शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आयात–निर्यात

वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब

बिहीबार, ०७ साउन २०८३, १८ : ३२
बिहीबार, ०७ साउन २०८३

सारांश

  • गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोडभन्दा बढी पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।
  • आयात र निर्यातबीचको खाडल झनै गहिरिँदै गएको छ, जसले गर्दा व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोडभन्दा बढी पुगेको छ ।
  • नेपालले १६० भन्दा बढी देशसँग व्यापार गर्दा १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ, जसमा भारत र चीन प्रमुख छन् ।

काठमाडौँ । नेपालको वैदेशिक व्यापारको आकारले इतिहासमै पहिलो पटक नयाँ रेकर्ड कायम गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार नेपालले विश्वका विभिन्न देशहरूसँग गर्ने आयात र निर्यातसहित कुल वैदेशिक व्यापारको आकार २४ खर्ब रुपैयाँको विन्दुलाई पार गरेको छ । 

एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ । 

नेपालको अर्थतन्त्रको संरचना, उत्पादनको अवस्था र उपभोगको प्रवृत्तिलाई यो तथ्यांकले देश चरम परनिर्भरतातर्फ धकेलिँदै गएको संकेत गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । 

२०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबर थियो । एकै वर्षमा वैदेशिक व्यापारको आकारमा साढे तीन खर्ब रुपैयाँभन्दा बढीको वृद्धि भएको देखिएको छ । 

निर्यातमा सुधार, तर आयातको तुलनामा नगण्य

भन्सार विभागको विस्तृत तथ्यांक हेर्दा नेपालको कुल व्यापारमा आयातको हिस्सा निकै ठुलो छ । समीक्षा अवधिमा नेपालको कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ । २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । 

कुल वैदेशिक व्यापारमा आयातको पारो उच्च रहँदा निर्याततर्फ पनि केही सुधारका संकेत भने देखिएका छन् । यद्यपि, आयातको विशाल आकारको अगाडि निर्यातको सुधार समुद्रमा एक थोपा पानी जस्तै भएको छ । २०८२/८३ मा नेपालको निर्यातमा १३.८१ प्रतिशतको वृद्धि भएको छ । तथ्यांक अनुसार गत वर्ष नेपालबाट विश्वका विभिन्न देशहरूमा ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात जम्मा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँमा सीमित थियो । 

करिब ३८ अर्ब रुपैयाँले निर्यात बढ्नुलाई सकारात्मक रूपमा लिन सकिए पनि, आयातको वृद्धिदर (१६.२० प्रतिशत) भन्दा निर्यातको वृद्धिदर (१३.८१ प्रतिशत) सुस्त रहँदा यसले समग्र व्यापार सन्तुलनमा भने कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । निर्यातको तुलनामा आयातको अंश ठुलो भएकै कारण थोरै प्रतिशतले आयात बढ्दा पनि त्यसले व्यापार घाटामा ठुलो चाप थपेको छ ।

चुलिँदो व्यापार घाटाः १७ खर्ब ८१ अर्ब बाहिरियो

देशको अर्थतन्त्रका लागि सबैभन्दा चिन्ताजनक विषय भनेको बढ्दो व्यापार घाटा हो । आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको हिस्सा अत्यधिक ठुलो भएका कारण व्यापार घाटामा उछाल आएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालको कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेर करिब १८ खर्बको नजिक पुगेको छ । 

२०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको १२ महिनाको अवधिमा नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ रहेको थियो । 

एकै वर्षमा व्यापार घाटामा साढे दुई खर्ब रुपैयाँभन्दा बढीको भारी वृद्धि हुनुले देशबाट विदेशी मुद्राको बाहिरिने क्रम तीव्र भएको देखाउँछ, जसले दीर्घकालमा विदेशी विनिमय सञ्चितिमा समेत नराम्रो असर पार्न सक्ने अर्थविद् बताउँछन् ।

निराशाजनक अवस्था

नेपालले विश्व बजारमा कस्तो व्यापार गरिरहेको छ भन्ने कुरा आयात र निर्यातको अनुपातले प्रस्ट पार्छ । तथ्यांकअनुसार आयात र निर्यातको अनुपातमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष यो अनुपात ६.५१ रहेकोमा गत आर्थिक वर्षमा २.१० प्रतिशतले बढेर ६.६५ पुगेको छ । यसको अर्थ, नेपालले विदेशी बजारमा १ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्दा, उताबाट ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरेर मुद्रा बाहिर पठाइरहेको छ । 

त्यसैगरी कुल वैदेशिक व्यापारको समग्र आकारमा निर्यातको हिस्सा झनै खुम्चिएको छ । अघिल्लो वर्ष कुल व्यापारमा निर्यातको हिस्सा १३.३१ प्रतिशत रहेकोमा समीक्षा अवधिमा यो १.७९ प्रतिशतले घटेर १३.०७ प्रतिशतमा सीमित हुन पुगेको छ । यसको ठिकविपरीत, कुल व्यापारमा आयातको हिस्सा भने सामान्य (०.२७ प्रतिशत) वृद्धि भई ८६.९३ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८६.६९ प्रतिशत रहेको थियो ।

१३४ देशसँग घाटाको व्यापार, छिमेकीसँगै धेरै नोक्सान

नेपालले गत आर्थिक वर्ष २०८२/८३ मा विश्वका १६० भन्दा बढी देशसँग व्यापारिक कारोबार गरेकोमा १३४ वटा देशसँग भने व्यापार घाटा व्यहोरेको छ । नेपालले व्यापार गर्ने अधिकांश देशसँग नेपालको पल्ला भारी नभई कमजोर रहेको छ । जम्मा २८ वटा देशसँगको व्यापार मात्रै नेपालको पक्षमा अर्थात् नाफामा रहेको छ । 

समग्र व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुग्दा यसको सबैभन्दा ठुलो हिस्सा हाम्रा दुई छिमेकी मुलुकहरू भारत र चीनले ओगटेका छन् । नेपालको कुल आयात २० खर्ब ९६ अर्ब रुपैयाँ हुँदा निर्यात मात्र ३ खर्ब १५ अर्ब रुपैयाँ भएको छ । 

सबैभन्दा ठुलो व्यापार साझेदार भारतसँगको घाटा सबैभन्दा उच्च रहेको छ । तथ्यांक अनुसार यस अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर, सोही अवधिमा भारततर्फ नेपालको निर्यात जम्मा २ खर्ब ५८ अर्ब रुपैयाँमा खुम्चिएको छ । यसरी आयात र निर्यातबचिको विशाल खाडलका कारण भारतसँग मात्रै नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ, जुन कुल व्यापार घाटाको आधाभन्दा बढी हो । 

दोस्रो ठुलो व्यापार घाटा उत्तरी छिमेकी चीनसँग रहेको छ । चीनबाट नेपालले ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरका विभिन्न मालसामान आयात गरेको छ । तर, चीनतर्फको निर्यात भने अत्यन्तै दयनीय अर्थात् जम्मा १ अर्ब ८९ करोड रुपैयाँको मात्रै रहेको छ । यसरी चीनसँग नेपालले ४ खर्ब २३ अर्ब रुपैयाँको ठुलो व्यापार घाटा व्यहोरेको छ । 

छिमेकी देशहरूपछि नेपालले सबैभन्दा धेरै घाटा व्यहोरेको देश दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना हो । भौगोलिक रूपमा धेरै टाढा भए पनि अर्जेन्टिनाबाट नेपालले १ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात गरेको छ । यसको मुख्य कारण त्यहाँबाट हुने कच्चा भटमासको तेललगायतका तेलजन्य पदार्थको आयात हो । तर, अर्जेन्टिनामा नेपालको निर्यात भने पत्याउनै मुस्किल पर्ने गरी जम्मा १८ हजार रुपैयाँ मात्र छ । यसले गर्दा अर्जेन्टिनासँगको घाटा १ खर्ब १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । 

यसबाहेक नेपालले विश्वका अन्य प्रमुख अर्थतन्त्र भएका देशहरूसँग पनि ठुलो व्यापार घाटा बेहोरेको छ । तथ्यांक अनुसार संयुक्त अरब इमिरेट्स (युएई) सँग ५० अर्ब ३२ करोड रुपैयाँ, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड रुपैयाँ, थाइल्यान्डसँग १८ अर्ब ३२ करोड रुपैयाँ, अष्ट्रेलियासँग १८ अर्ब २६ करोड रुपैयाँ, ब्राजिलसँग १७ अर्ब ७० करोड रुपैयाँ, मलेसियासँग १५ अर्ब २६ करोड रुपैयाँ र अमेरिकासँग ११ अर्ब ९४ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ । 

२८ देशसँगको व्यापारमा नेपाललाई नाफा

नेपालले २८ वटा देशसँगको व्यापारमा भने नाफा कमाएको छ । भन्सार विभागका अनुसार नेपालले सबैभन्दा धेरै व्यापार नाफा युरोपेली राष्ट्र डेनमार्कसँग गरेको छ । डेनमार्कबाट नेपालले २१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने उता १ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सफल भएको छ । जसका कारण डेनमार्कसँग नेपाल ८० करोड ४५ लाख रुपैयाँ खुद नाफामा छ ।

यसैगरी, नर्वेसँग ८ करोड ८० लाख रुपैयाँ, रोमानियासँग ४ करोड २२ लाख रुपैयाँ र आइसल्याण्डसँग पनि २ करोड ६० लाख रुपैयाँ व्यापार नाफा नेपालले कमाएको छ । यस्तै नेपालले केही यस्ता देशहरूसँग व्यापार नाफा कमाएको छ जहाँबाट आयात शून्य रहेको छ । ग्रेनाडा, फिजी, बहामास, बार्बाडोस, सिरियन अरब रिपब्लिक र एङ्गोला जस्ता देशहरूबाट नेपालले १ रुपैयाँको पनि वस्तु आयात गरेको छैन । 

त्यस्तै, अमेरिकन सामोआबाट अत्यन्तै नगन्य अर्थात् जम्मा २ हजार रुपैयाँको आयात भएको छ भने उता पठाइएको निर्यात ४ करोड ४६ लाख रुपैयाँको रहेको छ । यसैगरी, केम्यान आइल्यान्ड र पानामाबाट जम्मा १/१ हजार रुपैयाँको मात्र मालवस्तु आयात भएकोमा नेपालबाट भने क्रमशः १ करोड ४० लाख र ३ लाख ३७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

नेपालले व्यापार नाफा कमाएका अन्य देशहरूमा सेसेल्स, नाइजर, माल्दिभ्स, इराक, न्यू क्यालेडोनिया, यमन, जर्जिया, कोलम्बिया, मौरिसस, माली, साइप्रस, क्रोएसिया, घाना, कंगो र जमैका जस्ता राष्ट्रहरू रहेका छन् । यद्यपि यी देशहरूसँगको नाफा रकम धेरै ठुलो भने छैन ।

आयातमा ठुलो हिस्सा ओगटेका १० वस्तु 

यस अवधिमा आयातमा ठुलो हिस्सा ओगट्ने वस्तुमध्ये पेट्रोलियम पदार्थ, मेसिनरी उपकरण र फलामजन्य सामग्रीमा अत्यधिक रहेको देखाएको छ । कुल २० खर्ब ९६ अर्ब रुपैयाँभन्दा बढीको आयात हुँदा सबैभन्दा धेरै रकम खनिज इन्धनमै बाहिरिएको छ । तथ्यांक अनुसार आयातको पहिलो नम्बरमा रहेको खनिज इन्धन (पेट्रोलियम पदार्थ र यसका उत्पादन) को आयातमा मात्रै ३ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

त्यसैगरी, दोस्रो स्थानमा जनावर तथा वनस्पतिको बोसो र तेल छ । नेपालमा कच्चा तेल (भटमास, पाम, सनफ्लावर आदि) ल्याएर प्रशोधन गरी निर्यात गर्ने चलन भएकाले यसको आयात उच्च अर्थात् करिब १ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको भएको छ । मेसिनरी तथा उपकरणहरू करिब १ खर्ब ५६ अर्ब रुपैयाँ र  निर्माण सामग्रीको रूपमा प्रयोग हुने फलाम तथा स्टिल १ खर्ब ४१ अर्ब ९५ करोड रुपैयाँ बराबरको भित्रिँदै क्रमशः तेस्रो र चौथो स्थानमा आयात भएका छन् । 

पाँचौँ र छैटौँ स्थानमा क्रमशः विद्युतीय मेसिनरी तथा उपकरण र सवारी साधनहरू रहेका छन् । विद्युतीय सामग्रीहरूको आयात १ खर्ब ४१ अर्ब ३५ करोड रुपैयाँको हुँदा अटोमोबाइल क्षेत्रका सवारी साधन तथा पाट्र्सहरू १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको भित्रिएको छ । साथै, नेपालमा ७४ अर्ब रुपैयाँ बराबरको प्लास्टिक तथा यसका सामग्रीहरू र ६४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सुन, चाँदी जस्ता बहुमूल्य पत्थर तथा धातुको आयात भएको छ । कृषिप्रधान देश भएर पनि ५९ अर्ब ६६ करोड रुपैयाँ बराबरको चामल, मकै, गहुँ जस्ता अन्न र कृषिका लागि आवश्यक करिब ५० अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयात भएको छ ।

निर्यातमा ठुलो हिस्सा ओगटेका १० वस्तु

गत आर्थिक वर्षमा कुल ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको पहिलो नम्बरमा जनावर वा वनस्पतिको बोसो तथा तेल रहेको छ, जसले समग्र निर्यातको झण्डै आधा हिस्सा ओगटेको छ । बाहिरबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी पठाइने पाम तथा भटमासको तेल जस्ता वस्तुको निर्यात मात्रै १ खर्ब ४८ अर्ब ९७ करोड रुपैयाँ बराबरको भएको छ ।

नेपालको आफ्नै उत्पादनमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा चिया, कफी र अलैंची, अदुवा जस्ता मसलाहरू दोस्रो स्थानमा रहेका छन्, जसको निर्यात १८ अर्ब ७५ करोड रुपैयाँ बराबर भएको छ । त्यस्तै, तेस्रो र चौथो स्थानमा क्रमशः १५ अर्ब ५१ करोड रुपैयाँ बराबरको मानव निर्मित धागो र ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको परम्परागत नेपाली गलैँचा तथा कार्पेट निर्यात भएको छ ।

यसैगरी, दाना तथा पशु आहारका रूपमा प्रयोग हुने खाद्य उद्योगको अवशेष १० अर्ब २६ करोड रुपैयाँ र काठ तथा काठका सामग्रीहरू ९ अर्ब ८७ करोड रुपैयाँ बराबरको निर्यात हुँदै क्रमशः पाँचौँ र छैटौँ स्थानमा पर्न सफल भएका छन् । 

नेपाली गार्मेन्ट उद्योगबाट ८ अर्ब ७३ करोड रुपैयाँ बराबरका तयारी पोशाकहरू (नबुनेका) बाहिरी देश गएका छन् भने जुट तथा अन्य वनस्पतिजन्य धागोको निर्यात ८ अर्ब ६ करोड रुपैयाँ बराबर भएको छ । त्यसैगरी, प्रशोधित फलफूल तथा जुसहरूको निर्यात ७ अर्ब ७१ करोड रुपैयाँ र फेल्टबाट बनेका हस्तकलाका सामग्री तथा अन्य धागो (वाडिङ र ननओभन) को निर्यात ६ अर्ब ८ करोड रुपैयाँ बराबर हुँदै धेरै निर्यात हुने १० वस्तुको सूचीमा अटाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप