नागढुङ्गा सुरुङमार्ग सञ्चालन नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय: सचिव सिग्देल
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताएका छन्।
- उनले कठिन भौगोलिक अवस्था, राजनीतिक इच्छाशक्ति र प्राविधिक सहकार्य भएमा नेपालले महत्त्वाकाङ्क्षी परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्ने बताए।
- नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै सिस्नेखोला-बलम्बुबीचको यात्रा अब केही मिनेटमा पूरा हुने र यात्रुहरूले जाम तथा पहिरोको जोखिमबाट राहत पाउने जानकारी दिए।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताएका छन्।
नागढुङ्गा सुरुङमार्ग उद्घाटन कार्यक्रममा बोल्दै उनले कठिन भौगोलिक अवस्थाका बाबजुद नेपालमा सुरुङमार्ग सञ्चालनमा ल्याउन सफल भएको स्पष्ट पारे।
राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्ने उनले बताए। नेपालमा सुरुङ पूर्वाधार विकासको सुरुवात मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने उनको भनाइ छ। सुरुङ निर्माणमार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणसम्बन्धी अनुभव हासिल गरेको र यसले भविष्यमा देशभर सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार परियोजनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास सचिव सिग्देलले व्यक्त गरे।
सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड–१९ महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीका बिच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उनले उल्लेख गरे। ‘कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि राजनीतिक इच्छाशक्ति र प्राविधिक सहकार्य भए नेपालले महत्त्वाकाङ्क्षी परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्छ,’ उनले भने, ‘यो पहिलो सुरुङ हो, तर अन्तिम भने होइन।’
नागढुङ्गा सुरुङमार्ग सञ्चालनले सिस्नेखोला–बलम्बुबीचको यात्रा अब केही मिनेटमा पूरा हुने उनले जानकारी दिए। यात्रुहरूले वर्षौँदेखि भोग्दै आएको जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट अब राहत मिल्ने उनको भनाइ छ। नागढुङ्गा पास लामो समयदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित भए पनि राष्ट्रिय सडक सञ्जालको सबैभन्दा बढी जाम हुने र जोखिमपूर्ण खण्डमध्ये एक रहेको उनले स्मरण गराए।
सचिव सिग्देलले परियोजना निर्माणमा जापान सरकारले पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। मन्त्रालय सुरुङको सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार र पारदर्शी व्यवस्थापनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबाट प्राप्त लाभ दीर्घकालसम्म नेपाली जनताले पाउने विश्वास उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण