सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण : राजदूत तोरु

सोमबार, ११ साउन २०८३, १३ : २०
सोमबार, ११ साउन २०८३

सारांश

  • नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भव्य उद्घाटन भएको छ।
  • जापानी राजदूत माएदा तोरुले यसलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीको रूपमा चित्रण गरेका छन्।
  • यो सुरुङमार्गले यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने, समयको बचत गर्ने, ढुवानीलाई सहज बनाउने र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

काठमाडौँ । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार भव्य समारोहका बीच उद्घाटन भएको छ। 

मुख्य सुरुङ उद्घाटनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरे।

नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटन हुनुले थप विशेष महत्त्व राखेको राजदूत तोरुले बताए। यो सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास उनले व्यक्त गरे।

काठमाडौँलाई धादिङ र पोखरातर्फ जोड्ने मुख्य नाकामा अवस्थित यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध हट्नेछ। यसले समयको बचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउनेछ। यसबाट स्थानीय समुदायको जीवनस्तरमा सुधार आउने र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्त्वपूर्ण योगदान पुग्ने राजदूत तोरुको भनाइ छ।

हिमालय क्षेत्रको जटिल भूगर्भ र सक्रिय भौगर्भिक अवस्थाका कारण निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको थियो। वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञहरूको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उनले उल्लेख गरे।

जापानले निर्माण गरेका करिब १५ हजारभन्दा बढी सुरुङमार्गहरूको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको छ। यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्त्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको उनले बताए।

सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अब यसको प्रभावकारी सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारको हातमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस सुरुङमार्गको स्वतन्त्र र दिगो व्यवस्थापनका लागि आफ्नै सञ्चालन क्षमता विकास गर्नेमा जापान सरकार विश्वस्त रहेको राजदूत तोरुले बताए।

नेपालको लोकतान्त्रिक प्रक्रिया र विकासको लक्ष्यप्रति ऐक्यबद्धता जनाउँदै राजदूत तोरुले नेपालको स्थिरता र समृद्धिका लागि जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। नागढुङ्गा सुरुङमार्गले नेपालको आर्थिक विकासको प्रवेशद्वारको रूपमा काम गर्नेछ। ‘भविष्यमा दुई देशबिचको सहकार्य अझ प्रगाढ हुनेछ,’ उनले विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप