मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते

मङ्गलबार, १२ साउन २०८३, १८ : ०२
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • जापानको दक्षिणी कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर कम्तीमा ५० जना घाइते भएका छन् ।
  • भूकम्पले हजारौं घरमा विद्युत् सेवा अवरुद्ध पारेको छ भने सडक, पुल, रेल र हवाई यातायातमा पनि व्यापक असर परेको छ ।
  • विभिन्न स्थानमा आगलागी, विद्युत् अवरोध, सडक र पुलमा क्षति तथा भवनहरू भत्किएका छन् ।

टोकियो । जापानको दक्षिणी कुमामोतो प्रान्तमा मंगलबार आएको ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ५० जना घाइते भएका छन् ।

भूकम्पका कारण हजारौं घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक, पुल, रेल सेवा र हवाई यातायातमा पनि व्यापक असर परेको छ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताएकी छन् । उनका अनुसार विभिन्न स्थानमा आगलागी, विद्युत् अवरोध, सडक र पुलमा क्षति तथा भवनहरू भत्किएका छन् ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार एक अस्पतालमा मात्रै ५० भन्दा बढी घाइते उपचारका लागि भर्ना भएका छन् । भूकम्पका बेला उच्चगतिको रेलमा यात्रा गरिरहेका केही यात्रु पनि घाइते भएका छन् । भूकम्पले धेरै भवनमा क्षति पुर्‍याएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एयोन सपिङ मलमा विस्फोट भएको थियो भने अन्य केही भवनमा आगलागी र आंशिक रूपमा भत्किएको अवस्था देखिएको छ ।

मुख्य सडक तथा उडान पुलहरूमा ठूलो चिरा परेको छ। एउटा मालवाहक रेल पटरीबाट बाहिरिएको छ भने सबै रेल सेवा अस्थायी रूपमा बन्द गरिएको छ । कुमामोतो विमानस्थल ले पनि आफ्नो धावनमार्ग बन्द गरेपछि धेरै उडान रद्द वा अन्यत्र मोडिएका छन् । विश्वकै ठूलो चिप निर्माण कम्पनी टीएसएमसीले सुरक्षाका लागि स्थानीय कारखानाबाट आफ्ना कर्मचारीलाई बाहिर निकालेको जनाएको छ । सोनी र फुजिफिल्मले पनि आफ्ना उद्योगमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् ।

जापानको विपद् व्यवस्थापन निकायका अनुसार १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । जापान मौसम विज्ञान एजेन्सीले सुरुमा करिब १ मिटर उचाइको सुनामी आउने चेतावनी जारी गरेको थियो । पछि जोखिम कम भएपछि उक्त चेतावनी हटाइयो । यद्यपि आगामी करिब एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने र पहिरोको जोखिम पनि रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

क्युशु इलेक्ट्रिक पावर का अनुसार भूकम्पका कारण करिब ४० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । दूरसञ्चार कम्पनी केडीडीआई र डोकोमो ले पनि विद्युत् र प्रसारण लाइनमा समस्या आएपछि मोबाइल सेवा प्रभावित भएको बताएका छन् । जापानको आणविक नियमन प्राधिकरणले भने प्रभावित क्षेत्रमा रहेका कुनै पनि आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जनाएको छ ।

सन् २०१६ मा कुमामोतो क्षेत्रमा आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं भवन क्षतिग्रस्त भएका थिए । यसपटकको भूकम्पले पनि ऐतिहासिक कुमामोतो दरबारका केही ढुंगे पर्खाल भत्काएको अधिकारीहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप