नागढुंगा सुरुङ : कहिले के भयो ?
सारांश
- काठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भई सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ।
- २०७६ कात्तिक ४ मा शिलान्यास भएको यो सुरुङ आयोजना कोभिड–१९ महामारी, मुआब्जा विवाद र प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेन।
- आयोजनाको मुख्य सुरुङ २.६८ किलोमिटर र आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ भने यसको प्रयोगका लागि कारले ६५ रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ।
काठमाडौँ । काठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नेपालकै पहिलो सडक सुरुङ आयोजना शिलान्यास भएको सात वर्षपछि सञ्चालनमा आउन लागेको हो।
नागढुंगा सुरुङको यात्रा २०७६ कात्तिक ४ मा सुरु भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको शिलान्यास गर्दै ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका थिए। तर कोभिड–१९ महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेन र निर्माण अवधि पटक–पटक लम्बियो।
निर्माणका क्रममा २०८० साउन २२ मा सुरुङको आपतकालीन (रेस्क्यु) टनेलको ‘ब्रेक थ्रु’ गरिएको थियो। त्यसबेला तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युतका तथा जाइका प्रतिनिधिको उपस्थितिमा आयोजित कार्यक्रममा मुख्य सुरुङको करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिइएको थियो। त्यतिबेला मुख्य सुरुङको ५०६ मिटर भाग खन्न बाँकी थियो।
रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ भएको करिब १० महिनापछि २०८१ असार ३ मा मुख्य सुरुङ पनि छिचोलिएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेपछि आयोजना अन्तिम चरणमा पुगेको थियो। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने त्यससँगै २.५५७ किलोमिटर लामो आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ।
यो आयोजना सुरु गर्दा जापान सरकारको करिब १६ अर्ब ५० करोड रुपैयाँ ऋण सहायता र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने गरी सम्झौता गरिएको थियो। निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। आयोजना निर्माणको जिम्मा जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको हो।
सुरुङ सोमबारदेखि सञ्चालनमा आए पनि पहिलो दिन आपतकालीन प्रयोजनका सवारीसाधनले मात्र प्रयोग गर्न पाउनेछन्। त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारीसाधनलाई सञ्चालन अनुमति दिइनेछ। पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङ प्रयोग गर्न अनुमति दिइने छैन।
सुरुङ प्रयोग गर्न भने शुल्क लाग्नेछ। सरकारले निर्धारण गरेको शुल्कअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस र टिपरले प्रवेश गर्दा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस र ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ भने हेभी ट्रकले प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थानाभर्याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला
-
उद्घाटनपछि कहिलेदेखि चल्न थाल्छन् नागढुंगा सुरुङमार्गमा गाडी ?
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण