बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड

बुधबार, ०६ साउन २०८३, १७ : १०
बुधबार, ०६ साउन २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक रहेको बताएका छन्।
  • उनले १२ बुँदे समझदारी, शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
  • प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा विगतमा केही कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा वामपन्थी शक्तिहरूसँगको सम्बन्ध थप सशक्त बनाउने बताए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबिच सहकार्य हुनुपर्ने बताएका छन्। 

बुधबार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा संयोजक दाहालले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस, मधेस केन्द्रित दल तथा अन्य राजनीतिक शक्तिहरूसँगको सहकार्य नै वर्तमान चुनौतीको समाधान भएको उनले उल्लेख गरे। राष्ट्रिय स्वाधीनताको प्रश्न हाल अत्यन्तै पेचिलो र संवेदनशील मोडमा पुगेको बताउँदै यसको रक्षाका लागि दलहरूबिच साझा धारणा बन्नु आवश्यक रहेको उनले स्पष्ट पारेका छन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा विगतमा केही कमीकमजोरी भएको संयोजक दाहालले स्वीकार गरे। आगामी दिनमा विश्वका विभिन्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहलकदमीलाई थप सशक्त बनाउने निष्कर्षमा पार्टी पुगेको जानकारी उनले दिएका छन्।

‘देशको अहिलेको असाधारण जटिल राजनीतिक परिस्थिति, जसमा राष्ट्रिय स्वाधीनताको प्रश्न निकै पेचिलो, संवेदनशील र जोखिमपूर्ण अवस्थामा परेको छ,’ संयोजक दाहालले भने, ‘त्यसको सामना गर्न हिजो १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन सहकार्य गरेका राजनीतिक दलहरूसँग सहकार्य र मोर्चा गरेर अगाडि जानुपर्छ भन्ने कुरा गर्‍यौँ।’

कांग्रेस र मधेस केन्द्रित दलहरूसँगको सहकार्यका साथै अन्तर्राष्ट्रिय पहल बढाउनुपर्नेमा जोड दिँदै उनले थपे, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा जति हामीले आफ्नो प्रभाव, सङ्गठन र सम्बन्ध विस्तार गर्दै विभिन्न देशका कम्युनिस्ट पार्टी तथा वामपन्थी शक्तिहरूसँग सहकार्य गर्नुपर्ने थियो, त्यति गर्न नसकेको महसुस गरेर हामीले त्यसलाई पनि अगाडि बढाएका छौँ।’

पार्टीको साङ्गठनिक अवस्थाबारे चर्चा गर्दै उनले भौगोलिक प्रदेशहरूमध्ये अब बागमती प्रदेश मात्रै शपथ ग्रहणका लागि बाँकी रहेको जानकारी दिएका छन्। मधेस प्रदेशको शपथ ग्रहण समारोह सम्पन्न भएसँगै पार्टीले साङ्गठनिक अभियानमा नयाँ गति लिने विश्वास उनले व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप