शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'हाम्रो लक्ष्य पर्यटकको सङ्ख्यात्मक वृद्धि मात्र होइन, गुणात्मक वृद्धि हो'

पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीसँगको अन्तरवार्ता
बुधबार, ११ मङ्सिर २०७६, १० : १०
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । ‘भिजिट नेपाल २०२०’ नजिकिएको छ । अबको केही दिनभित्रै महत्त्वकाङ्क्षी पर्यटन वर्ष २०२० ले प्रवेश पाउँदै छ । भ्रमण वर्षलाई नै लिएर सरकारले अधिकतम २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । पर्यटन वर्षकै लागि नेपाल सरकार पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र भिजिट नेपाल २०२० कै लागि भनेर गठन गरिएको सचिवालयले समेत यो लक्ष्य पूरा गरिछाड्ने जोडबल गर्दै छ । पर्यटन वर्षकै लागि सरकारले ३० करोड रूपैयाँ खर्च गर्दै छ ।

भिजिट नेपाल २०२० कै अवसरमा अधिकतम भन्दा अधिकतम पयटक देशमा भित्र्याउने र देशमा प्रयाप्त रोजगारीको सिर्जना गर्दै विदेशी मुद्रा आर्जन गर्ने सरकारको महत्त्वकाङ्क्षी योजना छ । तर सरकारको यो अपेक्षा कति पूरा हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

सबै क्षेत्रबाट जोडबल गरिएको र महत्त्वकाङ्क्षी लक्ष्य बोकेको ‘भिजिट नेपाल २०२० को तयारी कसरी हुँदै छ त ? यसै विषयमा केन्द्रित हुँदै पर्यटन क्षेत्रमै करिब दुई दशक समय विताइसकेका पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) दीपकराज जोशीसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले लिएको सङ्क्षिप्त संवाद ।

नेपाल सरकार, पर्यटन मन्त्रालयले अघि सारेको भ्रमण वर्ष २०२० को समय नजिकिसकेको छ । विभागको तर्फबाट कस्तो तयारी हुँदै छ ? र योजनाहरू कसरी बन्दै छन् त ?

भ्रमण वर्ष २०२० को तयारी करिब करिब अन्तिम चरणमा पुगिसकेको छ । हामीले योजनाबद्ध रूपमा कार्यक्रमहरू अघि सारेका छौँ । पर्यटन मन्त्रालय, विभाग र भ्रमण वर्ष २०२० समन्वयन सचिवालय बीचको सहकार्यमा देशैभरिबाट पर्यटन गन्तव्य (क्षेत्र)हरूको पहिचान, विकास, विस्तार तथा प्रचार प्रसारका काम भइरहेका छन् ।

देशैभरिबाट एक सय मुख्य पर्यटकीय गन्तव्य छानिएका छन् र अन्य सहायक क्षेत्रसमेत प्राथमिकतामा राखिएका छन् । तिनै क्षेत्रको अहिले प्रचार प्रसारको काम भइरहेको छ । यी क्षेत्रहरू स्थानीय तह र प्रदेश सरकारबाट छानिएका गन्तव्यहरू हुन् ।

मुख्यतः अहिले प्रमुख पर्यटकीय आगमनका क्षेत्रहरूमा प्रचार प्रसार तथा क्याम्पेनिङका काम भइरहेका छन् । जहाँबाट धेरैभन्दा धेरै पर्यटकहरू नेपाल आउँछन् । त्यस्ता बजारमा हामीले भिजिट नेपाल २०२० को प्रिलन्चिङका काम गरिरहेका छौँ । त्यस्ता धेरै देशहरूमा प्रिलन्चिङका काम भइसकेका छन् र केहीमा हुने क्रममै छन् । नेपालभित्रका केही ठाउँहरूमा पनि प्रिलन्चिङका काम भएका छन् । पोखरा र जनकपुरमा प्रिलन्चिङका काम भइसकेका छन् भने अब अन्य केही ठाउँमा पनि हुने क्रममा छन् । भ्रमण वर्षलाई नै लिएर देशभित्र र बाहिर सबैतिर प्रचार प्रसार गर्ने हाम्रो लक्ष्य तथा कार्यक्रम हो । पछिल्लो समय हामी डिजिटल प्रचार प्रसारमा समेत केन्द्रित भएका छौँ । केही समयअघि मात्र हामीले चाइनाको सिटी डट्कमसँग एक वर्षको एमओयू गरेर अघि बढेका छौँ । त्यस्तै इन्डियाको नेटबेस राइड सेरिङ ट्रान्सपोर्टसँग मिलेर काम गर्ने योजना बनाएका छौँ ।

प्राथमिकताका आधारमा कस्ता खालका टुरिजम क्षेत्रहरू भ्रमण वर्षको केन्द्र विन्दुमा परेका छन् । र तिनको कसरी प्रचार प्रसार हुँदै छन् ?

धेरै अघिदेखि नै नेपाललाई एक मात्र पर्वतीय गन्तव्यका रूपमा हेरिँदै र चिनिदै आएको छ । जहाँ सहासिक (एड्भेन्चर) गतिविधि मात्र हुने गरेका छन् । सम्भाव्यताका आधारमा यीबाहेक पनि हामीसँग थुप्रै पर्यटकीय क्षेत्रहरू छन् । जस्तो हेरिटेज, कल्चर, फेस्टिबल, ल्यान्डक्राइब, वाइल्डलाइफ लगायतका थुप्रै क्षेत्रहरू छन् । यी क्षेत्रहरूको प्रवद्र्धनबाट पनि नेपालले पर्यटन क्षेत्रको विकास एवं विस्तार गर्न सक्छ र प्रयाप्त फाइदा लिन सक्छ । तर यी क्षेत्रहरूको कमै प्रचार प्रसार भएका छन् ।

त्यसैले, भ्रमण वर्षलाई लिएर हामीले दुई तीन लाइनमा पर्यटन गन्तव्य वर्गीकरण गर्ने र सोही अनुरूप प्रचार प्रसार गर्ने नीति लिएका छौँ । पहिलो त पर्वतीय एड्भेन्चर टुरिजम भइहाल्यो त्यसपछि अन्य विविध प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रहरू पर्छन् । यसलाई पनि हामीले मौसमअनुसार वर्गीकरण गरेर प्रमोट गर्ने नीति बनाएका छौँ । जसमा समर, मसुन र विन्टर गरेर तीन सिजनका लागि सोही किसिमको टुरिजम प्रवद्र्धनमा लागेका छौँ । विशेष गरी अक्टुबर नोभेम्बर र डिसेम्बर महिनामा बढी पर्यटक लाग्ने भए पनि हामीले अरू मौसमहरूमा पनि कसरी पर्यटक आकर्षण गर्न सकिन्छ भनेर लागिरहेका छौँ । अहिले त्यसको खाका तयार भइसकेको छ । सबैलाई एक्कै किसिमको पर्यटन क्षेत्र मन पर्छ भन्ने होइन कसैलाई एड्भेन्चर मनपर्ला र कसैलाई ट्रेकिङ, कसैलाई वाइल्ड लाइफ, कसैलाई ¥याफ्टिङ सोही अनुरूप हामीले कार्यक्रमहरू तय गरेका छौँ । यिनै क्षेत्रको सुधार व्यवस्थापन र प्रचार प्रसारमा हामी लागेका छौँ ।

सन् २०१७ मै भ्रमण वर्ष २०२० लाई मनाउने निर्णय भएको थियो । तर तयारी भने सन् २०१९ को करिब करिब अन्त्य अन्त्यमा मात्र आएर भएको देखिन्छ । जब प-यो राति तब बुढी ताती जस्तो भएन र ?

भ्रमण वर्षको निर्णय २०१७ मा भए पनि तयारी भने सन् २०१८ देखि नै भएको हो । तयारीको गतिलाई हेर्दा अहिले भ्रमण वर्षको पूर्वसन्ध्यामा मात्र आएर तयारी भएको हो कि जस्तो देखिएको हो । तर त्यसो होइन । हामीले गत वर्षदेखि नै काम अघि बढाइरहेका थियौँ । पर्यटन क्षेत्रको पहिचान, विकास सुधार तथा प्रवद्र्धनका काम भइरहेका थिए । केही हदसम्म स्थानीय निकायदेखि प्रादेशिक हुँदै सङ्घीय सरकारसम्मको संरचनागत रूपमा काम गर्दा ढिलाइ हुन गएको हो । तर काम भने भइ नै रहेको थियो । फेरि भ्रमण वर्ष २०२० लाई मानिए पनि यही वर्ष मात्र हाम्रो लक्ष्य होइन । २०२० पछिको अबको बाटो पर्यटन क्षेत्रको विकास विस्तार तथा प्रवद्र्धन गर्दै रोजगारीको सिर्जना गर्ने र यसैको माध्यमबाट देशको आर्थिक रूपान्तरण गर्नु हो । २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा सन् २०३० सम्ममा करिब ३५ लाख पर्यटन नेपाल भित्र्याउने हाम्रो लक्ष्य हो ।

के भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिएला त ? के छन् योजनाहरू ?

अहिले सरदर वार्षिक १२–१३ लाख पर्यटक नेपाल आइरहेका छन् । पर्यटन क्षेत्रमा त्यस्तो केही खास कार्यक्रम नचलाउँदा त यति पर्यटक आइरहेका छन् भने विशेष कार्यक्रमसहित अभियान नै चलाउँदा नपुग्ने भन्ने हुँदैन । अहिले हामीले पर्यटन क्षेत्रलाई विशेष रूपमा प्रमोट गर्दै छौँ । देश विदेशमा प्रचार प्रसार भइरहेको छ । विदेशस्थित हाम्रा दूतावासहरूमा भ्रमण वर्षका कार्यक्रम तथा प्रिलन्चिकका कार्यक्रमहरू गरिरहेका छौँ । यसले पर्यटक आकर्षित हुने हाम्रो अपेक्षा हो ।

पर्यटकको मुख्य बजार भारत, चाइना, जापान लगायत अमेरिका तथा युरोपेली मुलुकमा समेत प्रचार प्रसारका काम भइरहेका छन् । भ्रमण वर्षकै अवसरमा जनवरी १ मा भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा ४० देशका प्रतिनिधिहरू नेपाल आउँदै छन् । हामीले विदेशी विशिष्ट पाहुना तथा राजदूतहरूलाई आमन्त्रण गरिसकेका छौँ । र सोही दिन विदेशस्थित हाम्रा जति पनि दूतावास छन् ती निकायहरूमा समेत विदेशी विशिष्ट व्यक्तित्वहरूलाई राखेर भ्रमण वर्ष २०२० का कार्यक्रमहरू गर्न भनेका छौँ । यसले भ्रमण वर्ष २०२० सफल हुने हाम्रो विश्वास छ । त्यस्तो कुनै वातावरणीय तथा प्राकृतिक समस्या नआए २० लाख पर्यटक पुग्नेमा हामी ढुक्क छौँ ।

भ्रमण वर्षको लक्ष्य सङ्ख्यात्मक वृद्धि मात्र हो कि गुणात्मकता पनि हो ? यसबारे बोर्डले के सोचेको छ ?

पक्कै पनि हाम्रो लक्ष्य पर्यटकको सङ्ख्यात्मक वृद्धि मात्र होइन, हामीले खोजेको त गुणात्मक वृद्धि हो । यदि पर्यटकको सङ्ख्या मात्र वृद्धि हुने तर देशलाई रेभेन्यु नहुने, यहाँका जनताले रोजगारी नपाउने र नेपालका प्रचार प्रसार नहुने हो भने के काम ? यसैले यो विषयमा हामी संवेदनशील छौँ । कसरी क्वालिटीके पर्यटक भित्र्याउन सकिन्छ, अहिले हाम्रो ध्यान त्यतातिर केन्द्रित छ । युरोप, अमेरिका, जापान लगायतका पर्यटक धेरैभन्दा धेरै भित्र्याउन सकिए अधिकतम लाभ लिन सकिने हाम्रो बुझाइ हो । अहिले ती क्षेत्रमा पनि प्रचार प्रसारको कामलाई तीव्रता दिइएको छ ।

अर्को कुरा हामीले पर्यटकको भ्रमण समयावधिलाई कसरी लम्ब्याउन सकिन्छ र बढीभन्दा बढी खर्च गराउन सकिन्छ भन्ने हो । तर यो बढो गाह्रो विषय हो । अहिले मान्छेहरूसँग प्रयाप्त पैसा छ तर समय छैन । बरु टाइम टाइममा घुम्न निक्लिने तर छोटो समयका लागि निक्लनेहरू हुन्छन् । यस्तोमा हामीले अधिकतम १२ दिनलाई बढाएर १४ दिनसम्म पु¥याउन सकिन्छ कि भन्ने योजना अघि बढाएका छौँ । त्यसका लागि सम्भावित पर्यटकीय क्षेत्रहरूको समेत प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । खर्च गराउने सवालमा अहिले एक पर्यटकले दैनिक ४० डलरको खर्च गर्ने गरेका छन् । यसलाई बढाएर ५०–६० र त्योभन्दा पनि अझ माथि लैजान सकिन्छ कि भन्ने हो । यो व्यावहारमा त्यति सहज विषय भने होइन ।

भ्रमण वर्षलाई लिएर पर्यटकहरूको सुरक्षा र संवेदनशीलतालाई कसरी मूल्याङ्कन गर्नुभएको छ । यसको व्यवस्थापन कसरी हुँदै छ ?

हाम्रो गम्भीर चुनौतीको विषय यही हो । तर पहिले जस्तो अस्तव्यस्त र लापरबाही छैन । हामीले पर्यटकको आगमन केन्द्र त्रिभुवन विमानस्थल, अध्यागमन विभागदेखि पर्यटन गन्तव्यसम्मको पर्यटकको सुरक्षा ग्यारेन्टीको प्रत्याभूति गराएका छौँ । हाम्रोमा आउने पाहुँना पर्यटकले त्यस्तो कुनै खालका समस्या भोग्नु पर्दैन । विशेषतः हाम्रो प्रमुख चुनौतीको विषय भनेको चक्रपथ (रिङरोड)को यातायातको हो । त्यसमा पनि हामीले संवेदनशीलतालाई हेरी सावधानी अपनाएका छौँ । पाहुनाको स्वागत, सत्कार र नम्र व्यवहारका लागि ट्राफिक प्रहरी सहकार्यमा ३ हजार ट्याक्सी चालकहरूलाई तालिम प्रदान गर्दैछौँ । त्यसमा पनि भाडामा के कसरी सहुलियता प्रदान गर्न सकिन्छ, त्यसमा पनि गृहकार्य भइरहेको छ ।

यता अर्को चुनौतीको विषय हवाई फ्लाइटमा छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले सबै चाप थेग्न सक्ने अवस्थामा छैन । त्यसैले छिटोभन्दा छिटो गौतबुद्ध विमानस्थल तयार गर्ने गरी काम अघि बढिरहेको छ । यता त्रिभुवन विमानस्थलको समेत धावनमार्ग सुधारको काम भइरहेको छ । यो ढिलोमा डिसेम्बरसम्ममा तयार हुँदै छ । त्यसपछि २४सै घण्टा एयरपोर्ट सञ्चालनमा आउने छ र यसले पर्यटन आगमनमा केही सहजता मिल्ने छ ।

पर्यटकको लजिङ फुडिङमा समस्या छैन । अहिले नेपालमा भएका होटल लज तथा होमस्टेहरू नै प्रयाप्त छन् । साना ठूला र तारे होटलहरू गरी २५ लाख पर्यटक धान्ने अवस्था छ । त्यसैले यसमा चिन्ता गर्नुपर्ने अवस्था छैन । पर्यटकको स्वागत, सत्कार तथा सेवामा हामीले २० लाख जनशक्तिलाई तालिम दिँदै छौँ । यसले पर्यटन क्षेत्र पर्यटकमैत्री हुने हाम्रो विश्वास छ ।

भ्रमण वर्षलाई लिएर कति खर्च हुँदै छ नि ?

भ्रमण वर्षलाई नै लिएर करिब ३० करोड बजेट छुट्याइएको छ । गत वर्षको १० करोडसहित अहिले अर्थमन्त्रालयले १० करोड र पर्यटन बोर्डले १० करोड गरी कुल ३० करोड रुपियाँ भिजिट नेपाल २०२० सचिवालयलाई दिइएको छ । यही बजेटमा अहिले पर्यटन वर्षको प्रचारप्रसार तथा प्रमोटका कामहरू अघि बढिरहेका छन् ।

अन्त्यमा, भ्रमण वर्षको सुरुवात कहाँबाट कसरी गर्ने योजना छ ?

भ्रमण वर्ष २०२० को सुरुवात जनवरी एकमा भव्य रूपमा काठमाडौँबाट गरिने छ । विभिन्न निकाय, सम्प्रदाय, विभाग विशिष्ट पाहुनाहरूका बीच टँुडिखेलबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रमका निम्ति ४० देशका पर्यटन तथा पराष्ट्र मन्त्री लगायतका विशिष्ट पाहुनाहरू नेपाल आउँदै छन् । त्यसमा विशिष्ट कलाकार, वायुसेवा सञ्चालक लगायतका प्रतिनिधिहरू पनि रहने छन् । केन्द्रमा काठमाडौँ र प्रदेश स्तरीय सातै प्रदेशमा भव्य रूपमा विविध कार्यक्रम गरी भिजिट नेपाल २०२० को उद्घाटन हुने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप