मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

भारतीय अनुदानमा बन्यो गुस्तल र प्रथमश्री महाविहार, १२ करोड लागतमा पुनर्निर्माण सम्पन्न

मङ्गलबार, १२ साउन २०८३, २१ : ०५
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • ललितपुरको पाटनस्थित गुइत टोलमा पुनर्स्थापित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको संयुक्त रूपमा उद्घाटन भएको छ।
  • भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब १२ करोड नेपाली रुपैयाँ लागतमा महाविहारहरूको पुनर्निर्माण गरिएको हो।
  • भारतीय राजदूत नवीन श्रीवास्तवले पुनर्निर्माण गरिएका यी संरचना दुई देशबीचको साझा सम्पदा र मित्रताको दिगो प्रतीक भएको बताए।

काठमाडौँ। ललितपुरको पाटनस्थित गुइत टोलमा पुनर्स्थापित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको संयुक्त रूपमा उद्घाटन भएको छ। 

मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सम्पदाको उद्घाटन गरे।

कार्यक्रममा विशिष्ट व्यक्तिहरूले उद्घाटन पट्टिका अनावरण गर्दै परम्परागत विधि तथा समारोहमा सहभागिता जनाए। उक्त अवसरमा नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का अधिकारी, स्थानीय समुदायका प्रतिनिधि र काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब १२ करोड नेपाली रुपैयाँ लागतमा महाविहारहरूको पुनर्निर्माण गरिएको हो। नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले कार्यान्वयन गरेको यस परियोजनामा इन्डियन नेशनल ट्रष्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेजले डिजाइन र परियोजना व्यवस्थापन परामर्श सेवा दिएको थियो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जगदीश खरेलले स्थानीय समुदायको उत्थानशीलताको प्रशंसा गरे। उनले गुस्तल महाविहारजस्ता प्राचीन जीवन्त सम्पदाको संरक्षण आवश्यक रहेको बताउँदै पुनर्स्थापनाका लागि भारत सरकारले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर र नेपालका अन्य जिल्लामा साँस्कृतिक सम्पदा पुनर्निर्माणमा भारतको योगदानको प्रशंसा गरे। उनले यस कार्यमा स्थानीय समुदायले गरेको सहयोगको पनि तारिफ गरे।

यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो साँस्कृतिक सम्बन्धबारे चर्चा गरे। ऐतिहासिक धरोहरको पुनर्स्थापनामा भारतले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले पुनर्निर्माण गरिएका यी संरचना दुई देशबीचको साझा सम्पदा र मित्रताको दिगो प्रतीक भएको बताए।

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायतामार्फत नेपालका ८ जिल्लाका ३० वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ। यसका साथै गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, ८ जिल्लामा ८५ शैक्षिक संस्था र ११ जिल्लामा १३३ वटा स्वास्थ्य संरचनाको पुनर्निर्माणमा पनि भारतले सहयोग पुर्‍याएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप