मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?

मङ्गलबार, १२ साउन २०८३, १२ : ३५
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • सांसद प्रेम दंगालले संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य बनाउनुपर्ने प्रश्न उठाएका छन्।
  • उनले प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेसँग निर्वाचन प्रणालीका जटिलता, प्रविधिको प्रयोग, र मतदाता सहभागिता बढाउने उपायबारे प्रश्न गरेका छन्।
  • दंगालले घरभन्दा टाढा रहेका मतदाता, मिथ्या सूचना र आचारसंहिता उल्लङ्घन रोक्न आयोगको योजनाबारे पनि जिज्ञासा राखेका छन्।

काठमाडौँ । एमाले सांसद प्रेम दंगालले संवैधानिक निकायका पदाधिकारीहरूको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने भन्ने प्रश्न अगाडि सारेका छन् ।

प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा सांसद दंगालले निर्वाचन आयोगको नेतृत्व गर्ने व्यक्तिसँग स्पष्ट र नतिजामुखी दृष्टिकोण हुनुपर्ने बताए । दंगालले निर्वाचन प्रणालीमा रहेका व्यवहारिक जटिलता र आधुनिक चुनौतीहरूबारे प्रस्तावित आयुक्त वाग्लेको ध्यानाकर्षण गराएर  प्रश्न गरेका हुन् । 

सांसद दंगालले संवैधानिक निकायमा नियुक्त हुने पदाधिकारीहरूले आफ्नो कार्यकालमा के–कति उपलब्धि हासिल गरे भन्ने कुरा तथ्याङ्क र नतिजामा देखिनुपर्ने बताए । उनले भने, ‘तपाईंको कार्ययोजना राम्रो छ, तर यी कुराहरू मापनयोग्य कसरी हुन्छन् ? भोलि तपाईंको कार्यकाल सकिँदा कुन आधारमा सफल मान्ने ?’

विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा निर्वाचनलाई थप स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन प्रविधिको प्रयोग कसरी गरिन्छ भन्नेमा उनले चासो व्यक्त गरे । ‘अहिलेको युग विज्ञानको हो, प्रविधिको प्रयोग गरेर निर्वाचनमा हुने धाँधली र आशंकालाई निवारण गर्ने तपाईंको ठोस दृष्टिकोण के छ ?’ दंगालले प्रश्न गरे । निर्वाचनमा खसेको मतको प्रतिशत कम हुँदै जानु लोकतन्त्रका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै दंगालले मतदान गर्नेहरूको संख्या बढाउन आयोगले कस्तो प्रोत्साहनमूलक कार्यक्रम ल्याउँछ भनी जिज्ञासा राखे । 

सांसद दंगालले घरभन्दा टाढा रहेका मतदाताहरूको समस्यालाई प्रमुखताका साथ उठाए । ‘आन्तरिक बसाइसराइ गरेका, अध्ययनका लागि सहर पसेका विद्यार्थी र रोजगारीका लागि घरभन्दा टाढा रहेका श्रमिकहरूलाई आफ्नो नामावली भएको स्थानमा पुगेर भोट हाल्ने वातावरण कसरी मिलाउनुहुन्छ ? के उनीहरूलाई जहाँ छन् त्यहीँबाट भोट हाल्ने व्यवस्था मिलाउन सकिँदैन ?’ उनले भने । 

निर्वाचनका बेला सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलाइने मिथ्या सूचना र आचारसंहिता उल्लङ्घनलाई रोक्न आयोगको योजनाबारे पनि सांसद दंगालले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप