शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१३ औं सागका लागि कराँते खेलाडी छनोट

बिहीबार, १२ भदौ २०७६, १९ : २८
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कराँतेबाट ३० खेलाडी छनोट भएका छन् । नेपाल कराते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहिबार छनोट गर्दै सागका दुई वैकल्पिक सहित ३२ खेलाडी छनोट गरेको हो ।

कातामा दुई वैकल्पिकसहित १० खेलाडी तथा फाइटमा २० खेलाडी छनोट भएका छन् । एकल कातामा महिला र पुरुषमा समान १–१ तथा टिम कातामा महिला र पुरुषा समान ३–३ खेलाडी छनोट भएका छन् । फाइटमा महिलामा ८ र पुरुषमा १० खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

एकल काता पुरुषतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ र महिला एकल कातामा आठौंकै स्वर्णधारी चञ्चला दनुवार स्वदेशमा तीन महिनापछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । मन्डे टिम कातामा पनि छनोट भए ।

बिहीबार भएको छनोटमा मन्डेले पर्शुराम बास्तोलालाई १ अंकले पछि पारेका हुन् । मन्डले ३९ अंक प्राप्त गर्दा पर्शुरामले ३८ अंक पाएका थिए । टिम कातामा पनि मन्डेले स्वर्ण हात पार्दै दुई विधामा छनोट हुन सफल भए । भाग्गसँग ठगिदै आएकी आठौंकी स्वर्णधारी चञ्चलाले सुभद्रा श्रेष्ठलाई पछि पार्दै १३ औं सागका लागि स्थान सुरक्षित गरिन् । उनी २०१४ मा भएको इन्चोन एसियाडमा छनोट भएर पनि खेल्नबाट वञ्चित बनेकी थिइन् ।

गत वर्षको जाकार्ता एसियाडमा उनी पदकको लागि भएको खेलमा चुकेकी थिइन् । महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की छनोट भइन् । कोपिला विष्ट वैकल्पिक खेलाडीमा रहेकी छन् ।

फाइटतर्फ पुरुष ५० केजीमा सोनाम लामाले शिव खत्रीलाई तथा ५५ केजीमा लक्ष्मण तामाङले विजय श्रेष्ठलाई पराजित गर्दै राष्ट्रिय टोलीमा स्थान बनाए । ६० केजीमा राजीव पुडासैनीले स्वर्ण तथा राजकुमार रसाइलीले रजत जिते । ६७ केजीमा नवीन रसाइली पहिलो तथा अर्जुन बाघचन्द्र दोस्रो भए । ७५ केजीमा गंगाराम कुसवार पहिलो तथा मुकुन्द महर्जन दोस्रो भए । ८४ केजी मुनि दिवस श्रेष्ठले स्वर्ण तथा सुशील पौड्यालले रजत जित्दै १३ औं सागलाई छनोट भए । ८४ केजीमाथि विप्लव लाल श्रेष्ठले स्वर्ण तथा लेखराज मैनालीले रजत जिते ।

यसैगरी महिला फाइटको ४५ केजीमा कुसुम खड्काले मिरा योञ्जनलाई तथा ५० केजीमा अनु अधिकारीले मिस्ली श्रेष्ठलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् । ५५ केजीमा मनिषा चौधरीले स्वर्ण तथा सुस्मिता वाइवाले रजत जितिन् । ६१ केजीमा अनु गुरुङले स्वर्ण तथा एस्तर राईले रजत जितिन् । ६८ केजीमा सुनता महर्जनले स्वर्ण तथा सनि तामाङले रजत जितिन् । ६८ केजीमाथि अनुपमा मगरले स्वर्ण तथा रिता कार्कीले रजत जित्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण एकसातापछि हुने नेपाल कराते महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप