आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अल्जेरियाको राष्ट्रपतिमा ५ जना उम्मेदवार

आइतबार, १७ कात्तिक २०७६, १३ : २४
आइतबार, १७ कात्तिक २०७६

अल्जियर्स– अल्जेरियाको राष्ट्रपति पदका लागि दुईजना पूर्व प्रधानमन्त्रीसहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा गरेपछि राष्ट्रपति पद रिक्त छ । 

अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जनामात्र योग्य रहेको जानकारी दिए । संविधान अनुसार निर्वाचन आयोगले टुङ्ग्याएको नामलाई अन्तिम स्वीकृतिका लागि संवैधानिक परिषद समक्ष प्रस्तुत गरिनेछ । 

चुनावी सर्वेक्षणहरुका अनुसार पूर्व प्रधानमन्त्रीहरु अलि बेनफ्लिस र अब्देलमाजिद टेब्बोन भने अग्रपंक्तिमा रहेका छन् । करिब २० वर्ष शासन गरेका पूर्व राष्ट्रपति बौतेफ्लिका विरुद्ध अल्जेरियाली जनताले तिब्र विरोध गरेपछि सेनाको दबाबमा गत अप्रिलमा राजिनामा दिएका थिए ।

राष्ट्रपति पदका लागि अन्य उम्मेदवारहरुमा बौतेफ्लिकाको सत्तारुढ गठबन्धनको डेमोक्रेटिक नेसनल र्याली पार्टीका नेता अजेडाइन मिलहौबी, पूर्व पर्यटनमन्त्री अब्देलकादेर बेनग्रिना र फ्रन्ट एल–मुस्तकाबेल पार्टीका अध्यक्ष अब्देलाजिज बेलाइद रहेका छन् । 

अधिकारकर्मीहरुले भने निर्वाचनसँग सम्बन्धित कानुनमा व्यापक सुधार गर्नुपर्ने माग गरिरहेका छन् । अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसालाह सत्तामा रहेका छन् । आमजनताले अन्तरिम राष्ट्रपतिले जानाजान राष्ट्रपतिको निर्वाचन गर्न ढिलाई गरेको आरोप लगाउँदै फेरि प्रदर्शन गरिरहेका छन् ।

सरकारले आगामी डिसेम्बर १२ मा निर्वाचन गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । निर्वाचन कानुनमा सुधार नहुने अवस्थामा गरिएको चुनावले पनि अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै विरोध जारी छ । –एएफपी/Photo: vaaju.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप