मनको स्वतन्त्रता खोज्ने र राजनीतिमा नागरिकको आर्थिक–सामाजिक न्यायका लागि लड्ने यस्ता दार्शनिकको विरासत बोकेको पार्टी आज पूर्ण रूपमा दिशाहीन बनेको छ । वर्तमान नेपालको राजनीतिक परिदृश्य हेर्ने हो भने देश एउटा गम्भीर अराजकता र ‘हाइब्रिड पपुलिजम’को दलदलतिर प्रस्थान गर्न तम्त्यार अवस्थामा छ ।

यो लोकरिझ्याइँ सरकारले परम्परागत दलहरूको अकर्मण्यताको जगमा उभिएर सस्ता र सेन्टिमेन्टल नाराहरू त बिकाएको छ, तर यसले लोकतन्त्रका आधारभूत संस्थाहरूलाई जगैदेखि हल्लाउने काम गरिरहेको छ ।

लोकतन्त्रका खम्बा मानिने ट्रेड युनियनहरू खारेज गर्ने प्रपञ्च र विद्यार्थी सङ्गठन खारेजी गर्ने प्रक्रिया सुरु हुँदासमेत देशकै सबैभन्दा जेठो लोकतान्त्रिक दल नेपाली कांग्रेस सशक्त वैचारिक प्रतिवाद गर्न छोडेर मूकदर्शक बनेर बसिरहेको छ ।

आज हाम्रा लोकतान्त्रिक संस्थाहरू, चाहे त्यो संसद् होस्, न्यायालय वा कर्मचारीतन्त्र, सबै राजनीतिक दाउपेच र अराजकताको सिकार बनेर आफ्नो गरिमा गुमाउँदै छन् । संसद् नीति निर्माणको थलो हुनुको सट्टा गालीगलौज र शक्तिको दोहोरी खेल्ने मैदान बनेको छ । न्यायालयमाथि कार्यपालिका र अदृश्य शक्तिहरूको छाया प्रस्ट देखिन थालेको छ ।

यसका कारण सर्वसाधारणको न्यायप्रतिको विश्वास धर्मराएको छ । कर्मचारीतन्त्र व्यावसायिक र निष्पक्ष हुनुको सट्टा चरम भय, अस्थिरता र राजनीतिक प्रतिशोधको वातावरणमा काम गर्न बाध्य छ । सेनालगायतका सुरक्षा निकायहरू सरकारका पिट्ठुका रूपमा सीमित भएका छन् ।

अझ विडम्बना त के छ भने, लोकतन्त्रका खम्बा मानिने ट्रेड युनियनहरू खारेज गर्ने प्रपञ्च र विद्यार्थी सङ्गठन खारेजी गर्ने प्रक्रिया सुरु हुँदासमेत देशकै सबैभन्दा जेठो लोकतान्त्रिक दल नेपाली कांग्रेस सशक्त वैचारिक प्रतिवाद गर्न छोडेर मूकदर्शक बनेर बसिरहेको छ ।

नागरिकहरू चरम आर्थिक निराशा, महँगी, बेरोजगारी र सहकारी ठगीको मारमा परेर सडकमा आत्मदाह गर्न बाध्य भइरहेको यो सङ्कटपूर्ण घडीमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट आम जनताको पक्षमा दह्रो खुट्टा टेक्नुपर्थ्यो । तर, नेतृत्व भने जनताको यो चरम रोदन र आक्रोशलाई बिर्सेर ललितपुरको सडक तताउने म्याराथन र कर्पोरेट शैलीका राउन्ड टेबल बहसमा रमाइरहेको छ ।

के यूएन पार्कदेखि जावलाखेलसम्म टिसर्ट लगाएर दौडिँदैमा मलको अभावमा धान रोप्न नपाएका किसान, उखुको बक्यौता नपाएका कृषक, मिटरब्याजको मारमा परेका असामी, सहकारीबाट ठगिएका श्रमजीवी र महँगीले ढाड सेकिएका उपभोक्ताको दुःख घट्छ ? उनीहरूको आवाज मुखरित हुन्छ ? पक्कै हुँदैन ।

कांग्रेसले आफ्नो परम्परागत भोट गुमाउनुको मुख्य कारण नै यही हो कि पार्टी आज भुइँमान्छेबाट टाढिएर ‘सहरिया एलिट’हरूको क्लब बनेको छ, जहाँ लामो समयदेखि पार्टीमा आबद्ध, प्राज्ञिक चेत भएका, सिद्धान्तनिष्ठ र भुइँतहका कार्यकर्ताको आवाज सुन्ने र उनीहरूका विचार लिने कुनै लोकतान्त्रिक माध्यम जीवित नै छैन ।

स्मृति दिवसका दिन नेताहरू हल वा म्याराथन ट्र्याकसुटमा होइन, मानो रोपेर मुरी उब्जाउने किसानका खेतमा, श्रमजीवीका झुपडीमा र साना व्यवसायीका पसलमा पुगेर उनीहरूका समस्या समाधानका लागि साथमा दरोसँग उभिने सङ्कल्पका साथ जोडिनुपर्थ्यो ।

लोकरिझ्याइँको यो बतासे हावालाई चिर्नका लागि कांग्रेसले बीपीको त्यही वास्तविक समाजवादको जगलाई समात्नुपर्ने हो, जसले प्रचारमा होइन, परिणाममा विश्वास गर्थ्यो ।

यदि कांग्रेसले बीपीलाई साँचो अर्थमा सम्झिने र पार्टीको पुनरुत्थान गर्ने हो भने यो सेलिब्रेटी राजनीतिको फेसन र पुरानो पुस्ताको कर्मकाण्डी जडता दुवैलाई त्याग्नुपर्छ । पार्टीले श्रम, उपभोक्ता अधिकार र लोकतान्त्रिक संस्थाहरूको रक्षाका लागि प्रत्येक वडा र टोलमा खुला संवाद तथा सुनुवाइ कार्यक्रमहरू सञ्चालन गर्नुपर्थ्यो ।

स्मृति दिवसका दिन नेताहरू हल वा म्याराथन ट्र्याकसुटमा होइन, मानो रोपेर मुरी उब्जाउने किसानका खेतमा, श्रमजीवीका झुपडीमा र साना व्यवसायीका पसलमा पुगेर उनीहरूका समस्या समाधानका लागि साथमा दरोसँग उभिने सङ्कल्पका साथ जोडिनुपर्थ्यो ।

इतिहासको यो सङ्कटपूर्ण घडीमा कांग्रेसका युवा र अनुभवी दुवै नेतृत्वले बुझ्न जरुरी छ– बीपी एउटा सङ्गठित विचार हुन्, कुनै मौसमी फेसन वा चुनावी नारा होइनन् । जबसम्म कांग्रेस प्रज्ञा प्रतिष्ठानको बन्द कोठा र जावलाखेलको म्याराथन ट्र्याकबाट बाहिर निस्केर फेरि त्यही ‘हलो जोत्ने किसान’ र ‘गाउँकी सुत्केरी’को झुपडीमा पुगेर जनतासँग एकाकार हुँदैन, तबसम्म न त बीपीको आत्माले शान्ति पाउनेछ, न त सङ्कटमा परेको लोकतन्त्रको रक्षा र कांग्रेसको ऐतिहासिक पुनरुत्थान नै सम्भव छ ।

(भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. कुशवाहा सुशासन पाठशालाका अनुसन्धान निर्देशक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राजेश्वर कुशवाहा
डा. राजेश्वर कुशवाहा
लेखकबाट थप