शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशुबाट मानिसमा फैलिने प्रमुख रोगको रोकथाम

बुधबार, १८ असार २०७६, ०९ : ५२
बुधबार, १८ असार २०७६

केही सङ्क्रमित रोग पशुबाट मानिसमा सर्ने गर्छन् । तिनलाई पशुजन्य रोग भनिन्छ । मुख्यतः सङ्क्रमित रोग ग्रसित पशुसँग सीधा सम्पर्क, प्रदूषित मासु खानाले, मलमूत्रको सम्पर्कमा आउनाले तथा सङ्क्रमित पशुको दुग्धजन्य उत्पादनहरु मानिसले उपभोग गर्दा लाग्न सक्तछ । पशुहरुबाट मानिसमा आउने प्रमुख रोग निम्न छन् ।

विषाणुजनित रोगहरुमा : जापानिज इन्सेफालाइटिस, बर्डफ्लु, रेबिज एवं एकथाइमा आदि ।

जापानिज इन्सेफलाइटिस :

यस रोगका विषाणु सुँगुर, बङ्गुर प्रजातिको रगतमा पाइन्छ । लामखुट्टेद्वारा यस रोगबाट ग्रसित सुँगुर, बङ्गुरको रगत चुसेपछि जब मानिसलाई टोक्न पुग्छ अनि यस रोगका विषाणु मानिसको शरीरमा प्रवेश गर्छ । मानिसमा जोर्नी दुख्ने, कडा ज्वरो, टाउको दुख्ने, रगतमा प्लेटलेट्सको कमी हुनु यस रोगका लक्षण हुन् । समयमा उपचार नपाएमा यो रोग प्राणघातक हुनेछ ।

बर्डफ्लु :

बर्डफ्लु रोगका बिषाणु मुख्यत कुखुरा प्रजातिमा पाइन्छ । ग्रसित कुखुराहरुको चुच्चोबाट पानी बग्छ र सास लिन गाह्रो हुन्छ । यस रोगका बिषाणु हावाको माध्यमबाट कुखुरा फार्ममा काम गर्ने व्यक्तिको नाकबाट प्रवेश गरेर फोक्सोमा सङ्क्रमण गराउँछ । यसले गर्दा बिरामीमा जोर्नी दुख्ने, ज्वारो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ ।

रेबिज :

बहुला कुकुरले टोक्दा र्यालबाट यस रोगका बिषाणु मानिसको शरीरमा प्रवेश गर्छ । यो एउटा प्राणघातक रोग मानिन्छ । ग्रसित मानिसको घाँटीको मांसपेसीमा पक्षघात हुन्छ एवं पानी पिउँदा घाँटीमा कडा दुखाइ हुन्छ र मानिसको मृत्यु हुन्छ ।

एक थाइमा :

यो रोग प्रायः भेडा, बाख«ा पाल्नेहरुलाई सङ्क्रमित पशुको मुख तथा छाला छुनाले हुने गर्छ । यस रोगका बिषाणुले भेडा, बाख«ालाई सङ्क्रमण गराउँछ जसले गर्दा छाला चिलाउने घाउ, खटिरा आउने गर्छ ।

जीवाणुजनित रोगहरु

टीबी क्षयरोग :

यो रोग भयानक सङ्क्रामक मानिन्छ । यस रोगबाट ग्रसित पशुले दाना चारो खान कम गर्छ र विस्तारै दुब्लाउँदै जान्छ । पशुलाई हल्का ज्वरो कहिले काँही आउँछ । टीबीबाट ग्रसित पशुको काँचो दूध या कम उमालेको दूध वा मासु प्रयोग गर्नाले मानिसमा यो रोग हुन सक्छ । यस रोगबाट ग्रसित मानिसमा अलि अलि ज्वरो आउँछ । कमजोरी र आलस्य बढेर जान्छ ।

प्लेग :

यो पनि एक प्रकारको प्राणघातक रोग हो । यो रोग ग्रसित मुसालाई उपियाँले रगत चुस्नाले अन्य स्वस्थ्य मुसामा फैलिन्छ । जब सङ्क्रमित मुना मर्न थाल्दछ अनि सङ्क्रमित उपियाँले मानिसको रगत चुस्दा मनिसमा रोग फैलिन्छ । यस रोगबाट ग्रसित मानिसमा कडा ज्वारो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ । बेलैमा उपचार नपाएमा बिरामीको मृत्यु हुन्छ ।

बु्रसलोसिस :

यो एउटा सङ्क्रामक सम्पर्कित रोग मानिन्छ । जुन बु्रसेला नामक जीवाणुले गर्दा लाग्छ । यो रोग प्रायः गाई, भैँसी, भेडा, बाख्रा, सुँगुर, बङ्गुर, कुखुरामा हुन्छ । ग्रसित पशुबाट मानिसमा यो रोगको सङ्क्रमण पशुको गर्भाशयको सङ्क्रमित श्राव, गर्भपातका कारण या सङ्क्रमित सालनालाई हातले छुँदा छालाका माध्यमबाट मानिसमा सर्छ । पटक पटक गर्भाधान गर्दा पनि गर्भ नरहनु, गर्भ रहेमा पनि ६, ७ महिनाको अन्तरालमा गर्भपतन हुनु तथा बाँझोपन पशुमा यसका मुख्य लक्षण हुनाले मानिसमा यस रोगको सङ्क्रमण हुँदा मांसपेशी तथा जोर्नी दुख्ने, जोर्नी सुन्नीने, राति अत्यधिक पसिना आउने कम या ज्यादा बिहान बेलुका आउने गर्छ । पशुजनित रोगबाट जनस्वास्थ्य सुरक्षित गर्ने मुख्य उपाय बर्डफ्लु सङ्क्रमित कुखुरा डढाएर खाल्टोमा पुर्ने, पशुको गोठ राम्रोसित सरसफाइ गर्ने, गाई, भैँसीको दूध राम्रोसँग उमालेर पिउने जुन व्यक्तिले कुकुर पालेका छन्, कुकुरलाई एन्टी रेविजको खोप नियमित दिने । पशुलाई फोहोर पानी दिनु हुन्न । पशु बिरामी परे बेलैमा उपचार गर्ने । पशुहरुलाई बेलाबेलामा बाह्य परजीवी जस्तै लामखुट्टे, किर्ना, उपियाँबाट बचाउन औषधि गर्ने, जुन पशुलाई कडा ज्वरो आएर मरेको र त्यसको मुख, मलद्वार तथा योनीबाट रगत बगेको छ भने सम्भव भएसम्म मरेको पशुलाई जलाएर गहिरो खाल्डो खनी पुर्ने । मृत पशुको छेउछाउको घाँस, पराल, सोतर डडाउनुपर्छ । मरेको पशु ओसारपसार गर्ने बाहनलाई निसङ्क्रमित गर्ने । पोथी पशुमा गर्भपतन भएमा तिनको यस्ता पशुहरुको छेउछाउको वातावरण निसङ्क्रमित गर्ने । पशुहरु तथा पशुजन्य उत्पादनहरुसँग काम गर्दा व्यक्तिगत सरसफाई व्यक्तिगत सुरक्ष उपकरणको प्रयोग अनिवार्य गर्नु नै बुद्धिमानी हुन्छ ।

(लेखक वरिष्ठ पशु चिकित्सक ह्ुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप