दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
सारांश
- दक्षिणी थाइल्यान्डको नाराथिवाट प्रान्तमा विद्रोहीहरूले सुरक्षा चौकीमा गरेको आक्रमणमा ५ जना अर्धसैनिकको मृत्यु भएको छ भने ६ जना सर्वसाधारण घाइते भएका छन् ।
- आक्रमणकारीले सुरक्षा चौकीबाट तीनवटा एके-४७ राइफल, तीनवटा बुलेटप्रुफ ज्याकेट र केही मोबाइल फोन लिएर फरार भएको थाई सेनाले जनाएको छ ।
- यो घटना हुनुभन्दा एक दिनअघि पनि नाराथिवाटकै अर्को क्षेत्रमा रहेको पूर्व तान्योङ प्रहरी चौकी बाहिर कार बम विस्फोट भएको थियो ।
बैंकक । दक्षिणी थाइल्यान्डको नाराथिवाट प्रान्तमा विद्रोहीहरूले सुरक्षा चौकीमा गरेको आक्रमणमा ५ जना अर्धसैनिकको मृत्यु भएको छ भने ६ जना सर्वसाधारण घाइते भएका छन् । थाई सेनाका अनुसार यो आक्रमण बुधबार साँझ बुकेटा सामी सुरक्षा चौकीमा भएको हो ।
सैन्य अधिकारीहरूका अनुसार करिब १० जना आक्रमणकारी कालो कपडा र कालो टोपी लगाएर पिकअप गाडी तथा मोटरसाइकलमा घटनास्थल पुगेका थिए । उनीहरूले सुरक्षा चौकीमा खटिएका टास्क फोर्स रेन्जर रेजिमेन्ट–४५ का सुरक्षाकर्मीमाथि स्वचालित हतियारबाट गोली प्रहार गर्नुका साथै पाइप बमसमेत प्रयोग गरेका थिए ।
आक्रमणपछि उनीहरूले चौकीबाट तीनवटा एके–४७ राइफल, तीनवटा बुलेटप्रुफ ज्याकेट र केही मोबाइल फोन लिएर फरार भएको थाई सेनाले जनाएको छ । सुरक्षाकर्मीहरूले पछि घटनास्थलबाट करिब २१ किलोमिटर टाढा आक्रमणमा प्रयोग गरिएको पिकअप गाडी फेला पारेका थिए । उक्त गाडी आगजनी गरेर छोडिएको अवस्थामा भेटिएको थियो ।
घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको जानकारी पनि दिएको छैन ।
थाई सरकारले यस घटनालाई आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ । सरकारी प्रवक्ता राचाडा धनादिरेकले जारी गरेको विज्ञप्तिमा यस्तो हिंसात्मक गतिविधिले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्नुका साथै दक्षिणी क्षेत्रमा शान्ति प्रक्रिया पुनः सुरु गर्ने प्रयासलाई कमजोर बनाएको उल्लेख गरिएको छ ।
थाई सेनाले आक्रमणमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानपूर्वक सम्झिने जनाएको छ । हालका वर्षहरूमा थाई सुरक्षाकर्मीमाथि भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ । यसले दक्षिणी सीमावर्ती क्षेत्रमा फेरि हिंसा बढ्न थालेको चिन्ता पनि बढाएको छ ।
यो घटना हुनुभन्दा एक दिनअघि पनि नाराथिवाटकै अर्को क्षेत्रमा रहेको पूर्व तान्योङ प्रहरी चौकी बाहिर कार बम विस्फोट भएको थियो । त्यस घटनामा एक जना प्रहरी घाइते भएका थिए भने भवनमा क्षति पुगेको थियो ।
प्रहरीले कार बम विस्फोटपछि मोटरसाइकलमा भागेका दुई जना संदिग्धको खोजी गरिरहेको जनाएको छ । थाइल्यान्डको द नेसनका अनुसार यो वर्ष दक्षिणी सीमावर्ती क्षेत्रमा भएको यो पहिलो कार बम विस्फोट हो ।
नाराथिवाट, पट्टानी र याला प्रान्तमा मुख्य रूपमा मलाय मूलका मुस्लिम समुदायको बसोबास छ । यी क्षेत्र सन् २००४ देखि सशस्त्र पृथकतावादी आन्दोलनको केन्द्र बनेका छन् । त्यसयता जारी हिंसामा सर्वसाधारण, सुरक्षाकर्मी तथा विद्रोहीसहित सात हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण