मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

असममा एनआरसीको अन्तिम सूची जारी, सूचीमा नरहेका १९ लाखभन्दा बढी नागरिकताविहीन हुने सम्भावना

शनिबार, १४ भदौ २०७६, १५ : ०३
शनिबार, १४ भदौ २०७६

एजेन्सी । भारतको पूर्वोत्तर राज्य असममा शनिबार बिहान १० बजे नेशनल सिटिजन रजिस्टर(एनआरसी)को अन्तिम सूची जारी भएको छ । 

अन्तिम सूचीमा ३ करोड ११ लाख २१ हजार चार व्यक्तिको नाम समावेश गरिएको छ भने १९,०६,६५७ को नाम सूचीमा समावेश छैन ।

अन्तिम सूची एनआरसीको बेवसाइटमा राखिएको छ । त्यसका साथै असमका मानिसहरुको लागि राज्य सरकारको सेवा केद्रमा गएर सूचीमा आफ्नो नाम रहे नरहेको हेर्न सकिने व्यवस्था गरिएको छ । 

राज्यको एनआरसी अध्यक्ष प्रतीक हजेलाका अनुसार ज–जसको नाम सूचीमा थिएन ती व्यक्तिसँग आवश्यक कागजात भेटिएको थिएन ।

केन्द्र सरकार र असमका मुख्य मन्त्री सर्बानन्द सोनोबालले सूचीमा नाम नभएका व्यक्तिलाई पक्राउ नगर्ने वाचा गरेका छन् । साथै उनीहरुलाई नागरिकता प्रमाणित गर्नको लागि सम्पूर्ण अवसर प्रदान गरिने आश्वासन दिइएको छ । 

सूचीमा नाम नभएका व्यक्तिले ‘फरेन ट्राईब्युनल’मा अपिल गर्न सकिने व्यवस्था गरिएको छ । त्यहाँको सरकारले यसको लागि अपिल दायर गर्ने समय सिमा पनि ६० दिनबाट बढाएर १२० दिन गरिदिएको छ । 

एनआरसीको अन्तिम सूची आउनु ठीक अघि असमका मुख्यमन्त्री सोनोवालले मानिसलाई सूचीमा नाम नभएको अवस्थामा पनि नहडबढाउन अपिल गरेका थिए । 

यसबीच भाजपा दिल्लीका अध्यक्ष तथा कलाकार मनोज तिवारीले एनआरसीलाई राजधानी दिल्ली पनि लागू गर्न चाहेको टिप्पणी गरेका छन् । 

एनआरसी सूची प्रकाशित भएपछि बिहानैदेखि असमवासी आफ्नो र परिवारका सदस्यको नाम हेर्नको लागि वरिपरि क्षेत्रका एनआरसी केन्द्रमा गएको देखिएको थियो । 

यस दौरान मानिसहरुमा आफ्नो नाम सूचीमा नपर्ने हो कि भन्ने भय र छटपटिको देखिएको छ । तर हालसम्म अवस्था शान्त रहेको छ । 

सुरक्षालाई मध्यनजर गरेर राज्यमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । मानिसलाई कुनै पनि प्रकारको झुटा समाचारको हल्ला पछाडि नलाग्न सल्लाह दिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप