मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सी जिनपिङको नेपाल भ्रमणबारे विमर्श

सोमबार, २७ असोज २०७६, १५ : १६
सोमबार, २७ असोज २०७६

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको निवासमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा छलफल भयो । छलफलमा विभिन्न वक्ताहरुले चीनका राष्ट्रपति सी जिन पिङको नेपाल आगमन, त्यसको माहोल र वातावरणका बारेमा प्रकाश परेका थिए । 

नरहरि आचार्य, नेता नेपाली काँग्रेस

२३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपालको भ्रमण गर्दैछन् । हामी सीमाना जोडिएकै छिमेकी हौँ । तर पनि २३ वर्षसम्म चीनबाट नेपालमा यो तहको भमण हुन सकेको थिएन । नेपालमा भने प्रधानमन्त्री बन्ने वित्तिकै भारत र चीनको भ्रमणमा जाने गरिन्छ । भारतका प्रधानमन्त्री मोदी अघिल्लोे वर्ष ३ पटक नेपाल भ्रमणमा आए । त्यस समयमा पनि भारतका प्रधानमन्त्रीहरुको एकदमै कम भ्रमण भइरहेको अवस्थामा ती भ्रमणहरु हुन सकेका थिए । नेपाल गणतन्त्र भएपछिको पहिलो राष्ट्राध्यक्षको भ्रमण हो यो । नेपालमा राजतन्त्र हुँदा नेपालका कुनै पनि पार्टीसँग भन्दा राजासँग चीनको घनिष्ट सम्बन्ध हुने गथ्र्यो । वीरेन्द्रले राजाका रूपमा ५–६ पटक चीनको भ्रमण गरेका थिए । वीरेन्द्रभन्दा बढी चीनको भ्रमण गर्ने अन्य राजाहरु पनि थिएनन् । 

नेपालसँग चीनको सधैँ सामान्य तर मैत्रीपूर्ण सम्बन्ध रहँदै आयो । छिमेक भए पनि चीनसँग विशेष सम्बन्ध कहिल्यै भएन । दुई देशको सम्बन्ध पहिला पनि जनस्तरको सम्बन्ध थिएन, सरकारी स्तरमा नै हुने हो । अहिले गणतन्त्र आएपछि अलिअलि जनस्तरको सम्बन्ध पनि बढ्दै गएको छ । त्यसैले चीनसँग सामान्य तर मैत्रीपूर्ण मित्रवत् सम्बन्ध रह्यो । गणतन्त्र आएपछि नेपालमा सधैँ सर्वदलीय सरकार बन्यो । त्यसको नेतृत्व अधिकांश समय काँग्रेसले गर्यो । 

संविधानसभाले संविधान बनाएपछि यतिखेर निर्वाचनबाट नेपाल कम्युनिस्ट पार्टीको बलियो सरकार छ । यस्तो अवस्थामा चीनका राष्ट्रपतिको भ्रमण भएको छ । नेपालको भारत र चीनसँगको समानान्तर सम्बन्ध हो कि भनेर भन्छन् मानिसहरु । अर्को छिमेकी भारतसँग धेरै कुराले घनिष्ट सम्बन्ध छ । भारतसँगको घनिष्ट सम्बन्ध भए पनि बेलाबेलामा राम्रो नराम्रो उतारचढावपूर्ण हुन्छ । सरकारहरुका बीच नराम्रो सम्बन्ध भए पनि नेपालका मानिस भारत जाने र भारतका मानिस नेपाल आउने भइरहन्छ । भारतसँगको जनस्तरको पनि सम्बन्ध छ । भारतसँग सरकारी तहमा नराम्रो सम्बन्ध भएको बेलामा चीनसँग वैकल्पिक सम्बन्ध बनाउन सकिन्छ कि भन्ने कोसिस हुन्छ । तर भौगोलिक कठिनाइ छ । हिमालय पर्वत नाघेर जानुुपर्छ । भारतसँगको सांस्कृतिक, धार्मिक सम्बन्ध भएजस्तो चीनसँग बन्न सकिरहेको छैन ।

यतिखेर चीनका सर्वशक्तिमान राष्ट्रपति पार्टीको पनि सर्वशक्तिशाली महासचिव हुन् । चीनमा त्यस पार्टीको अध्यक्ष हुने व्यवस्था छैन । अहिले पनि माओ त्सेतुङ्लाई अध्यक्ष मानेर अरूलाई अध्यक्ष बनाउँदैनन् । चीनमा सरकारका पदाधिकारीभन्दा पार्टीका पदाधिकारी सर्वशक्तिमान हुने अवस्था पनि थियो । यो स्थितिमा अबको नेपालको सम्बन्ध कस्तो हुन्छ ? यो भ्रमणमा धेरै नाका खोल्ने र सम्झौता पनि हुन्छन् भनिएको छ । अब नेपाल–चीनको सम्बन्ध थप सहज हुन्छ कि भन्ने पनि देखिँदैछ । तर पनि यतिखेर सबैको मनमा सम्बन्ध कस्तो रहला भन्ने प्रश्न भने रहेको छ ।

रामचन्द्र घिमिरे
काँग्रेसका सदस्य, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी जिङ पिङ भ्र्रमणको यतिखेर सबै किसिमले नेपाल तरङ्गित भएको छ । यो नेपालका लागि गौरवको विषय हो । हामी विपक्षी दलले पनि स्वागत गर्नुपर्छ । नेपाल सरकारले सर्वदलीय बैठक बोलायो । काँग्र्रेसका सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्रीहरु उक्त बैठकमा उपस्थित हुनुभयो । काँग्रेसले बैठकमा सरकारसँग सोधेको विषय सुपुर्दगी सन्धि केही हुँदैछ कि भन्ने हो ? सुपुर्दगीको विषय आउने बित्तिकै चीनका तिब्बती शरणार्थीको विषय चासोमा रहन्छ । नेपालमा लामो समयदेखि तिब्बती शरणार्थीलाई मानवोचित सुविधा उपलब्ध गराइँदै आएको छ । यो विषयमा नेपालले हस्ताक्षर पनि गरेको छ । यो विषयमा नेपाल सरकार छलफल गर्ने मनस्थितिमा देखिन्छ । 

यतिखेर राष्ट्रपतिको भ्रमणमा नेपाल संवेदनशील हुनुपर्ने विषय पनि शरणार्थीकै विषय हो । नेपाल लोकतान्त्रिक मुलुक भएको हुँदा शरणार्र्थीप्रति मानवीय अवस्थाप्रति सचेत हुनैपर्छ । चीन तिब्बतप्रति सशङ्कित रहेको देखिन्छ । नेपालले एक चीनको आफ्नो नीति रहेको भन्दै आएको छ । चीनले पनि नेपाललाई समान हैसियतको राष्ट्र मानेको देखिन्छ । यतिखेर राष्ट्रपति सीको आफ्नो भनाइमा पनि यो कुराप्रति गौरवान्वित रहेको कुरा व्यक्त गरिएको छ । नेपाली काँग्रेसले उठाउनुपर्ने थप केही विषय छन् । हाम्रोे विकासको मोडेल सांस्कृतिक, सामाजिक काम र चीनको सहयोग काँग्रेस कस्तो चाहन्छ ? यतिखेर चर्चामा आएको विषय यातायात, हाइड्रो र आयुर्वेदिक उत्पादन मुख्य रूपमा आएका छन् । यी विषयमा प्रत्यक्ष नेपालको सहभागितामा हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरेको नेपाल र जनगणतन्त्र कम्युनिस्ट शासनको अभ्यास गरेको चीन हुँदा कतिपय कुरामा सैद्धान्तिक, आर्थिक रूपले पनि नेपालले चीनसँग स्पष्ट रूपमा कुरा राख्न सक्नुपर्छ । सरकार यतिखेर जनतालाई सुसुचित गर्ने काममा चुकेको छ । उसको प्राथमिकता केकेमा हो, सबै जनताले थाहा पाउने किसिमबाट आउनुुपथ्र्यो । नेपालमा पनि लोकतान्त्रिक संविधान हुँदा हुँदै पनि कम्युनिस्ट पार्टीको सरकार भएको हुँदा जनतामा अविश्वास व्यापक छ । 

यतिखेर चीनका राष्ट्रपति सी भारतको भ्रमणबाट नेपाल आउँदै हुनुहुन्छ । दुई विशाल देशको बीचमा नेपाल छ । भारत र चीन बसेर नेपालको भूभाग लिम्पुधुराको बारेमा निर्णय गरेका छन् । त्यसमा नेपालले आफ्नो भूभाग भनिरहेको छ । यो विषय चीनका राष्ट्रपतिसँग नेपाल सरकारले कुरा उठाउँछ कि उठाउँदैन जनता हेरि पनि रहेका छन् । चीनका राष्ट्रपति सोझै नेपाल आइरहनु भएको छैन । त्यसैले यसको कूटनीतिक अर्थ पनि छ । नेपाली काँग्रेस, नेपाल सरकारले चीनसँग स्पष्ट रूपमा हामी कस्तो सम्बन्ध चाहन्छौँ ? शरणार्थीका विषयमा पनि प्रस्ट पार्न सक्नुपर्छ । विकास, निर्माणमा पनि आफ्ना कुरा राखेर भोलिका दिनमा पनि दुई देशका बीचमा राम्रो सम्बन्ध विकसित गर्न चाहन्छौँ भन्न सक्नुपर्छ ।

रजनी थापा
उपमेयर उम्मेदवार, टोखा नगरिपालिका, नेपाली काँग्रेस 

नेपाललाई दुई ढुङ्गा बीचको तरुल भन्ने कुरा पढ्दै आइरहेका छौँ । यसको भावार्थ हामी सबैले बुझ्न जरुरी छ । हामीले राजनीतिक फाइदा लिन जान्यौँ भने मात्र सम्पूर्ण राष्ट्रलाई फाइदा पुग्छ । हाम्रो राष्ट्र भूपरिवेष्टित भएका कारणले समुद्रसम्म हाम्रो पहुँच छैन । त्यसैगरी विकासको पूर्वाधार पनि हामीसँग पूर्ण छैन । हाम्रो छिमेकी राष्ट्र मित्रताको सम्बन्ध लिएर आइरहेको हामी सबैका लागि हौसलाको कार्य हो । यस समयमा गर्नुपर्ने काम हिजोका दिनमा गरिएका सन्धिहरु कति पूरा भए ? कति भएका छैनन् ? कुन अवस्थामा छन् ? यी सबै कुरालाई लिएर राम्रो कुरा अगाडि बढाउनु पर्यो । हामी सबैको ध्येय देशको विकास गर्ने हो । भारत चीन दुवै विकसित राष्ट्र हुन् । यिनका बीचमा हामी छौँ । हामी सुरक्षित पनि यी दुबैको द्वन्द्वको बीचमा छौँ । उनीहरुका बीचमा युद्ध नै भयो भने पनि हामीलाई नछुने टाइम स्पेस कन्ट्रीका रूपमा उनीहरु दुवैले लिँदा रहेछन् । नेपाल वारका लागि पनि प्रिपियर भएको देश रहेछ । अहिलेको सरकारले जनतालाई र देशलाई धेरै फाइदा हुने कुरा मात्र गर्नुपर्यो । सन् १९५५ मा नेपालले चीनसँग ट्रिट्री गर्दा ट्रेड एन्ड इकोनोमीमा गरेका थियौँ । अहिले विश्वमा चीनको सामान धेरै प्रयोग हुन्छ । हामीले छिमेकी भएको नाताले यसमा फाइदा लिन सक्नुपर्छ ।

गङ्गा सुनार, 
काँग्रेस महाधिवेशन प्रतिनिधि 

छिमेकी राष्ट्र चीनका महामहिम नेपाल आउनु स्वागतयोग्य कुरा हो । देशमा यतिखेर छुट्टै माहोल पनि बनेको छ । यतिखेर चीन र नेपालबीच कस्तो सम्झौता हुन्छ भन्ने सबै जनमानसमा प्रश्न छ । भारतका प्रधानमन्त्रीलार्ई आउँदा भव्य रूपमा स्वागत गरियो । मोदीकै समयमा नेपालले भारतको नाकाबन्दी लामो समय बेहोर्नु पनि पर्यो । हामी चीनका राष्ट्रपतिलाई पनि भव्यरूपमा स्वागत र सम्मान गरौँ । त्यसैगरी नेपाललाई उचो राख्ने गरी मात्र सम्झौता गरौँ । यतिखेर नेपालमा पनि कम्युनिस्ट सरकार भएको हुँदा लोकतन्त्रका लागि पनि यो भ्रमण चुनौती हुने हो कि भन्ने शङ्का व्यापक देखिन्छ ।

कार्यक्रममा सहभागीहरु नेपाल लोन ल्यान्ड बन्नुभएन । रेल बाटो बन्यो भने हामीले सामान ल्याएर मात्र भएन । हामीले निकासा गर्ने के हो ? भारतबाट सामान ल्याएर खाने मात्र काम भएको छ । नेपालमा उत्पादन बढाउने के काम हुन सक्छ ? नेपालमा धेरै कुरा छ । हामीले गर्न सकेका छैनौँ । हामीले नगर्नाले गरिब भएका हौँ । यतिखेर वार्ताको टेबलमा बस्नेहरुले यो सोच्न जरुरी छ । यतिखेर सरकारको काम हेर्दा यस्तो चाडवाडको बीचमा पनि गर्न सक्दो रहेछ । त्यसपछि किन गर्दैनन् । यो जिज्ञासा यतिखेरको काठमाडौँका बाटो निर्माण लगायतको कामले जनताको मनमा प्रश्न उब्जेको छ ।

कार्यक्रममा पशुपति क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्य, सुनिता तामाङ, किरण श्रेष्ठ, रिजेश श्रेष्ठ, विजेन्द्र पुडासैनी, विवेक थापा, सागर रोक्का, अस्मिता बोहरा, श्याममणि आचार्य, सन्दीप थापा, टोपेन्द्र रानामगर लगायतको उपस्थिति थियो ।

(२०७६ असोज २५ गते शनिबार नरहरि आचार्यको निवासमा भएको छलफलमा आधारित ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप