इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
सारांश
- नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाको एकलौटी शैली नसच्चिए पार्टी विभाजनमा जाने चेतावनी दिएका छन् ।
- शीर्ष नेताहरूले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति थापाले सबै पक्षलाई समेटेर नहिँडे कांग्रेसको अस्तित्व संकटमा पर्ने बताए ।
- नेताहरूले पार्टी मिलाउने वा विभाजन गर्ने जिम्मा सभापति थापाकै हातमा रहेको भन्दै १४औं महाधिवेशन र विशेष महाधिवेशनका संरचनालाई नजोडी पार्टी एक हुन नसक्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहका नेताहरूले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको एकलौटी कार्यशैली नसच्चिए पार्टी विभाजनको बाटोमा जाने चेतावनी दिएका छन् ।
पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा शीर्ष नेताहरूले सामूहिक असन्तुष्टि व्यक्त गर्दै सभापति थापाले सबै पक्षलाई समेटेर अगाडि नबढाए कांग्रेसको अस्तित्व संकटमा पर्ने र अन्ततः पार्टी फुट्ने बताएका हुन् ।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको भविष्य र एकताको सम्पूर्ण साँचो सभापति थापाकै हातमा रहेको बताए । ‘गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) ले नचाहँदासम्म विगतमा फुटेको नेपाली कांग्रेस एक भएको थिएनस अहिले गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन । मैले सभापतिजीलाई भेटमै भनेको छु— पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा तपाईंको हातमा छ । आज मिलाउने निर्णय तपाईंले गर्ने हो, त्यो बुझ्नुहोला,’ खड्काले भने ।
खड्काले नियमित १४औँ महाधिवेशन र विशेष महाधिवेशनका संरचनालाई नजोडी पार्टी एक हुन नसक्ने बताए । ‘नियमित महाधिवेशन र विशेष महाधिवेशन जोड्नुस् गगनजी, त्यो जोड्नुभयो भने कांग्रेस एक हुन्छ । १५औँ महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने ग्यारेन्टी गर्नुस्, कांग्रेस एक हुन्छ,’ खड्काले भने, ‘केन्द्रीय समितिलाई जोड्नुस् भनेका हौँ, के सबैलाई एकै ठाउँमा राख्नुस् भन्दा पद मागेको हो ? हामीले यसअघि नै सबै पदहरू पाइसकेका छौँ, हामीलाई पद चाहिएको छैन । हामी अन्तिम क्षणसम्म सहमतिका लागि लागिरहन्छौँ, तर सम्मान त्यागेर समर्पण गर्न सकिन्न, बरु मर्न तयार हुन्छौँ ।’
पार्टीभित्र बढ्दै गएको निरंकुशताप्रति चिन्ता व्यक्त गर्दै अर्का नेता डा. शेखर कोइरालाले कांग्रेस आफैँ निरंकुशताको अन्त्यका लागि जन्मिएको भए पनि अहिले पार्टीभित्रै निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाए । ‘अहिले पार्टीमै निरंकुशता जन्मिन लागेको छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ,’ डा. कोइरालाले भने । उनले सभापति गगन थापाले विशेष महाधिवेशनमा सामाजिक लोकतन्त्रको कुरा गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले कांग्रेसको आदर्श र सिद्धान्त बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद भएको बताउँदै भने, ‘कांग्रेसको आदर्श बीपीले प्रतिपादन गरेको विचार प्रजातान्त्रिक समाजवाद हो, के कांग्रेसले यो विचार छोडेको हो ?’
नेता कोइरालाले सभापति थापाले पार्टी एकताको पहल नगरे त्यसपछि आउने अवस्थाको जिम्मेवारी आफैँले लिनुपर्ने चेतावनी पनि दिए । ‘कदमकदाचित सभापतिले पहल गर्नुभएन भने त्यसको सम्पूर्ण जिम्मेवारी उहाँ आफैँले लिनुपर्छ । सभापतिजी, बीपीको विचार सम्झिनुस्, व्यक्तिवादी नबन्नुस्,’ उनले भने ।
_z5EPSqH6jo.jpg)
पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टी एकताका लागि आफूहरूले राखेका आधारहरूलाई बेवास्ता गरिए नयाँ बाटो रोज्नुपर्ने बाध्यता सिर्जना हुने चेतावनी दिए । ‘हामीले सहमतिका लागि बाहिर ल्याएका एजेन्डालाई एकताको आधार बनाउनुपर्छ, त्योभन्दा तलमाथि हुन सक्दैन,’ निधिले भने, ‘हामीले अत्यन्तै सामान्य माग राखेका छौँ, तर सहमति गर्न किन हिचकिचाइएको ?’
यी माग सभापतिले पूरा गर्न नचाहेमा उनी पार्टीलाई एक राख्न नचाहेको आफूहरूले बुझ्ने निधिको भनाइ थियो । ‘यी माग र आधार पनि नमाने उहाँ पार्टी एक राख्न चाहनुभएको छैन र उहाँ अपरिपक्व देखिनुहुन्छ,’ निधिले भने । सभापति थापामा नेतृत्वमा हुनुपर्ने दूरदर्शिता नदेखिएको टिप्पणी गर्दै उनले आफूहरूले घोषणा गरेको राष्ट्रिय भेलाको मितिसम्म सहमति नभए नयाँ बाटो तय गर्न बाध्य हुने चेतावनी दिए । ‘हामीले घोषणा गरेको राष्ट्रिय भेलासम्म पनि सहमति भएन भने नयाँ बाटो तय गर्न हामी बाध्य हुनेछौँ,’ निधिले भने ।
नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले कांग्रेसको सामूहिक निर्णयको संस्कृति भत्काएर एकलौटी रूपमा पार्टी चलाएको आरोप लगाए । ‘विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाले नेपाली कांग्रेस एक्लै चलाउनुभएको छ । कांग्रेसको संस्कार त्यो होइन, सामूहिक रूपमा चलाउनुपर्छ । सबैको विचारलाई जोडेर मन्थन गर्दै अगाडि बढ्नुपर्छ,’ डा. महतले भने । उनले पार्टीमा आफूहरूले बृहत्तर एकता खोजेको र त्यसका लागि १५औँ महाधिवेशन निष्पक्ष हुने वातावरण निर्माण गर्नुपर्ने बताए । ‘१५औँ महाधिवेशन निष्पक्ष हुन र सबैको सम्मानजनक सहभागिता रहन जरुरी छ । त्यसका लागि १४औँ महाधिवेशनको समिति र विशेष महाधिवेशनको समितिलाई जोडौँ, नभए दुवै पक्षलाई समेटेर राजनीतिक संयन्त्र बनाऔँ । त्यो नगरी एक्लै गर्छौँ भन्नु कत्तिको जायज हो ? यदि यसो भएन भने कांग्रेसको भौतिक शरीर त्यहाँ रहला, आत्मा यहाँ रहन्छ,’ उनले भने ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि राखिएको सानो मागलाई समेत नेतृत्वले अस्वीकार गरेकोमा आक्रोश व्यक्त गरे । ‘विशेष महाधिवेशन गरेर विघटन गरिएका हामीलाई जोडिदिनुस् मात्रै भनेका छौँ, त्यो माग किन पूरा गर्न चाहनुहुन्न ?’ सिटौलाले प्रश्न गरे । उनले लोकतन्त्र संकटमा रहेका बेला पार्टी एक बनाउन किन नचाहेको भन्दै सभापति थापालाई प्रश्न गरे, ‘लोकतन्त्र संकटमा छ, मुलुक संकटमा छस त्यो बेलामा पार्टीलाई एक बनाउन तपाईंहरू किन चाहनुहुन्न ? भदौ २४ गते हाम्रा घर जलेका कुरा सामान्य भए, तर पूरै देश जल्यो । अहिले संविधान कुन अवस्थामा छ, न्यायपालिका र संवैधानिक निकाय कहाँ छन्रु के उनीहरूले निष्पक्ष र स्वतन्त्र काम गर्न पाएका छन्रु संविधानको मूल आत्मा जोगाउने दायित्व कांग्रेसको हो । हामी सबैलाई छाडेर विशेष महाधिवेशनबाट आएको नेतृत्वले मात्र यसलाई जोगाउन सक्छ ?’
_O4BJbalk2n.jpg)
पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रका पुराना र असहमत पक्षलाई समेटेर अगाडि बढ्न सभापति थापालाई आग्रह गरे । उनले भने, ‘विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई मेरो आग्रह छ पार्टीमा सबैलाई मिलाउनुस् र बलियो कांग्रेसको सभापति बन्नुस् ।’
उनले तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले विषपान गरेर भए पनि पार्टी एक बनाएको उदाहरण दिँदै पार्टीलाई एकजुट बनाउन सभापति थापालाई आग्रह गरे । ‘पार्टीभित्र ३६ से र ७४ रे समूह रहेका बेला कांग्रेसमा विवाद योभन्दा धेरै थियो । त्यो बेला त नेताहरूले मिलाउनुभएको थियो । थापाजी, तपाईंले अदालतबाट आधिकारिक सभापति भएपछि पुरानो कांग्रेस, नयाँ कांग्रेस र तपाईंसँग असहमत भएका कांग्रेसलाई नमिलाई जान खोज्नुभएको हो ? मिलाएर अगाडि बढ्नुस्,’ गच्छदारले भने । उनले असहमत पक्षलाई सहमतिमा ल्याएर मात्र १५औँ महाधिवेशन गर्न सुझाए ।
नेता मोहनबहादुर बस्नेतले नेतृत्वको एकलौटी शैलीविरुद्ध तत्कालै समानान्तर गतिविधिहरू सुरु गर्ने चेतावनी दिए । उनले भने, ‘हामी पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो । गगन थापासँग नेताहरू सती जाने होइन, बलियो पार्टी बनाउने हो । आजै राष्ट्रिय भेलाको घोषणा हुनुपर्छ । गगन थापाहरू भदौ २ गतेबाट वडा अधिवेशनमा लाग्ने रे, हामीले राष्ट्रिय भेला घोषणा गर्ने र वडासम्म समानान्तर काम गरेर नयाँ बलियो पार्टी बनाउने हो । जंघार तर्नका लागि खुट्टा लुला बनाएर हुन्न, दरिला बनाउनुपर्छ । कांग्रेसलाई बलियो बनाएर प्रजातान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने काम हामीले गर्नुपर्छ । कतिबेला कसको मिसाइल नेपालमा आउने हो ठेगान छैन, त्यसैले हामी आफैँ बलियो हुनुपर्छ ।’
कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पनि अब आफूहरू सम्झौता र पर्खाइको अवस्थाभन्दा माथि उठिसकेको बताए । ‘हामीले घरको दैलोबाट पाइला बाहिर निकालीसक्यौँ, अब पाइला रोकिँदैनन् । अद्यावधिक गरेका क्रियाशील सदस्य कति रहन्छन् हेरौँला । अझै पनि हामी लक्ष्मणरेखाभित्रै छौँ, तोडिसकेका छैनौँ । नजरअन्दाज गर्नुभयो भने पाइला रोकिन्नन्,’ बलायरले भने ।
अर्का नेता गोविन्द भट्टराईले पार्टीभित्रको एकता राष्ट्रिय प्रणालीको रक्षाका लागिसमेत अपरिहार्य रहेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । बीपीको स्मृति दिवस मनाइरहँदा मेलमिलाप हुनुपर्छ । कांग्रेस एकताबद्ध भएन भने लोकतन्त्र रहने छैन र संविधान पनि रहने छैन ।’
_1mj4SWKk7J.jpg)
संविधान निर्माण नहुँदा, मुलुकमा अशान्ति हुँदा र माओवादी द्वन्द्वका बेला राष्ट्रियताको पक्षमा निकास दिने र निर्णय लिन सक्ने पार्टी कांग्रेस नै भएकाले पार्टीमा एकता अपरिहार्य रहेको भट्टराईले बताए । कुन्दन काफ्लेले पनि नेतृत्वले विधि र प्रणाली मिचेर गरेका एकलौटी निर्णयहरू नसच्चिए तल्लो तहदेखि नै विद्रोह सुरु हुने र त्यसले पार्टीलाई गम्भीर दुर्घटनातर्फ लैजाने चेतावनी दिए । उनले पार्टीको निर्णय प्रक्रियामा युवा र इमानदार कार्यकर्ताको भावना नसमेटिए नयाँ पुस्ताले समानान्तर पाइला चाल्न ढिला नगर्ने स्पष्ट पारे ।
बुधबारको संस्थापनइतर समूहको कार्यक्रमले साउन २९ गते राष्ट्रिय भेला आह्वान गर्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण