असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
सारांश
- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी र समूहगत प्रतिस्पर्धा समाधान नगरे कांग्रेस विभाजन हुन सक्ने चेतावनी दिएका छन्।
- उनले पार्टी विभाजन भएमा त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताएका छन्।
- कोइरालाले विचारको भिन्नतालाई विभाजनको आधार नबनाई राष्ट्रिय मेलमिलापको नीतिअनुसार संवाद, सहिष्णुता र सहकार्यमा जोड दिनुपर्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।
बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताएका छन्। उनले लोकतन्त्रका मूल्यमान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सही दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरू परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता रहेको समेत उल्लेख गरे।
लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भए पनि त्यसलाई विभाजनको आधार नबनाई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्। वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति संवाद, सहिष्णुता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै कांग्रेसले त्यही कुरालाई आत्मसात् गर्नुको विकल्प नरहेको उनले बताए।
‘बीपी कोइरालाले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गर्नुभयो,’ डा. कोइरालाले भने, ‘उहाँले राजनीतिलाई केवल सत्ताको माध्यम नबनाई सेवाको स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्किनुभएको थियो। यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आज हामीले राख्नुपर्छ।’
पार्टीभित्रको आन्तरिक कलहबारे बोल्दै उनले थपे, ‘यो अवसरमा लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर बनाउने तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्नु हुँदैन।’
विचारको भिन्नताबारे स्पष्ट पार्दै उनले भने, ‘विचारको भिन्नतालाई विभाजनको आधार होइन, साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्छ। वीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति, संवाद, सहिष्णुता र सहकार्यको राजनीतिक संस्कारले यही प्रेरणा दिन्छ।’
उनले आरोप-प्रत्यारोप र समूहगत स्वार्थ त्याग्न आग्रह गर्दै भने, ‘आजको आवश्यकता आरोप-प्रत्यारोप, आग्रह, पूर्वाग्रह र समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको विचार, सङ्गठन तथा राजनीतिक एकतालाई सुदृढ बनाउनु हो। म सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टीको एकता र सहकार्य मजबुत बनाउन अपिल गर्दछु।’
पार्टी नेतृत्वलाई सचेत गराउँदै डा. कोइरालाले अगाडि भने, ‘पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधन गरी सङ्गठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वमाथि छ। नेतृत्वले सबै नेता-कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्न सके मात्र कांग्रेस वास्तविक रूपमा एकताबद्ध हुन्छ। अन्यथा पार्टी एकतामा क्षति भई विभाजनको अवस्थामा पुग्यो भने यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ।’
डा. कोइरालाले वीपी कोइरालाले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गरेको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वले लोकतान्त्रिक मूल्य-मान्यता, लोकतान्त्रिक संस्थाको संरक्षण तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा पुनः जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण